ढुङ्गाका नयाँ पाटीहरू
34
तब परमप्रभुले मोशालाई भन्नुभयो: “आफ्ना निम्ति पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटीहरू काटेर बनाऊ! अनि तिमीले फुटाएका पहिलेका पाटीहरूमा भएका शब्दहरू म ती पाटीहरूमा लेखिदिनेछु। 2 अनि बिहानै तयार होऊ, र बिहानै माथि सिनाई पर्वतमा आऊ, अनि त्यहाँ पहाड़को टाकुरामाथि मकहाँ हाजिर होऊ!क 3 अनि तिमीसित कुनै मानिस माथि नआओस्; अँ, सारा पहाड़भरि कुनै मानिस देखा नपरोस्; भेड़ाबाख्राहरू र गाईबस्तुहरू पनि त्यस पहाड़को अघिल्तिर नचरून्!” 4 अनि उनले पहिलेका जस्तै ढुङ्गाका दुईवटा पाटीहरू काटेर बनाए; अनि एकाबिहानै मोशा उठे, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनी माथि सिनाई पर्वतमा गए; अनि उनले आफ्ना हातमा ढुङ्गाका ती दुईवटा पाटीहरू पनि लगे।5 तब परमप्रभु बादलमा ओर्लनुभयो, र त्यहाँ उनीसित उभिनुभयो, अनि परमप्रभुको नामको घोषणा गर्नुभयो। 6 अनि परमप्रभु उनको सामुबाट भएर जानुभयो, र यसो भन्दै घोषणा गर्नुभयो: “परमप्रभु, परमप्रभु परमेश्वर दयालु र अनुग्रहकारी, रिसाउनमा ढिलो अनि करुणा र सत्यताले भरपूर! 7 हजारौंलाई कृपा देखाइरहनुहुने; अधर्म, अपराध र पाप क्षमा गर्नुहुने, तर दोषीलाई कुनै रीतिले निर्दोष नठहऱ्याउनुहुने; पुर्खाहरूको अधर्मका निम्ति तेस्रो र चौथो पुस्तासम्म तिनीहरूका छोराछोरीहरू र नातिपनातिहरूलाई दण्ड दिनुहुने!” 8 तब मोशाले हतार-हतार गरी भुइँमा शिर झुकाए र दण्डवत् गरे। 9 अनि उनले भने: “यदि मैले साँच्चै तपाईंको दृष्टिमा अनुग्रह पाएको छु भने हे प्रभु, म तपाईंलाई विन्ती गर्दछु, यो एउटा हठी जाति भए तापनि मेरा प्रभु हाम्रो बीचमा भई हिँडून्; अनि हाम्रो अधर्म र हाम्रो पाप क्षमा गर्नुहोस्, र हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्!”
परमेश्वरको वाचाका सर्तहरू
10 अनि उहाँले भन्नुभयो: “हेर, म एउटा वाचा बाँध्छु; तिम्रा सबै मानिसहरूको सामु म यस्ता अचम्मका कामहरू गर्नेछु, जुन अचम्मका कामहरू सारा पृथ्वीभरि र कुनै जातिको बीचमाग कहिल्यै गरिएका छैनन्; अनि यी सबै मानिसहरूले, जसको बीचमा तिमी छौ, परमप्रभुको काम देख्नेछन्; किनकि तिमीसित म जे गर्नेछु, त्यो भयानक छ। 11 आज म तिमीलाई जे आज्ञा गर्छु, त्यो तिमीले पालन गर! हेर, म तिम्रो सामुबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाउनेछु। 12 आफ्नो विषयमा होशियार बस! जुन देशमा तिमी जान्छौ, त्यस देशका बासिन्दाहरूसँग कहीं तिमीले कुनै वाचा बाँधौला! कहीं त्यही कुरा तिम्रो बीचमा पासो बन्ला! 13 तर तिमीहरूले तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिनू र तिनीहरूका अशेराका मूर्तिहरूघ काटेर ढालिदिनू! 14 किनकि तिमीले अरू कुनै ईश्वरलाई दण्डवत् नगर्नू! किनकि परमप्रभु, जसको नाम ‘डाहाङ गर्नुहुने’ हो, उहाँ डाहाङ राख्ने ईश्वर हुनुहुन्छ। 15 होशियार, कहीं तिमीले त्यस देशका बासिन्दाहरूसँग कुनै वाचा बाँधौला! जब तिनीहरूले आफ्ना देवताहरूको पछि लागेर वेश्याकर्म गर्छन्, र आफ्ना देवताहरूलाई बलि चढ़ाउँछन्, तब कसैले तिमीलाई बोलाउला, र तिमीले त्यसको बलिदानबाटच खाऔला!! 16 अँ, कहीं जब तिमीले आफ्ना छोराहरूका निम्ति तिनीहरूका छोरीहरूबाट ल्याऔला, तब तिनीहरूका छोरीहरूले आफ्ना देवताहरूको पछि लागेर वेश्याकर्म गर्लान्, र तिम्रा छोराहरूलाई तिनीहरूका देवताहरूको पछि लगाएर वेश्याकर्म गर्न लगाउलान्!! 17 आफ्ना निम्ति तिमीले ढालिएका देवताहरू नबनाउनू!
