सुनको बाछा
32
अनि मोशाले पहाड़बाट ओर्लन ढिलो गरेका जब मानिसहरूले देखे, तब ती मानिसहरू हारूनकहाँ भेला भएर तिनलाई भने: “उठ्नुहोस्, हाम्रा निम्ति ईश्‍वरहरू बनाउनुहोस्, जो हाम्रा अघि-अघि जानेछन्; किनकि हामीलाई मिस्र देशबाट निकालेर ल्याउने मानिस, यी मोशालाई के भएको छ, हामी जान्दैनौं।” 2 अनि हारूनले तिनीहरूलाई भने: “तिमीहरूका पत्‍नीहरू, तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूका कानहरूमा भएका सुनका कुण्डलहरू तोड़ेर निकाल र तिनलाई मकहाँ ल्याओ!” 3 अनि सबै मानिसहरूले तिनीहरूका कानमा भएका कुण्डलहरू तोड़ेर निकाले र हारूनकहाँ ल्याए। 4 अनि तिनीहरूका हातबाट तिनले यो लिएर खोप्‍ने हतियारले यसलाई आकार दिए र एउटा ढालिएको बाछा बनाए; अनि तिनीहरूले भने: “हे इस्राएल, यी तिम्रा ईश्‍वरहरू हुन्, जसले तिमीलाई मिस्र देशबाट निकालेर ल्याए।” 5 अनि जब हारूनले यो देखे, तब तिनले त्यसको अघिल्तिर एउटा वेदी बनाए; अनि हारूनले घोषणा गरेर भने: “भोलि परमप्रभुका निम्ति एउटा चाड़ हुनेछ।” 6 अनि भोलिपल्ट तिनीहरू एकाबिहानै उठे, अनि होमबलिहरू चढ़ाए र मेलबलिहरू ल्याए; अनि खान र पिउनलाई मानिसहरू बसे, अनि लीला गर्न उठे।
7 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “जाऊ, तल ओर्ल; किनकि तिम्रा मानिसहरूले, जसलाई तिमीले मिस्र देशबाट निकालेर ल्यायौ, आफैलाई भ्रष्‍ट पारेका छन्; 8 मैले तिनीहरूलाई आज्ञा गरेको बाटोबाट तिनीहरू चाँड़ै भड़्किएर गएका छन्; तिनीहरूले आफ्ना निम्ति एउटा ढालिएको बाछा बनाएका छन्, त्यसलाई दण्‍डवत्‌ गरेका छन् र त्यसलाई बलि चढ़ाएर भनेका छन्: ‘हे इस्राएल, यी तिम्रा ईश्‍वरहरू हुन्, जसले तिमीलाई मिस्र देशबाट निकालेर ल्याए।’ ” 9 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “मैले यस जातिलाई देखेको छु; अनि हेर, यो हठी जाति हो। 10 यसकारण अब मलाई छोड़िदेऊ, मेरो क्रोध यिनीहरूको विरोधमा दन्कियोस्, र म यिनीहरूलाई भस्म पारूँ; अनि तिमीबाट म एउटा ठूलो जाति बनाउनेछु।” 11 तब मोशाले परमप्रभु आफ्ना परमेश्‍वरलाई विन्‍ती गरेर भने: “हे परमप्रभु, किन तपाईंको रिस आफ्ना मानिसहरूको विरोधमा दन्कियो, जसलाई तपाईंले महा सामर्थ्य र शक्तिशाली हातले मिस्र देशबाट निकालेर ल्याउनुभएको छ? 12 ‘तिनीहरूलाई पहाड़हरूमा मार्न र यस पृथ्वीको सतहबाट नाश पार्न उहाँले तिनीहरूलाई खराब विचारले निकालेर लैजानुभएको हो’ भनी मिस्रीहरूले किन भन्‍ने मौका पाऊन्? आफ्नो भयङ्कर क्रोधबाट फर्कनुहोस्, र आफ्ना मानिसहरूलाई खराबी गर्ने कुराबाट पछुताउनुहोस्! 13 तपाईंका दासहरू अब्राहाम, इसहाक, र इस्राएललाई सम्झना गर्नुहोस्, जससित तपाईंले आफ्नै नाममा शपथ खाएर तिनीहरूलाई भन्‍नुभयो: ‘आकाशका ताराहरूझैं म तिमीहरूका सन्तानको वृद्धि गर्नेछु, अनि यो सारा देश, जसको विषयमा मैले चर्चा गरेको छु, तिमीहरूका सन्तानलाई दिनेछु; अनि तिनीहरू सदाका निम्ति यसका अधिकारी हुनेछन्।’ ” 14 तब आफ्ना मानिसहरूको जुन खराबी गर्ने परमप्रभुको विचार थियो, त्यस खराबीबाट उहाँ पछुताउनुभयो।
