पवित्रस्थानको प्रशस्त भेटी
36
तब बसलेल, ओहोलीआब र बुद्धिमान् हृदय भएकाहरू सबैले परमप्रभुले आज्ञा गर्नुभएका सबै कुराहरूअनुसार काम गरे, जसभित्र पवित्रस्थानको निर्माणको हरेक काम कसरी गर्नुपर्छ, सो उनीहरूले जानून् भनेर परमप्रभुले बुद्धि र समझ हाल्नुभएको थियो। 2 अनि मोशाले बसलेल, ओहोलीआब र बुद्धिमान् हृदय भएका सबै मानिसहरूलाई बोलाए, जसको हृदयभित्र परमप्रभुले बुद्धि हाल्नुभएको थियो, अँ, हरेक मानिसलाई, जसको हृदयले उसलाई त्यो काम गर्नका निम्ति त्यसको नजिक आउन उत्तेजित पारेको थियो। 3 अनि उनीहरूले मोशाबाट जम्मै भेटी पाए, जुन भेटी इस्राएलीहरूले पवित्रस्थानको निर्माण गर्ने कामका निम्ति ल्याएका थिए। अनि हरेक बिहान तिनीहरूले अझै पनि उनीकहाँ स्वेच्छा-भेटीहरू ल्याइरहे। 4 अनि सबै बुद्धिमान् मानिसहरू, जसले पवित्रस्थानका सबै कामहरू गरिरहेका थिए, हरेक आफूले गरिरहेको काम छोड़ेर आए; 5 अनि उनीहरूले मोशालाई यसो भने: “परमप्रभुले बनाउनलाई आज्ञा गर्नुभएको यस निर्माण-कार्यका निम्ति मानिसहरूले चाहिएको भन्दा ज्यादै बढ़ी ल्याउँदैछन्।” 6 तब मोशाले आज्ञा दिए; अनि तिनीहरूले यसो भन्दै छाउनीभरि यो कुरा सुनाउन लगाए: “पवित्रस्थानको भेटीका निम्ति अबउसो कुनै पुरुष वा स्त्रीले केही काम नगरोस्!” यसरी मानिसहरू भेटी ल्याउनुदेखि रोकिए। 7 किनकि जति सामानहरू उनीहरूसँग थिए, त्यही नै सारा काम बनाउनका निम्ति प्रशस्त थियो, र उब्रन्थ्यो पनि।निर्माण-कार्य शुरु भयो: छानाका पर्दाहरू
8 अनि निवासस्थानका कामहरू गर्नेहरूमध्ये बुद्धिमान् हृदय भएका सबै मानिसहरूले बाटेको मिहिन मलमल, नीलो, बैजनी र रातो रङ्गका दसवटा पर्दाहरू बनाए; तिनले शिल्पकारको कामअनुसार करूबहरू लगाएर ती पर्दाहरूक बनाए। 9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र हरेक पर्दाको चौड़ाइ चार हातको थियो; सबै पर्दाहरू एकै नापका थिए। 10 अनि तिनले पाँचवटा पर्दा एक-अर्कासँग जोड़े, अनि अरू पाँचवटा पर्दा पनि एक-अर्कासँग जोड़े। 11 अनि तिनले पहिलो पर्दाको किनारमा, जोड़िने ठाउँको अन्तमा, नीलो रङ्गका मुन्द्रीहरू बनाए; तिनले अर्को पर्दाको पल्लो किनारमा, दोस्रो जोड़िने ठाउँको अन्तमा पनि त्यस्तै बनाए। 12 पहिलो पर्दामा तिनले पचासवटा मुन्द्रीहरू बनाए, र जुन पर्दा त्यस दोस्रो जोड़िने ठाउँमा छ, त्यस पर्दाको किनारमाख तिनले पचासवटा मुन्द्रीहरू बनाए; यी मुन्द्रीहरू एक-अर्काका आमुन्ने-सामुन्ने आए। 13 अनि तिनले पचासवटा सुनका खीपहरू बनाए; ती खीपहरूले पर्दाहरूलाई एक-अर्कासँग जोड़े; र त्यो एउटा निवासस्थान बन्यो।
14 अनि निवासस्थानमाथि पाल हुनका निम्ति तिनले बाख्राका ऊनका पर्दाहरू बनाए; तिनले एघारवटा पर्दाहरू बनाए। 15 हरेक पर्दाको लमाइ तीस हातको थियो, र हरेक पर्दाको चौड़ाइ चार हातको थियो; ती एघारैवटा पर्दाहरू एउटै नापका थिए। 16 अनि तिनले पाँचवटा पर्दा अलग्गै जोड़े, र छवटा पर्दा अलग्गै जोड़े। 17 अनि त्यस पर्दाको किनारमा, जो पल्लो छेउमा छ, तिनले जोड़िने ठाउँमा पचासवटा मुन्द्रीहरू बनाए, र अर्को पर्दाको किनारमा, दोस्रो जोड़िने ठाउँमा पचासवटा मुन्द्रीहरू बनाए। 18 अनि त्यो पाल एकसाथ जोड़ेर एउटै बनिनका निम्ति तिनले पित्तलका पचासवटा खीपहरू बनाए। 19 अनि तिनले पालका निम्ति रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरूको एउटा ओढ़ा बनाए; अनि त्यसमाथि सिलका छालाहरूको एउटा ओढ़ा बनाए।
