हारून र तिनका छोराहरूको अभिषेक
8
अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “तिमीले हारून, उसको साथमा उसका छोराहरू, साथै वस्त्रहरू, अभिषेक गर्ने तेल, पापबलिका निम्ति बहर, दुईवटा भेड़ा र एक डालो अखमिरे रोटीहरू लेऊ; 3 र सम्पूर्ण समुदायलाई भेट हुने पालको ढोकामा भेला पार!” 4 अनि मोशाले परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैं गरे; अनि समुदाय भेट हुने पालको ढोकामा भेला भयो। 5 अनि मोशाले समुदायलाई भने: “परमप्रभुले ‘गर्नू’ भनी आज्ञा गर्नुभएको कुरा यही हो।” 6 अनि मोशाले हारून र तिनका छोराहरूलाई ल्याए, र उनीहरूलाई पानीले नुहाइदिए। 7 अनि उनले तिनलाई लबेदा लगाइदिए, तिनलाई कमरपेटी बाँधिदिए, तिनलाई अलखा पहिराइदिए, र तिनीमाथि एपोद लगाइदिए अनि तिनलाई एपोदको बुट्टेदार कमरपेटी बाँधेर त्यसैले एपोद तिनमा कसिदिए। 8 अनि उनले तिनीमाथि छाती-पाता लगाइदिए; अनि छाती-पातामा उनले ऊरीम र तुम्मीम राखिदिए। 9 अनि उनले तिनको शिरमा पगरी लगाइदिए; अनि त्यस पगरीमाथि, त्यसको अघिल्तिर उनले सुनको पाता, त्‍यो पवित्र मुकुट लगाइदिए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 10 अनि मोशाले अभिषेक गर्ने तेल लिए, निवासस्थान र त्यसभित्र भएका सबै थोकहरूलाई अभिषेक गरे र तिनीहरूलाई पवित्र तुल्याए। 11 अनि उनले त्यसबाट केही वेदीमाथि सात पल्ट छर्के, अनि वेदी र त्यसका सबै सामानहरू, साथै बाटा र त्यसको खुट्टा, तिनीहरूलाई पवित्र तुल्याउन अभिषेक गरे। 12 अनि उनले अभिषेक गर्ने तेलबाट केही हारूनको शिरमाथि खन्याए, र तिनलाई पवित्र तुल्याउन तिनलाई अभिषेक गरे। 13 त्यसपछि मोशाले हारूनका छोराहरूलाई ल्याए, र उनीहरूलाई लबेदाहरू पहिराइदिए, अनि उनीहरूलाई कमरपेटीहरू बाँधिदिए र उनीहरूलाई टोपीहरू लगाइदिए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
14 तब उनले त्यस पापबलिको बहर ल्याए; अनि हारून र तिनका छोराहरूले पापबलिको त्यस बहरको टाउकोमाथि आफ्ना हातहरू राखे। 15 अनि उनले त्यसलाई मारे; अनि मोशाले त्यो रगत लिएर त्यसलाई आफ्ना औंलाले चारैतिर वेदीका सिङहरूमा लगाएर वेदीलाई शुद्ध पारे, र रगतचाहिँ वेदीको फेदमा खन्याए, अनि वेदीमाथि प्रायश्‍चित गर्नका निम्ति त्यसलाई पवित्र तुल्याए। 16 अनि उनले आन्द्रामाथि भएको सबै बोसो र कलेजोमाथि भएको जालो, साथै दुईवटा मिर्गौला र तिनको बोसो लिए; अनि मोशाले तिनलाई वेदीमाथि जलाए। 17 तर त्यो बहर, त्यसको छाला, त्यसको मासु र त्यसको गोबर उनले छाउनीबाहिर आगोले जलाए; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
18 त्यसपछि उनले होमबलिको भेड़ा ल्याए; अनि हारून र तिनका छोराहरूले त्यस भेड़ाको टाउकोमाथि आफ्ना हातहरू राखे। 19 अनि उनले त्यसलाई मारे; अनि मोशाले त्यो रगत वेदीमाथि चारैतिर छर्के। 20 अनि उनले भेड़ालाई टुक्रा-टुक्रा पारी काटे; अनि मोशाले टाउको, टुक्राहरू र बोसो जलाए। 21 अनि उनले आन्द्राहरू र खुट्टाहरू पानीले धोए; अनि मोशाले सम्पूर्ण भेड़ा वेदीमाथि जलाए; योचाहिँ परमप्रभुका निम्ति होमबलि अर्थात् मीठो बास्‍ना हुनलाई आगोले चढ़ाइएको बलि हो; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
