पूजाहारीको सेवाको शुरुआत
9
अनि आठौं दिनमा यस्तो भयो: मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढ़ा प्रधानहरूलाई बोलाए। 2 अनि उनले हारूनलाई भने: “तिमीले आफ्ना निम्ति पापबलिका लागि एउटा जवान बाछा र होमबलिका लागि एउटा भेड़ा ल्याऊ; ती निष्खोट होऊन्; र तिनलाई परमप्रभुको सामु चढ़ाऊ! 3 अनि इस्राएलीहरूलाई तिमीले यसो भन: तिमीहरूले पापबलिका निम्ति एउटा बाख्राको पाठो, साथै होमबलिका निम्ति एउटा बाछा र एउटा भेड़ाको पाठो लेओ; ती एक वर्षका, निष्खोट होऊन्! 4 अनि परमप्रभुको सामु बलि चढ़ाउनलाई मेलबलिका निम्ति एउटा बहर र एउटा भेड़ा, साथै तेल मिसिएको अन्नबलि लेओ; किनकि आज परमप्रभु तिमीहरूकहाँ देखा पर्नुहुनेछ।” 5 अनि मोशाले जे आज्ञा गरेका थिए, सोही कुराहरू तिनीहरूले भेट हुने पालको सामुन्ने ल्याए; अनि सारा समुदाय नजिक आयो, र परमप्रभुको सामु खड़ा भयो। 6 अनि मोशाले भने: “परमप्रभुले ‘तिमीहरूले गर्नू’ भनी आज्ञा गर्नुभएको कुरा यही हो; अनि परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”7 अनि मोशाले हारूनलाई भने: “वेदीनिर जाऊ, अनि आफ्नो पापबलि र आफ्नो होमबलि चढ़ाऊ र आफ्ना निम्ति र मानिसहरूका निम्ति प्रायश्चित गर; त्यसपछि मानिसहरूको भेटी चढ़ाऊ, र तिनीहरूका निम्ति प्रायश्चित गर, जस्तो परमप्रभुले आज्ञा गर्नुभएको छ!” 8 तब हारून वेदीनिर गए, र पापबलिको त्यस बाछालाई मारे, जुन बाछा तिनकै निम्ति थियो। 9 अनि हारूनका छोराहरूले त्यो रगत तिनीकहाँ ल्याए; अनि तिनले आफ्नो औंला रगतमा चोपे, त्यसलाई वेदीका सिङहरूमा लगाए, र रगतचाहिँ वेदीको फेदमा खन्याए। 10 तर पापबलिको बोसो, मिर्गौलाहरू र कलेजोमाथि भएको जालो तिनले वेदीमाथि जलाए, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 11 अनि मासु र छाला तिनले छाउनीबाहिर आगोमा जलाए। 12 त्यसपछि तिनले होमबलिलाई मारे; अनि हारूनका छोराहरूले त्यो रगत तिनीकहाँ ल्याए, जसलाई तिनले वेदीमाथि चारैतिर छर्के। 13 अनि उनीहरूले होमबलि, त्यसका टुक्राहरू र टाउको तिनीकहाँ ल्याए; अनि तिनले तिनीहरूलाई वेदीमाथि जलाए। 14 अनि तिनले आन्द्राहरू र खुट्टाहरू धोए, र तिनलाई होमबलिमाथि राखेर वेदीमाथि जलाए। 15 तब तिनले मानिसहरूको भेटी ल्याए, र पापबलिको त्यो बोको लिए, जुन बोको मानिसहरूका निम्ति थियो, र त्यसलाई मारे, अनि त्यसलाई पहिलोलाई झैं पापका निम्तिक चढ़ाए। 16 अनि तिनले त्यो होमबलि ल्याए, र त्यसलाई त्यही रीतिअनुसार चढ़ाए। 17 अनि तिनले अन्नबलि ल्याए, र यसबाट आफ्नो मुठीभरि निकालेर, बिहानको होमबलिबाहेक, त्यसलाई वेदीमाथि जलाए। 18 त्यसपछि तिनले मेलबलिको रूपमा त्यस बहरलाई र त्यस भेड़ालाई मारे, जुन मानिसहरूका निम्ति थियो; अनि हारूनका छोराहरूले त्यो रगत तिनीकहाँ ल्याए, जसलाई तिनले वेदीमाथि चारैतिर छर्के। 19 अनि त्यस बहर र भेड़ाको बोसो,ख अर्थात् बोसे-पुच्छर र आन्द्रा ढाक्ने बोसो, साथै मिर्गौलाहरू र कलेजोमाथिको जालो; 20 अनि तिनीहरूले बोसोख ती छातीहरूमाथि राखे, र तिनले त्यो बोसोख वेदीमाथि जलाए; 21 अनि छातीहरू र दाहिने फिला हारूनले परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाए, जस्तो मोशाले आज्ञा गरेका थिए।
22 अनि हारूनले मानिसहरूतिर आफ्ना हातहरू उठाए, र तिनीहरूलाई आशीर्वाद दिए; अनि पापबलि, होमबलि र मेलबलि चढ़ाएर तिनी तल ओर्ले। 23 अनि मोशा र हारून भेट हुने पालभित्र पसे; अनि बाहिर निस्केर उनीहरूले मानिसहरूलाई आशीर्वाद दिए; अनि परमप्रभुको महिमा सबै मानिसहरूकहाँ देखा पर्यो। 24 अनि परमप्रभुको सामुबाट आगो निस्क्यो, अनि वेदीमाथि भएका होमबलि र बोसो भस्म पारिदियो; सबै मानिसहरू यो देखेर हर्षले चिच्च्याए र भुइँसम्म घोप्टो परे।