निवासस्थानका विभिन्न सामग्रीहरू
20 अनि निवासस्थानका निम्ति तिनले बबुलको काठका खड़ा रहने फल्याकहरू बनाए। 21 हरेक फल्याकको लमाइ दस हातको र हरेक फल्याकको चौड़ाइ डेढ़ हातको थियो। 22 एउटा फल्याकमा एक-अर्काको सामु राखिएका दुईवटा चूलहरू थिए; यसरी नै तिनले निवासस्थानका सबै फल्याकहरू बनाए। 23 अनि तिनले निवासस्थानका निम्ति ती फल्याकहरू बनाए; दक्षिणपट्टि दक्षिणी भागका निम्ति बीसवटा फल्याकहरू। 24 तिनले बीसवटा फल्याकहरूमुनि चालीसवटा चाँदीका चूलघरहरू बनाए; एउटा फल्याकमुनि त्यसका दुईवटा चूलहरूका निम्ति दुईवटा चूलघरहरू; अनि अर्को फल्याकमुनि त्यसका दुईवटा चूलहरूका निम्ति दुईवटा चूलघरहरू। 25 अनि निवासस्थानको अर्कापट्टि, उत्तरी भागका निम्ति, तिनले बीसवटा फल्याकहरू, 26 र तिनका चालीसवटा चाँदीका चूलघरहरू बनाए; एउटा फल्याकमुनि दुईवटा चूलघरहरू र अर्को फल्याकमुनि दुईवटा चूलघरहरू। 27 अनि निवासस्थानको पछाड़िपट्टि, पश्चिमी भागका निम्ति तिनले छवटा फल्याकहरू बनाए। 28 अनि निवासस्थानका दुईपट्टिका कुनाहरूका निम्ति तिनले दुईवटा फल्याक बनाए। 29 अनि तल फेदमा ती एकसाथ खप्ट्याइएका थिए, र माथि तिनको टुप्पामा चाहिँ ती एउटै मुन्द्राभित्र एकसाथ खप्टिएका थिए; दुवै कुनाका निम्ति तिनले दुवै फल्याकहरूसित त्यस्तै गरे। 30 अनि आठवटा फल्याकहरू थिए र तिनका सोह्रवटा चाँदीका चूलघरहरू थिए, हरेक फल्याकमुनि दुईवटा चूलघरहरू।
31 अनि तिनले बबुलको काठका साटाहरू बनाए; निवासस्थानका एकपट्टिका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू।
32 अनि निवासस्थानका अर्कापट्टिका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू, साथै निवासस्थानको पछाड़िपट्टि, पश्चिमी भागका फल्याकहरूका निम्ति पाँचवटा साटाहरू। 33 अनि तिनले बीचको साटाचाहिँ फल्याकहरूको बीचबाट भएर एक छेउदेखि अर्को छेउसम्म छिरेर जाने बनाए। 34 अनि तिनले फल्याकहरू सुनले मोहोरे, र साटाहरूका बस्ने घरहरूका निम्ति तिनीहरूका सुनका मुन्द्राहरू बनाए; अनि तिनले ती साटाहरू सुनले मोहोरे।
बीचको पर्दा र पालको ढोकाको पर्दा
35 अनि तिनले नीलो, बैजनी, रातो र मिहिन बाटेको मलमलको बीचको पर्दा बनाए; तिनले शिल्पकारको कामअनुसार करूबहरू लगाएर त्यसलाई बनाए। 36 अनि तिनले त्यसका निम्ति बबुलको काठका चारवटा खाँबाहरू बनाए र तिनलाई सुनले मोहोरे; तिनीहरूका अङ्कुसेहरू सुनका थिए; अनि तिनले ती खाँबाहरूका निम्ति चारवटा चाँदीका चूलघरहरू ढालेर बनाए। 37 अनि तिनले पालको ढोकाका निम्ति नीलो, बैजनी, रातो र बाटेको मिहिन मलमलको र बेलबुट्टा हानिएकोग एउटा पर्दा बनाए; 38 अनि तिनले पाँचवटा खाँबाहरू र तिनीहरूका अङ्कुसेहरू बनाए; अनि तिनका टुप्पाहरू र तिनका डन्डीहरू सुनले मोहोरे; तर तिनीहरूका पाँचवटा चूलघरहरूचाहिँ पित्तलका थिए।