विश्रामदिन
35
अनि मोशाले इस्राएलीहरूको सारा समुदायलाई भेला गरेर तिनीहरूलाई भने: “परमप्रभुले आज्ञा गर्नुभएका वचनहरू, जो तिमीहरूले गर्नुपर्छ, यिनै हुन्: 2 छ दिनसम्म काम गरियोस्, तर सातौं दिनचाहिँ तिमीहरूका निम्ति पवित्र दिन, परमप्रभुका निम्ति विश्राम गर्ने विश्रामदिन ठहरियोस्! हरेक जसले त्यस दिनमा काम गर्दछ, त्यो मारियोस्! 3 विश्रामदिनमा तिमीहरूका सबै वासस्थानहरूभरि तिमीहरूले आगो नबाल्नू!”पवित्रस्थान बनाउनका निम्ति उठाइएको भेटी
4 अनि मोशाले इस्राएलीहरूको सारा समुदायलाई यसो भने: “परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: 5 तिमीहरूले आफ्नो बीचबाट परमप्रभुका निम्ति एउटा भेटी लिनू! हरेक जसको इच्छुक हृदय छ, उसले परमप्रभुको भेटी ल्याओस् – सुन, चाँदी र पित्तल; 6 अनि नीलो, बैजनी, रातो र मिहिन मलमल, अनि बाख्राको ऊन; 7 साथै रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरू, सिलका छालाहरू र बबुलको काठ; 8 अनि उज्यालोका निम्ति तेल, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति सुगन्धित द्रव्यहरू; 9 अनि एपोद र छाती-पातामा जड़्नका निम्ति गोमेदका पत्थरहरू र मणिहरू। 10 अनि तिमीहरूको बीचमा बुद्धिमान् हृदय भएको हरेक मानिस आओस्, र परमप्रभुले आज्ञा गर्नुभएका सबै थोकहरू बनाओस्; 11 निवासस्थान, त्यसको पाल, त्यसको ओढ़ा, त्यसका खीपहरू, त्यसका फल्याकहरू, त्यसका साटाहरू, त्यसका खाँबाहरू र त्यसका चूलघरहरू; 12 सन्दुक र त्यसका डण्डाहरू, कृपा-आसन र बीचको पर्दा; 13 टेबल, त्यसका डण्डाहरू र त्यसका सबै सरसामानहरू, अनि हाजिरीका रोटीहरू; 14 अनि उज्यालोका निम्ति सामदान, त्यसका सामानहरू र त्यसका दियाहरू, अनि उज्यालोका निम्ति तेल; 15 अनि धूप-वेदी र त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, साथै निवासस्थानको ढोकाका निम्ति ढोकाको पर्दा; 16 होमबलिको वेदी, त्यसको पित्तलको चाल्नी, त्यसका डण्डाहरू र त्यसका सबै सामानहरू; बाटा र त्यसको खुट्टा; 17 आँगनका पर्दाहरू, त्यसका खाँबाहरू र तिनका चूलघरहरू, साथै आँगनको ढोकाको पर्दा; 18 निवासस्थानका कीलाहरू, आँगनका कीलाहरू र तिनका डोरीहरू; 19 पवित्रस्थानमा सेवा गर्नका निम्ति सेवाका लुगाहरू,क पूजाहारी हारूनका निम्ति पवित्र वस्त्रहरू र पूजाहारी-पदमा रहेर सेवा गर्नलाई उसका छोराहरूका वस्त्रहरू।”
20 अनि इस्राएलीहरूको सारा समुदाय मोशाको सामुबाट फर्क्यो। 21 अनि हरेक जसलाई उसको हृदयले उत्तेजित पारेको थियो, र हरेक जसलाई उसको आत्माले इच्छुक बनाएको थियो, यस्ताहरू आए, अनि भेट हुने पालको कामका निम्ति, त्यसको सम्पूर्ण सेवा र पवित्र वस्त्रहरूका निम्ति परमप्रभुको भेटी ल्याए। 22 अनि जतिजना इच्छुक हृदय भएका थिए, तिनीहरू, दुवै पुरुष र स्त्रीहरू आए, अनि चुराहरू,ख कुण्डलहरू, औंठीहरू,ग बाजुहरूघ र सबै किसिमका सुनका थोकहरू ल्याए; अनि भेटी चढ़ाउने हरेकले परमप्रभुलाई सुनको भेटी चढ़ायो। 23 अनि हरेक जससँग नीलो, बैजनी, रातो र मिहिन मलमल, अनि बाख्राको ऊन, रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरू र सिलका छालाहरू थिए, तिनीहरूले ती ल्याए। 24 हरेक जसले चाँदी र पित्तलको भेटी चढ़ायो, उसले परमप्रभुको भेटी ल्यायो; अनि हरेक जससँग सेवाको कुनै कामका निम्ति बबुलको काठ थियो, उसले त्यो ल्यायो। 25 अनि बुद्धिमान् हृदय भएका सबै स्त्रीहरूले आफ्नै हातले धागो काते, अनि नीलो, बैजनी र रातो रङ्गका, साथै मिहिन मलमलका कातेका धागाहरू ल्याए। 26 अनि सबै स्त्रीहरू जसलाई तिनीहरूका हृदयले बुद्धिमा उत्तेजित पारेका थिए, तिनीहरूले बाख्राको ऊनको धागो काते। 27 अनि शासकहरूले एपोद र छाती-पातामा जड़्नका निम्ति गोमेदका पत्थरहरू र मणिहरू ल्याए; 28 साथै उज्यालोका निम्ति, अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति सुगन्धित द्रव्य र तेल ल्याए। 29 इस्राएलीहरूले परमप्रभुकहाँ स्वेच्छा-भेटी ल्याए – हरेक पुरुष र स्त्रीले, जसलाई आफ्नो हृदयले गर्नुपर्ने ती सबै प्रकारका कामहरूका निम्ति ल्याउन उत्तेजित पारेको थियो, जुन कामहरू परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको थियो।
पवित्रस्थानका कारिगरहरू बसलेल र ओहोलीआब
30 अनि मोशाले इस्राएलीहरूलाई भने: “हेर, परमप्रभुले यहूदा कुलको हूरका नाति, अर्थात् ऊरीका छोरा बसलेललाई नाम काढ़ेर बोलाउनुभएको छ; 31 अनि तिनैलाई उहाँले बुद्धि, समझ, ज्ञान र सबै प्रकारका कारिगरीको सम्बन्धमा परमेश्वरको आत्माले भर्नुभएको छ; 32 तिनले सुन, चाँदी र पित्तलको काम गर्नका निम्ति शिल्पकारका कामहरू रच्न सकून्, 33 र जड़्नका निम्ति मणिहरू काट्ने काममा र काठ खोप्ने काममा हर प्रकारको कलापूर्ण कारिगरी गर्न सकून् भनेर। 34 अनि उहाँले तिनको हृदयमा सिकाउने क्षमता हाल्नुभएको छ – तिनको र दान कुलको अहिसामाकका छोरा ओहोलीआबको हृदयमा। 35 उनीहरूले मोहोर खोप्ने, कलापूर्ण कारिगरी, नीलो, बैजनी, रातो र मिहिन मलमलमा बेलबुट्टा काढ्ने र लुगा बुन्ने, अँ, हर प्रकारको काम गर्नेहरू र शिल्पकारका कामहरू रच्नेहरूका सब प्रकारका काम गर्न सकून् भनेर उहाँले उनीहरूलाई नै हृदयको बुद्धिले भर्नुभएको छ।”