पवित्रस्थानका कारिगरहरू बसलेल र ओहोलीआब
31
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “हेर, मैले यहूदा कुलको हूरको नाति अर्थात् ऊरीको छोरा बसलेललाई नाम काढ़ेर बोलाएको छु। 3 अनि मैले उसलाई बुद्धि, समझ, ज्ञान र सब प्रकारका कारिगरीको सम्बन्धमा परमेश्वरको आत्माले भरेको छु, 4 उसले सुन, चाँदी र पित्तलको काम गर्नका निम्ति शिल्पकारका कामहरू रच्न सकोस्, 5 र मणिहरू जड़्नका निम्ति काट्ने काममा, र काठ खोप्ने काममा हर प्रकारको कलापूर्ण कारिगरी गर्न सकोस् भनेर। 6 अनि मैले, हेर, मैले उसको साथमा दान कुलको अहीसामाकको छोरा ओहोलीआबलाई दिएको छु; अनि बुद्धिमान् हृदय भएका सबै मानिसहरूको हृदयमा मैले बुद्धि हालिदिएको छु; यसैले मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरू तिनीहरूले बनाउनेछन्: 7 भेट हुने पाल, साक्षीको सन्दुक र त्यसमाथि रहने कृपा-आसन र निवासस्थानका सबै सरसामानहरू; 8 साथै टेबल र त्यसका सामानहरू, निखुर सामदान र त्यसका सबै सामानहरू, र धूप-वेदी; 9 अनि होमबलिको वेदी र त्यसका सबै सामानहरू; अनि बाटा र त्यसको खुट्टा; 10 साथै सेवाका लुगाहरू,क पूजाहारी हारूनका निम्ति पवित्र वस्त्रहरू र पूजाहारी-पदमा रहेर सेवा गर्नलाई उसका छोराहरूका वस्त्रहरू; 11 अनि अभिषेक गर्ने तेल र पवित्रस्थानका निम्ति सुगन्धित धूप; मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरूअनुसार तिनीहरूले गरून्!”विश्रामदिन
12 अनि परमप्रभुले मोशालाई यसो भन्नुभयो: 13 “तिमीले इस्राएलीहरूलाई यसो पनि भन्नू: निश्चय नै तिमीहरूले मेरा विश्रामदिनहरू मान्नू; किनकि मेरो र तिमीहरूको बीचमा योचाहिँ तिमीहरूका पुस्तौंपुस्तामा रहने चिन्ह हो, यसैले कि तिमीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्न सक। 14 यसैकारण तिमीहरूले विश्रामदिन मान्नू; किनकि यो दिन तिमीहरूका निम्ति पवित्र हो; यस दिनलाई अपवित्र तुल्याउने हरेक जन निश्चय नै मारियोस्; किनकि हरेक जसले यस दिनमा कुनै काम गर्दछ, त्यो व्यक्ति आफ्ना जनहरूबाट नष्ट गरियोस्! 15 छ दिनसम्म काम गरियोस्, तर सातौं दिनचाहिँ विश्राम गर्ने विश्रामदिन हो, परमप्रभुका निम्ति पवित्र हो; हरेक जसले विश्रामदिनमा कुनै काम गर्दछ, त्यो निश्चय नै मारियोस्! 16 यसकारण सदा रहिरहने वाचाको रूपमा तिनीहरूका पुस्तौंपुस्तामा विश्रामदिन पालन गर्नलाई इस्राएलीहरूले विश्रामदिन मानून्! 17 मेरो र इस्राएलीहरूको बीचमा यो सदाका निम्ति एउटा चिन्ह हो; किनकि छ दिनमा परमप्रभुले आकाश र पृथ्वी बनाउनुभयो, अनि सातौं दिनमा उहाँले विश्राम लिनुभयो, र ताजा हुनुभयो।” 18 अनि सिनाई पर्वतमाथि मोशासँग कुरा गरिसिद्ध्याउनुभएपछि उहाँले उनलाई साक्षीका दुईवटा पाटीहरू अर्थात् परमेश्वरको औंलाले लेखेका ढुङ्गाका पाटीहरू दिनुभयो।