18 तिमीले अखमिरे रोटीहरूको चाड़ मनाउनू! अबीब महिनाको तोकिएको समयमा मैले तिमीलाई आज्ञा गरेअनुसार तिमीले सात दिनसम्म अखमिरे रोटी खानू; किनकि अबीब महिनामा तिमी मिस्रबाट निस्केर आयौ। 19 गर्भ खोल्ने हरेक पहिलोफल मेरो हो; साथै तिम्रा पशुहरूको पहिले जन्मेको हरेक नर-पशु, चाहे त्यो गोरुको होस्, चाहे भेड़ाको होस्, त्यो मेरो हो। 20 तर गधाको पहिले जन्मेकोलाई तिमीले पाठो दिएर छुटाउनू; अनि तिमीले त्यसलाई छुटाउँदैनौ भने तिमीले त्यसको गर्दन भाँचिदिनू! तिम्रा छोराहरूमध्ये सबै जेठा छोरालाई चाहिँ तिमीले छुटाउनू! अनि कोही पनि रित्तो हात लिई मेरो सामु देखा नपरोस्! 21 छ दिन तिमीले काम गर्नू, तर सातौं दिनमा तिमीले विश्राम लिनू; हलो जोत्ने र कटनी गर्ने समयमा पनि तिमीले विश्राम लिनू! 22 अनि तिमीले हप्ताहरूको चाड़ अर्थात् गहुँको कटनीको पहिलोफलको चाड़, साथै वर्षको अन्तमा अन्न भित्र्याउने चाड़ मनाउनू! 23 वर्षमा तीनपल्ट तिमीहरूका सबै पुरुषहरू प्रभु यहोवा, इस्राएलका परमेश्वरको सामु देखा परून्! 24 किनकि म तिम्रो सामुबाट जाति-जातिहरूलाई निकालिदिनेछु, र तिम्रो सिमाना बढ़ाउनेछु; वर्षमा तीनपल्ट परमप्रभु तिम्रा परमेश्वरको सामु देखा पर्न जाँदा कसैले पनि तिम्रो जमिनको लालच गर्नेछैन। 25 तिमीले मेरो बलिको रगत खमिरसित नचढ़ाउनू; न ता निस्तार चाड़को बलि बिहानसम्मछ रहन दिनू! 26 तिम्रो जमिनको पहिलोफलको पहिलो भाग तिमीले परमप्रभु तिम्रा परमेश्वरको भवनमा ल्याउनू! तिमीले बाख्राको पाठालाई त्यसको माउको दूधमा नपकाउनू!”
27 तब परमप्रभुले मोशालाई भन्नुभयो: “तिमीले यी वचनहरू लेख; किनकि यी वचनहरूअनुसार मैले तिमी र इस्राएलसँग वाचा बाँधेको छु।” 28 अनि उनी त्यहाँ परमप्रभुसँग चालीस दिन र चालीस रात रहे; उनले न रोटी खाए, न ता पानी पिए। अनि उहाँले ती पाटीहरूमा वाचाका वचनहरू अर्थात् दस आज्ञाहरू लेखिदिनुभयो।
मोशाको चेहरा चम्किरहेको
29 अनि यस्तो भयो: जब मोशा सिनाई पर्वतबाट ओर्ले, तब उनको हातमा साक्षीका दुईवटा पाटीहरू थिए; जब उनी त्यस पहाड़बाट तल ओर्ले, तब परमप्रभुलेज उनीसित कुरा गर्नुभएको कारणले उनको अनुहारझ चम्किरहेको छ भन्ने कुरा मोशालाई थाहा थिएन। 30 अनि जब हारून र सारा इस्राएलीहरूले मोशालाई देखे; अनि हेर, उनको अनुहारझ चम्किरहेको थियो; तब तिनीहरू उनको नजिक जान डराए। 31 अनि मोशाले तिनीहरूलाई बोलाए; तब हारून र समुदायका सबै शासकहरू उनीकहाँ फर्केर आए; अनि मोशाले उनीहरूसँग कुरा गरे। 32 अनि त्यसपछि सबै इस्राएलीहरू नजिक आए; अनि सिनाई पर्वतमाथि परमप्रभुले उनलाई जे भन्नुभएको थियो, ती सबै कुराहरू मोशालेञ तिनीहरूलाई आज्ञा गरे। 33 अनि मोशाले तिनीहरूसँग कुरा गरिनसिद्ध्याउन्जेल आफ्नो अनुहारमाथि घुम्टो हाले। 34 तर जब मोशा परमप्रभुको सामु उहाँसँग कुरा गर्न भित्र जान्थे, तब बाहिर ननिस्कुन्जेल उनले त्यो घुम्टो उतारिराख्थे। अनि उनी बाहिर निस्कन्थे, अनि उनले जे आज्ञा पाएका थिए, सो इस्राएलीहरूलाई सुनाउँथे। 35 अनि इस्राएलीहरूले मोशाको अनुहार हेर्थे, मोशाको अनुहारझ चम्किरहेको हुन्थ्यो; अनि परमप्रभुसँगट कुरा गर्न भित्र नजाउन्जेल मोशाले आफ्नो अनुहारमाथि त्यो घुम्टो हाल्थे।