दोषबलिको व्यवस्था
7
“अनि दोषबलिको व्यवस्था यो हो; यो परमपवित्र छ। 2 जुन ठाउँमा तिनीहरूले होमबलि मार्दछन्, त्यही ठाउँमा तिनीहरूले दोषबलि मारून्; अनि त्यसको रगत उसले वेदीमाथि चारैतिर छर्कोस्! 3 अनि त्यसले त्यसको सबै बोसो चढ़ाओस्: बोसे पुच्छर र आन्द्रा ढाक्ने बोसो; 4 साथै दुईवटा मिर्गौला र तीमाथि भएको बोसो, जो कम्मरको मास्तिर हुन्‍छ, अनि मिर्गौलाहरूको साथमा कलेजोमाथिको जालो; त्यसले त्यो अलग पारोस्! 5 अनि पूजाहारीले तिनलाई परमप्रभुका निम्ति आगोले चढ़ाइएको बलिको रूपमा वेदीमाथि जलाओस्! त्यो दोषबलि हो। 6 पूजाहारीहरूमध्ये सबै पुरुषहरूले त्यसबाट खाऊन्; पवित्र ठाउँमा त्यो खाइयोस्! त्यो परमपवित्र छ। 7 पापबलि जस्तो हो, दोषबलि पनि त्यस्तै हो; तिनका निम्ति एउटै व्यवस्था छ। जुन पूजाहारीले त्यससित प्रायश्‍चित गर्दछ, त्यो उसैको हुनेछ। 8 अनि जुन पूजाहारीले कुनै मानिसका निम्ति होमबलि चढ़ाउँछ, उसले चढ़ाएको त्यस होमबलिको छाला त्यस पूजाहारीकै हुनेछ। 9 अनि तन्दुरमा पकाएको सबै अन्‍नबलि, साथै ताईमा र तावामा तयार गरेको सबै अन्‍नबलि त्यसलाई चढ़ाउने पूजाहारीकै हुनेछ। 10 अनि तेलसँग मिसिएको र सुक्खा सबै अन्‍नबलि हारूनका सबै छोराहरूले बराबरी हुने गरी पाऊन्!
मेलबलिहरूको व्यवस्था
11 अनि मेलबलिहरूको व्यवस्था यो हो, जुन मेलबलिहरू त्यसले परमप्रभुका निम्ति चढ़ाउनेछ। 12 त्यसले यसलाई धन्यवादका निम्ति चढ़ाउँछ भने त्यसले धन्यवादको बलिको साथमा तेलसँग मिसिएका अखमिरे फुरौलाहरू, तेल घसिएका अखमिरे बाबरहरू र तेलसँग मिसिएका, पोलेका मैदाका फुरौलाहरू चढ़ाओस्! 13 फुरौलाहरूबाहेक त्यसले आफ्ना मेलबलिहरूरूपी धन्यवादको बलिसँग आफ्नो भेटीको रूपमा खमिरे रोटीहरू चढ़ाओस्! 14 अनि यसैबाट अर्थात् हरेक भेटीबाट त्यसले एक-एक रोटी उचाल्ने भेटीको रूपमा परमप्रभुका निम्ति चढ़ाओस्; अनि योचाहिँ ती मेलबलिहरूको रगत छर्कने पूजाहारीको हुनेछ। 15 अनि धन्यवादका निम्ति चढ़ाइएको त्यसको मेलबलिको मासु जुन दिन त्यो चढ़ाइन्छ, त्यही दिन खाइयोस्; त्यसको कुनै पनि कुरा त्यसले बिहानसम्‍म रहन नदेओस्! 16 तर त्यसको भेटीचाहिँ भाकलको वा स्वेच्छादानको बलि हो भने जुन दिन त्यसले आफ्नो बलि चढ़ाउँछ, त्यही दिन त्यो खाइयोस्; अनि त्यसको रहेको भाग भोलिपल्ट पनि खाइयोस्! 17 तर तेस्रो दिनमा चाहिँ त्यस बलिको मासुको रहेको भाग आगोमा जलाइयोस्! 18 अनि कहीं तेस्रो दिनमा त्यसको मेलबलिको मासुबाट केही खाइयो भने त्यो ग्रहण गरिनेछैन, न ता चढ़ाउनेका निम्ति त्यो चढ़ाइएको ठहरिनेछ; त्यो त घृणित वस्तु ठहरिनेछ, र त्यसबाट खाने व्यक्तिले आफ्नो अधर्मको फल भोग्‍नेछ। 19 अनि जुन मासुले कुनै अशुद्ध वस्तुलाई छुन्छ, त्योचाहिँ नखाइयोस्; त्यो आगोमा जलाइयोस्; अनि मासुचाहिँ – जतिजना शुद्ध छन्, तिनीहरूले त्यसबाट खाऊन्! 20 तर आफूमा आफ्नो अशुद्धता हुँदा-हुँदै पनि जुन व्यक्तिले परमप्रभुका निम्ति चढ़ाइएको मेलबलिको मासुबाट खान्छ, त्यो व्यक्ति आफ्ना जनहरूबाट नामेट गरियोस्! 21 साथै जुन व्यक्तिले कुनै अशुद्ध वस्तु, जस्तै मानिसको अशुद्धता, कुनै अशुद्ध पशु वा कुनै अशुद्ध घृणित वस्तु छुन्छ र परमप्रभुका निम्ति चढ़ाइएको मेलबलिको मासुबाट खान्छ, त्यो व्यक्ति पनि आफ्ना जनहरूबाट नामेट गरियोस्!”