15 अनि मोशा फर्के र त्यस पहाड़बाट ओर्ले; अनि उनको हातमा साक्षीका दुईवटा पाटीहरू थिए; ती पाटीहरूका दुवैपट्टि लेखिएका थिए; एकापट्टि र अर्कापट्टि ती लेखिएका थिए। 16 अनि ती पाटीहरू परमेश्‍वरका काम थिए; अनि लेखचाहिँ पाटीहरूमा खोपेको परमेश्‍वरको लेख थियो। 17 अनि जब यहोशूले मानिसहरू कराइरहेको आवाज सुने, तब तिनले मोशालाई भने: “छाउनीमा लड़ाइँको आवाज सुनिँदैछ।” 18 तर उनले भने: “यो कुनै जयघोषको आवाज होइन, न ता यो कुनै हारगुहारको आवाज नै हो; म त गीत गाउनेहरूको आवाज सुन्दैछु।” 19 अनि यस्तो भयो: जब उनी छाउनीको नजिक आइपुगे, र त्यो बाछा र नाच देखे, तब मोशाको रिस दन्कियो, र आफ्ना हातबाट उनले ती पाटीहरू फालिदिए र तिनलाई तल त्‍यस पहाड़को फेदमा फुटाइदिए। 20 अनि उनले तिनीहरूले बनाएको त्यो बाछा लिएर त्यसलाई आगोमा जलाइदिए, त्यसलाई पिँधेर धूलोपीठो पारिदिए र पानीमाथि छरिदिए; अनि उनले इस्राएलीहरूलाई त्यो पिउन लगाए। 21 अनि मोशाले हारूनलाई भने: “यी मानिसहरूले तिमीलाई के गरे, र तिमीले तिनीहरूमाथि यति ठूलो पाप ल्यायौ?” 22 अनि हारूनले भने: “मेरा प्रभुको रिस नदन्कियोस्! तपाईं त यी मानिसहरूलाई चिन्‍नुहुन्छ नै; यिनीहरू खराबीतिर लागेका छन्। 23 किनकि तिनीहरूले मलाई भने: ‘हाम्रा निम्ति ईश्‍वरहरू बनाउनुहोस्, जो हाम्रा अघि-अघि जानेछन्; किनकि हामीलाई मिस्र देशबाट निकालेर ल्याउने मानिस, यी मोशालाई के भएको छ, हामी जान्दैनौं।’ 24 अनि मैले तिनीहरूलाई भनें: ‘जोसँग सुन छ, तिनीहरूले त्यो तोड़ेर निकालून्!’ तब तिनीहरूले त्यो मलाई दिए; अनि मैले त्यसलाई आगोभित्र फालिदिएँ, र यो बाछा निस्केर आयो।” 25 अनि जब मोशाले मानिसहरूलाई नाङ्गा भएका देखे; किनकि हारूनले तिनीहरूलाई तिनीहरूका शत्रुको सामु हाँसोको पात्र बनाउनलाई तिनीहरूलाई नाङ्गा पारेका थिए; 26 तब मोशाले छाउनीको मूलढोकामा उभिएर भने: “परमप्रभुको पक्षमा को छ? त्यो मकहाँ आओस्!” तब लेवीका सबै सन्तानहरू उनीकहाँ भेला भए। 27 अनि उनले उनीहरूलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरू हरेकले आफ्नो तरवार आफ्नो कम्मरमा भिर! छाउनीभरि एक मूलढोकादेखि अर्को मूलढोकासम्म वर र पर जाओ, अनि हरेकले आफ्नो भाइलाई, हरेकले आफ्नो साथीलाई, हरेकले आफ्नो छिमेकीलाई मार!” 28 अनि लेवीका सन्तानहरूले मोशाको वचनअनुसार गरे; अनि त्यस दिन मानिसहरूबाट लगभग तीन हजार जति पुरुषहरू मारिए। 29 किनभने मोशाले भनेका थिए: “आजको दिन तिमीहरूले परमप्रभुका निम्ति आफैलाई अर्पण गर; किनकि हरेक मानिस आफ्नो छोराको विरोधमा र आफ्नो भाइको विरोधमा उठेको छ; यसैले कि आजको दिन उहाँले तिमीहरूलाई आशिष्‌ दिऊन्!”
30 अनि भोलिपल्ट यस्तो भयो: मोशाले मानिसहरूलाई भने: “तिमीहरूले ठूलो पाप गरेका छौ; अब म माथि परमप्रभुकहाँ जानेछु, शायद तिमीहरूका पापका निम्ति म प्रायश्‍चित गर्न सक्छु कि!” 31 अनि मोशा परमप्रभुकहाँ फर्केर गए, र भने: “हाय! यी मानिसहरूले ठूलो पाप गरेका छन्, र आफ्ना निम्ति सुनका देवताहरू बनाएका छन्। 32 तरै पनि तिनीहरूको पाप क्षमा गर्नुहोस्; तर हुँदैन भने, म विन्‍ती गर्दछु, बरु तपाईंले लेख्‍नुभएको आफ्नो पुस्तकबाट मेरो नाम मेटिदिनुहोस्!” 33 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “जसले मेरो विरोधमा पाप गरेको छ, त्यसैलाई म मेरो पुस्तकबाट मेटिदिनेछु। 34 यसकारण अब जाऊ, र यी मानिसहरूलाई मैले तिमीलाई भनेको ठाउँमा डोर्‍याएर लैजाऊ! हेर, मेरो दूत तिम्रा अघि-अघि जानेछ; तैपनि जुन दिन म दण्ड दिनेछु, त्यस दिन म तिनीहरूलाई तिनीहरूको पापको दण्ड पनि दिनेछु।” 35 अनि परमप्रभुले ती मानिसहरूमाथि विपत्ति ल्याउनुभयो; किनकि जुन बाछा तिनीहरूले बनाए, त्यो बाछा हारूनले बनाए।