वाचाको सन्दुक र कृपा-आसन
37
अनि बसलेलले बबुलको काठको एउटा सन्दुक बनाए; त्यसको लमाइ अढ़ाई हात, त्यसको चौड़ाइ डेढ़ हात र त्यसको उचाइ डेढ़ हातको थियो; 2 अनि तिनले त्यसलाई भित्रपट्टि र बाहिरपट्टि निखुर सुनले मोहोरे र त्यसका निम्ति चारैतिर सुनको बिट बनाए। 3 अनि तिनले त्यसका निम्ति चारवटा सुनका मुन्द्राहरू, त्यसका चार कुनामा लगाउनलाई ढालेर बनाए; अनि त्यसको एकापट्टि दुईवटा मुन्द्राहरू र त्यसको अर्कापट्टि दुईवटा मुन्द्राहरू। 4 अनि तिनले बबुलको काठका डण्डाहरू बनाए र तिनलाई सुनले मोहोरे। 5 अनि त्यो सन्दुक बोक्नका निम्ति तिनले ती डण्डाहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूभित्र छिराए।क6 अनि तिनले निखुर सुनको कृपा-आसन बनाए; त्यसको लमाइ अढ़ाई हात, र त्यसको चौड़ाइ डेढ़ हातको थियो। 7 अनि तिनले दुईवटा सुनका करूबहरू बनाए; कृपा-आसनका दुई छेउमा तिनले तिनीहरूलाई एउटै टुक्राबाट पिटेर बनाए। 8 एउटा करूब एक छेउमा र अर्को करूब अर्को छेउमा; कृपा-आसनबाट नै तिनले ती करूबहरू त्यसका दुई छेउमा बनाए। 9 अनि आफ्ना पखेटाहरूले कृपा-आसनलाई ढाक्ने गरी करूबहरूले आफ्ना पखेटाहरू माथितिर फैलाएका थिए, अनि तिनीहरूका चेहराहरू एक-अर्कातिर फर्केका थिए; करूबहरूका चेहराहरू कृपा-आसनतिर फर्केका थिए।
भेटीका रोटीहरूको टेबल
10 अनि तिनले बबुलको काठको एउटा टेबल बनाए; त्यसको लमाइ दुई हात, त्यसको चौड़ाइ एक हात र त्यसको उचाइ डेढ़ हातको थियो। 11 अनि तिनले त्यसलाई निखुर सुनले मोहोरे र त्यसका निम्ति चारैतिर सुनको बिट बनाए। 12 अनि तिनले त्यसका निम्ति चारैतिर चार अमल उचाइ भएको बार बनाए; अनि त्यसको बारका निम्ति तिनले चारैतिर सुनको बिट बनाए। 13 अनि त्यसका निम्ति तिनले चारवटा सुनका मुन्द्राहरू ढालेर बनाए; अनि ती मुन्द्राहरू चार कुनामा लगाए, जो त्यसका चारवटा पाउहरूमा थिए। 14 ती मुन्द्राहरू त्यो टेबल बोक्ने डण्डाहरूका घर हुनलाई त्यस बारनिर थिए। 15 अनि तिनले त्यो टेबल बोक्नलाई बबुलको काठका डण्डाहरू बनाए र तिनलाई सुनले मोहोरे। 16 अनि तिनले त्यस टेबलमाथि रहने सरसामानहरू बनाए; त्यसका थालहरू, त्यसका चम्चाहरू, त्यसका कचौराहरू र तिनमा अर्घ चढ़ाउने त्यसका करुवाहरू निखुर सुनका बनाए।
सामदान
17 अनि तिनले निखुर सुनको एउटा सामदान बनाए; तिनले त्यो सामदान पिटेर बनाए; त्यसको आधार, त्यसको डाँठ, त्यसका हाँगाहरू, त्यसका कचौराहरू, त्यसका कोपिलाहरू र त्यसका फूलहरू एउटै टुक्राबाटका थिए; 18 त्यसका दुवैपट्टिबाट छवटा हाँगाहरू निस्केका थिए; सामदानको एकापट्टिबाट त्यसका तीनवटा हाँगाहरू, र सामदानको अर्कापट्टिबाट त्यसका तीनवटा हाँगाहरू; 19 एउटा हाँगामा कागजी बदामको आकारमा बनिएका तीनवटा कचौराहरू, साथै एक-एक कोपिला र एक-एक फूल थिए; अनि अर्को हाँगामा कागजी बदामको आकारमा बनिएका कचौराहरू, साथै एक-एक कोपिला र एक-एक फूल थिए; सामदानको डाँठबाटग निस्केका ती छवटा हाँगाहरू यही प्रकारका थिए। 20 अनि सामदानको डाँठमा चाहिँ कागजी बदामको आकारका चारवटा पुष्पकोशहरू, त्यसका कोपिलाहरू र त्यसका फूलहरू थिए। 21 अनि सामदानको डाँठबाटघ निस्केका छवटा हाँगाअनुसार त्यसका दुईवटा हाँगामुनि एउटा कोपिला, त्यसका अरू दुईवटा हाँगामुनि एउटा कोपिला र त्यसका अरू दुईवटा हाँगामुनि एउटा कोपिला थिए। 22 तिनीहरूका कोपिला र तिनीहरूका हाँगाहरू एउटै टुक्राबाट बनेका थिए; त्यसका सबै थोकहरू निखुर सुनका, पिटेर बनाइएको एउटै काम थिए। 23 अनि तिनले सातवटा दियाहरू, त्यसका सलेता मिलाउने चिम्टाहरू र त्यसका अँगार हाल्ने भाँड़ाहरू निखुर सुनका बनाए। 24 तिनले सामदान र त्यसका सबै सामानहरू एक किक्कर निखुर सुनका बनाए।
धूप-वेदी
25 अनि तिनले बबुलको काठको एउटा धूप-वेदी बनाए; त्यसको लमाइ एक हात र त्यसको चौड़ाइ एक हातको थियो; त्यो वर्गाकार थियो; अनि त्यसको उचाइ दुई हातको थियो; त्यसका सिङहरू एउटै टुक्राबाट बनेका थिए। 26 अनि तिनले त्यसलाई, त्यसको माथिल्लो भाग, त्यसका वरिपरिका पाटाहरू र त्यसका सिङहरू निखुर सुनले मोहोरे; अनि तिनले त्यसका निम्ति चारैतिर सुनको बिट बनाए। 27 अनि तिनले त्यसका निम्ति, तिनैले त्यो बोक्नलाई त्यसको बिटमुनि, त्यसका दुई कुनामा, त्यसका दुवै पाटाहरूमा डण्डाहरूका बस्ने घरहरू हुनलाई दुईवटा सुनका मुन्द्राहरू बनाए। 28 अनि तिनले ती बबुलको काठका डण्डाहरू बनाए र तिनलाई सुनले मोहोरे। 29 अनि तिनले सुगन्धित अत्तर बनाउने रीतिले बनेको एउटा पवित्र अभिषेकको तेल र सुगन्धित द्रव्यहरूको शुद्ध धूप बनाए।