22 त्यसपछि उनले अर्को भेड़ा अर्थात् समर्पणको भेड़ा ल्याए; अनि हारून र तिनका छोराहरूले त्यस भेड़ाको टाउकोमाथि आफ्ना हातहरू राखे। 23 अनि उनले त्यसलाई मारे; अनि मोशाले त्यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको टुप्पामा, तिनको दाहिने हातको बूढ़ी औंलामा र तिनको दाहिने खुट्टाको बूढ़ो औंलामा लगाइदिए। 24 अनि हारूनका छोराहरूलाई ल्याएर मोशाले त्यस रगतबाट केही उनीहरूको दाहिने कानको टुप्पामा, उनीहरूका दाहिने हातका बूढ़ी औंलाहरूमा र उनीहरूका दाहिने खुट्टाका बूढ़ा औंलाहरूमा लगाइदिए; अनि मोशाले त्यो रगत वेदीमाथि चारैतिर छर्के। 25 अनि उनले बोसो, अनि बोसे-पुच्छर र आन्द्रामाथि भएको सबै बोसो, साथै कलेजोमाथिको जालो, दुईवटा मिर्गौला र तिनको बोसो अनि दाहिने फिला लिए। 26 अनि परमप्रभुको सामु राखिएको अखमिरे रोटीहरूको डालोबाट उनले एउटा अखमिरे फुरौलो, एउटा तेल घसिएको रोटीको फुरौलो र एउटा बाबर निकाले, र तिनलाई त्यस बोसो र दाहिने फिलामाथि राखे; 27 अनि ती सबैलाई उनले हारूनका हातहरूमा र तिनका छोराहरूका हातहरूमा राखे अनि तिनलाई परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाए। 28 अनि मोशाले ती कुराहरू उनीहरूका हातहरूबाट लिए र तिनलाई होमबलिमाथि राखेर वेदीमाथि जलाए; ती मीठो बास्‍ना हुनका निम्ति समर्पणका बलिहरू थिए; त्यो परमप्रभुलाई आगोले चढ़ाइएको बलि हो। 29 अनि मोशाले छाती लिए, र त्यसलाई परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाए; किनकि समर्पणको भेड़ाबाट योचाहिँ मोशाको भाग थियो; जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। 30 अनि मोशाले अभिषेक गर्ने तेलबाट र वेदीमाथि भएको रगतबाट केही लिएर हारूनमाथि र तिनका वस्त्रहरू, तिनको साथमा तिनका छोराहरू र तिनका छोराहरूका वस्त्रहरूमाथि छर्किदिए; अनि उनले हारूनलाई र तिनका वस्त्रहरू, अनि तिनको साथमा तिनका छोराहरूलाई र तिनका छोराहरूका वस्त्रहरू पवित्र तुल्याए।
31 अनि मोशाले हारून र तिनका छोराहरूलाई भने: “भेट हुने पालको ढोकानिर त्यो मासु उसिन, अनि त्यहाँ त्यसलाई समर्पणको डालोमा भएका रोटीहरूसित खाओ; जसरी ‘हारून र उसका छोराहरूले त्यसलाई खाऊन्’ भनी मैले आज्ञा गरेको छु। 32 अनि त्यस मासुबाट र ती रोटीहरूबाट जे बाँकी रहन्छ, त्यसलाई तिमीहरूले आगोमा जलाइदिनू! 33 अनि तिमीहरूका समर्पणका दिनहरू पूरा नहोउन्जेल अर्थात् सात दिनसम्‍म तिमीहरू भेट हुने पालको ढोकाबाट बाहिर नजानू; किनकि सात दिनसम्‍म उहाँले तिमीहरूलाई अर्पण गर्नुहुनेछ। 34 जस्तो उहाँले आज गर्नुभयो, त्यस्तै तिमीहरूका निम्ति प्रायश्‍चित गर्नलाई परमप्रभुले गर्नू भनी आज्ञा गर्नुभएको थियो। 35 यसकारण सात दिनसम्‍म तिमीहरू भेट हुने पालको ढोकानिर दिनरात बसिरहो, र परमप्रभुको आदेश पालन गर! र तिमीहरूले मर्नु नपरोस्; किनकि मलाई यस्तै आज्ञा भएको छ।” 36 अनि हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुराहरू गरे।