रगत र बोसो खानु मनाही छ
22 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 23 “इस्राएलीहरूलाई यसो भन: तिमीहरूले गोरु, भेड़ा वा बाख्राको कुनै बोसो नखानू! 24 अनि आफै-आफ मरेको पशुको बोसो र जङ्गली पशुहरूद्वारा च्यातचुत पारिएको पशुको बोसो अरू काममा लाउन सकिन्छ; तर तिमीहरूले त्यसबाट खाँदै नखानू! 25 किनकि हरेक जसले त्यस पशुको बोसो खान्छ, जसबाट मानिसहरूले परमप्रभुलाई आगोले चढ़ाइएको बलि चढ़ाउँछन्, त्यो बोसो खाने व्यक्ति पनि आफ्ना जनहरूबाट नामेट गरियोस्! 26 अनि आफ्ना सबै वासस्थानभरि तिमीहरूले कुनै रगत नखानू, न पक्षीको न पशुको! 27 कुनै किसिमको रगत खाने व्यक्ति जोसुकै होस्, त्यो व्यक्ति पनि आफ्ना जनहरूबाट नामेट गरियोस्!”
पूजाहारीको भाग
28 अनि परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 29 “इस्राएलीहरूलाई यसो भन: जसले परमप्रभुलाई आफ्ना मेलबलिहरूरूपी बलिदान चढ़ाउँछ, त्यसले आफ्नो मेलबलिबाट आफ्नो भेटी परमप्रभुकहाँ ल्याओस्! 30 त्यसकै हातहरूले परमप्रभुलाई आगोले चढ़ाइने बलिहरू ल्याऊन्, अर्थात् त्यसले छातीको साथमा बोसो ल्याओस्! र त्यो छाती डोलाउने भेटीको रूपमा परमप्रभुको सामु डोलाइयोस्! 31 अनि पूजाहारीले बोसो वेदीमाथि जलाओस्; तर छातीचाहिँ हारून र उसका छोराहरूको हुनेछ। 32 अनि तिमीहरूले दाहिने फिलाचाहिँ तिमीहरूका मेलबलिहरूको उचाल्ने भेटीको रूपमा पूजाहारीलाई दिनू! 33 हारूनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, उसैले आफ्नो भागको रूपमा त्यो दाहिने फिला पाउनेछ। 34 किनकि इस्राएलीहरूको तर्फबाट मैले तिनीहरूका मेलबलिहरूरूपी बलिदानहरूबाट डोलाउने छाती र उचाल्ने फिला लिएको छु, र सदा रहिरहने विधिअनुसार इस्राएलीहरूको तर्फबाट यी थोकहरू पूजाहारी हारून र उसका छोराहरूलाई दिएको छु।” 35 योचाहिँ आगोले चढ़ाइएका परमप्रभुका बलिहरूबाट दिइएको हारूनको अभिषेक र उसका छोराहरूको अभिषेकको भाग हो; यो त्यस दिनमा निर्धारित गरियो, जुन दिनमा मोशाले उनीहरूलाई पूजाहारी-पदमा रहेर परमप्रभुको सेवा गर्नका निम्ति हाजिर गराए; 36 योचाहिँ उनले उनीहरूलाई अभिषेक गरेको दिनमा परमप्रभुले इस्राएलीहरूको तर्फबाट उनीहरूलाई दिइयोस् भनी आज्ञा गर्नुभयो; यो तिनीहरूका पुस्तौंपुस्तामा सदा रहिरहने विधि हो।
37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, समर्पणबलि र मेलबलिको व्यवस्था यही हो, 38 यो व्यवस्था परमप्रभुले मोशालाई सिनाई पर्वतमा त्यस दिनमा आज्ञा गर्नुभयो, जुन दिनमा उहाँले सिनाईको उजाड़स्थानमा इस्राएलीहरूलाई परमप्रभुका निम्ति आफ्ना बलिहरू चढ़ाउनू भनी आज्ञा गर्नुभयो।