इस्राएलीहरूको पश्चात्ताप
33
अनि परमप्रभुले मोशालाई भन्नुभयो: “यहाँबाट हिँड़ – तिमी र यी मानिसहरू, जसलाई तिमीले मिस्र देशबाट निकालेर ल्याएका छौ – अनि माथि त्यस देशमा जाऊ, जसको विषयमा ‘म तिम्रो वंशलाई यो देश दिनेछु’ भन्दै मैले अब्राहाम, इसहाक र याकूबसँग शपथ खाएको छु। 2 अनि म तिम्रा अघि-अघि एउटा दूत पठाउनेछु; अनि म कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई धपाइदिनेछु। 3 त्यस देशमा जाओ, जहाँ दूध र मह बग्दछन्; किनकि तिम्रो बीचमा भई म माथि जानेछैनँ; किनभने तिमीहरू एउटा हठी जाति हौ; नत्र ता म तिमीलाई बाटैमा नाश पार्नेछु।” 4 अनि जब मानिसहरूले यो खराब वचन सुने, तब तिनीहरूले विलाप गरे; अनि तिनीहरूमध्ये कसैले पनि आफ्ना गहनाहरू पहिरेन। 5 किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो: “इस्राएलीहरूलाई भन: तिमीहरू एउटा हठी जाति हौ; एकैछिन पनि म तिम्रो बीचमा भई माथि जानु हो भने म तिमीलाई शेष पार्नेछु; यसकारण अब तिमीले आफूबाट आफ्ना गहना फुकाल, र तिमीसित मैले के गर्नुपर्ने हो, सो म जानूँ!” 6 अनि होरेब पर्वतनिरक इस्राएलीहरूले आफ्ना गहनाहरू फुकाले।भेट हुने पाल छाउनीबाहिर
7 तब मोशाले त्यो पाल लिए, र त्यसलाई छाउनीबाहिर, छाउनीदेखि टाढ़ामा टाँगे; र त्यसलाई ‘भेट हुने पाल’ भने। अनि यस्तो हुन्थ्यो: परमप्रभुको खोज गर्ने हरेक जन त्यस भेट हुने पालमा जान्थ्यो, जो छाउनीबाहिर थियो। 8 अनि यस्तो हुन्थ्यो: जब मोशा त्यस पालमा जानलाई बाहिर निस्कन्थे, तब सबै मानिसहरू उठ्थे, र हरेक मानिस आफ्नो पालको ढोकामा उभिन्थ्यो, अनि मोशा त्यस पालभित्र नपसुन्जेल उनको पछि हेरिरहन्थ्यो। 9 अनि यस्तो हुन्थ्यो: जब मोशा त्यस पालभित्र पस्थे, तब बादलको खाँबो ओर्लेर त्यस पालको ढोकामा उभिन्थ्यो, अनि परमप्रभु मोशासँग कुरा गर्नुहुन्थ्यो। 10 अनि सबै मानिसहरूले बादलको खाँबालाई त्यस पालको ढोकामा उभिरहेको देख्थे; अनि सबै मानिसहरू उठ्थे, र तिनीहरू हरेकले आफ्नै पालको ढोकाबाट दण्डवत् गर्थे। 11 अनि मानिसले आफ्नो साथीसँग कुरा गरेझैं गरी परमप्रभुले मोशासँग आमुन्ने-सामुन्ने कुरा गर्नुहुन्थ्यो। अनि मोशाख छाउनीमा फर्कन्थे, तर उनको सेवक, नूनका छोरा यहोशूचाहिँ, ती जवान मानिस, त्यस पालभित्रबाट निस्कँदैनथिए।
मोशाको विन्ती
12 तब मोशाले परमप्रभुलाई भने: “हेर्नुहोस्, तपाईंले मलाई ‘यी मानिसहरूलाई लिएर जाऊ’ भन्नुभयो; तर तपाईंले मेरो साथमा कसलाई पठाउनुहुन्छ, सो कुरा तपाईंले मलाई जनाउनुभएको छैन। तरैपनि तपाईंले भन्नुभएको छ, ‘म तिमीलाई नामैले चिन्दछु; साथै मेरो दृष्टिमा तिमीले अनुग्रह पनि पाएका छौ।’ 13 यसकारण अब म तपाईंलाई विन्ती गर्दछु, यदि मैले तपाईंको दृष्टिमा अनुग्रह पाएको छु भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस्, र म तपाईंलाई चिन्न सकूँ र तपाईंको दृष्टिमा अनुग्रह पाऊँ; अनि यो जाति तपाईंकै मानिसहरू हुन् भनी याद गरिदिनुहोस्!” 14 अनि उहाँले भन्नुभयो: “मेरो उपस्थिति तिम्रो साथमा जानेछ; अनि म तिमीलाई विश्रामदिनेछु।” 15 अनि उनले उहाँलाई भने: “तपाईंको उपस्थिति मेरो साथमा जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस्! 16 किनकि मैले र तपाईंका मानिसहरूले तपाईंको दृष्टिमा अनुग्रह पाएका छौं भनी तब केद्वारा जान्न सकिन्छ? तपाईं हाम्रो साथमा जानुभएकोमा जानिन्छ, होइन र? यसरी हामी – म र तपाईंका मानिसहरू पृथ्वीको सतहमा बस्ने सबै जातिहरूभन्दा भिन्नै ठहरिनेछौं।” 17 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “तिमीले जे भन्यौ, त्यो कुरा पनि म गर्नेछु; किनकि तिमीले मेरो दृष्टिमा अनुग्रह पाएका छौ; अनि म तिमीलाई नामैले चिन्दछु।” 18 अनि उनले भने: “म तपाईंलाई विन्ती गर्दछु, तपाईंको महिमा मलाई देखाउनुहोस्!” 19 अनि उहाँले भन्नुभयो: “म मेरो सम्पूर्ण भलाइ तिम्रो सामुबाट भएर पार गराउनेछु, र तिम्रो सामु परमप्रभुको नामको घोषणा गर्नेछु; अनि जसप्रति म अनुग्रही हुन चाहन्छु, ऊप्रति म अनुग्रही हुनेछु; जसलाई म कृपा देखाउन चाहन्छु, उसैलाई म कृपा देखाउनेछु।” 20 अनि उहाँले भन्नुभयो: “तिमीले मेरो अनुहार हेर्न सक्दैनौ; किनभने मलाई देखेर कुनै मानिस जीवित रहनेछैन।” 21 तब परमप्रभुले भन्नुभयो: “हेर, मेरो छेउमा एउटा ठाउँ छ, अनि तिमी त्यस चट्टानमाथि खड़ा होऊ! 22 अनि यस्तो हुनेछ: मेरो महिमा त्यहाँबाट भएर जाँदा म तिमीलाई त्यस चट्टानको धाँदोभित्र राख्नेछु; म आफू त्यहाँबाट भएर जाँदा तिमीलाई आफ्नो हातले ढाक्नेछु; 23 अनि म आफ्नो हात हटाउनेछु, र तिमीले मेरो पिठ्यूँ देख्नेछौ; तर मेरो अनुहारचाहिँ देखिनेछैन।”