पापबलि चढ़ाउनुपर्ने कारणहरू
5
“अनि कसैले पाप गर्यो भने, अँ, त्यसले श्राप गरेको कुरा सुनेर यस कुराको साक्षी भयो भने – चाहे देखेर, चाहे जानेर होस् – त्यसले यो कुरा बताउँदैन भने त्यसले आफ्नो अधर्मको फल भोग्नेछ। 2 अथवा कुनै व्यक्तिले थाहा नपाईकनक कुनै अशुद्ध वस्तु छोयो भने – चाहे त्यो अशुद्ध वनपशुको सिनु, चाहे अशुद्ध घरेलु पशुको सिनु, चाहे अशुद्ध घस्रने जन्तुको सिनु होस् – तैपनि त्यो अशुद्ध हुनेछ र दोषी ठहरिनेछ। 3 अथवा त्यसले थाहा नपाईकन मानिसको अशुद्धता छोयो भने, चाहे त्यसको अशुद्धता जुनै पनि किसिमको किन नहोस्, जसद्वारा मानिसख अशुद्ध हुन्छ; जब त्यसले यो कुरा थाहा पाउँछ, तब त्यो दोषी हुनेछ। 4 अथवा कुनै व्यक्तिले अज्ञानमैक खराब गर्नलाई होस् वा असल गर्नलाई होस् सोचविचारै नगरीकन आफ्ना ओठले शपथ खायो भने – चाहे त्यो जुनसुकै कुरा होस्, जो शपथ खाँदा त्यस मानिसले सोचविचारै नगरी बोल्यो – जब त्यसले यो कुरा थाहा पाउँछ, तब त्यो यी कुराहरूमध्ये कुनै एउटामा दोषी ठहरिनेछ। 5 अनि यस्तो हुनेछ: जब यी कुराहरूमध्ये कुनै एउटामा त्यो दोषी ठहरिनेछ, तब त्यसले ‘मैले यस कुरामा पाप गरें’ भनी स्वीकार गरोस्! 6 अनि त्यसले आफूले गरेको आफ्नो पापका निम्ति परमप्रभुको सामु आफ्नो दोषबलि ल्याओस्, अर्थात् बगालबाट एउटा पोथी-पशु, अर्थात् भेड़ाको एउटा पाठी वा बाख्राको एउटा पाठी पापबलिका निम्ति ल्याओस्! अनि पूजाहारीले त्यसका पापहरूको सम्बन्धमा त्यसका निम्ति प्रायश्चित गरोस्!7 अनि यदि त्यसको पाठो ल्याउने औकात छैन भने त्यसले आफूले गरेको आफ्नो अपराधका निम्ति दुईवटा ढुकुर वा दुईवटा परेवाका बच्चा परमप्रभुकहाँ ल्याओस्; एउटाचाहिँ पापबलिका निम्ति र अर्कोचाहिँ होमबलिका निम्ति। 8 अनि त्यसले तिनलाई पूजाहारीकहाँ ल्याओस्; अनि उसले जुनचाहिँ पापबलिका निम्ति हो, त्यसलाई पहिले चढ़ाओस्, र त्यसको गर्धनबाट त्यसको टाउको निमोठेर मर्याक्क पारोस्, तर त्यसलाई चुँड़ालेर दुई टुक्रा नपारोस्! 9 अनि उसले पापबलिको रगतबाट केही वेदीको भित्तामा छर्कोस्; र बाँकी रगतचाहिँ वेदीको फेदमा निथारोस्! यो पापबलि हो। 10 अनि त्यही रीतिअनुसार उसले दोस्रोलाई होमबलिका निम्ति चढ़ाओस्; अनि त्यसले गरेको त्यसको पापको सम्बन्धमा पूजाहारीले त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ। 11 तर त्यसको दुईवटा ढुकुर वा परेवाका दुईवटा बच्चा ल्याउने औकात छैन भने जसले पाप गरेको छ, त्यसले पापबलिको रूपमा आफ्नो भेटी अर्थात् एपाकोग दसौं भाग मैदा ल्याओस्; त्यसले यसमाथि तेल नहालोस्, न ता यसमाथि कुनै लोबान हालोस्; किनकि यो पापबलि हो। 12 तब त्यसले यो पूजाहारीकहाँ ल्याओस्, अनि पूजाहारीले यसबाट यसको सम्झना गराउने भाग अर्थात् आफ्नो मुठीभरि निकालोस्, र परमप्रभुका निम्ति आगोले चढ़ाइएका बलिहरूअनुसार यसलाई वेदीमाथि जलाओस्! यो पापबलि हो। 13 अनि यी कुराहरूमध्ये जुन कुरामा त्यसले पाप गरेको छ, त्यसको त्यस पापको सम्बन्धमा पूजाहारीले प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ; बाँकी भागचाहिँ अन्नबलिझैं पूजाहारीको हुनेछ।”
दोषबलि
14 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 15 “कुनै व्यक्तिले अपराधघ गरेर परमप्रभुका पवित्र वस्तुहरूको विषयमा अनजानमा पाप गर्यो भने त्यसले आफ्नो अपराधका निम्ति बगालबाट एउटा निष्खोट भेड़ाङ परमप्रभुकहाँ ल्याओस्; दोषबलिका निम्ति यसको मूल्य पवित्रस्थानको शेकेलको हिसाबले तिमीले तोकेको दामअनुसार चाँदीका शेकेलहरूको होस्! 16 अनि त्यस पवित्र वस्तुको विषयमा त्यसले गरेको पापका निम्ति त्यसले भर्ना तिरोस्, र त्यसमा त्यसको पाँचौं भाग थपोस् र त्यो पूजाहारीलाई देओस्; अनि पूजाहारीले दोषबलिको भेड़ासित त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ।
17 अनि कुनै व्यक्तिले पाप गरेको छ भने, र परमप्रभुका आज्ञाहरूद्वारा मनाही गरिएका कुराहरूमध्ये कुनै एउटा गरेको छ भने त्यसले यो कुरा नजाने तापनि त्यो दोषी हुन्छ, र त्यसले आफ्नो अधर्मको फल भोग्नेछ। 18 अनि तिमीले तोकेको दामअनसार त्यसले बगालबाट दोषबलिका निम्ति एउटा निष्खोट भेड़ाङ पूजाहारीकहाँ ल्याओस्; अनि थाहा नपाईकन त्यसले भड़्किएर गरेको त्यसको अज्ञानताको विषयमा पूजाहारीले त्यसका निम्ति प्रायश्चित गरोस्, र त्यसलाई क्षमा गरिनेछ। 19 यो दोषबलि हो; परमप्रभुको सामु त्यो निश्चय नै दोषी हुन्छ।”