हारून र उनका छोराहरूको अभिषेक
29
“अनि पूजाहारी-पदमा रहेर मेरो सेवा गर्नका निम्ति उनीहरूलाई पवित्र पार्न तिमीले गर्नुपर्ने कुरा यो हो: एउटा जवान बहर र दुईवटा निष्खोट भेड़ाक ल्याऊ; 2 साथै अखमिरे रोटीहरू, तेल मिसिएका अखमिरे फुरौलाहरू र तेल लगाइएका अखमिरे बाबरहरू ल्याऊ; तिमीले तिनलाई गहुँको मैदाको बनाउनू! 3 अनि तिमीले तिनलाई एउटा डालोभित्र हाल्नू, र तिनलाई डालोमा नजिक ल्याउनू, साथै त्यो बहर र ती दुईवटा भेड़ाक पनि! 4 अनि तिमीले हारून र उसका छोराहरूलाई भेट हुने पालको ढोकामा ल्याउनू र उनीहरूलाई पानीले नुहाइदिनू! 5 अनि तिमीले वस्त्रहरू लिनू, र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, र छाती-पाता लगाइदिनू, अनि उसलाई एपोदको बुट्टादार कमरपेटी बाँधिदिनू! 6 अनि तिमीले उसको शिरमा पगरी लगाइदिनू, र पगरीमाथि पवित्र मुकुटख लगाइदिनू! 7 त्यसपछि तिमीले अभिषेक गर्ने तेल लिनू, उसको शिरमाथि खन्याउनू र उसलाई अभिषेक गर्नू! 8 अनि तिमीले उसका छोराहरूलाई ल्याउनू र उनीहरूलाई लबेदाहरू पहिराइदिनू! 9 अनि तिमीले उनीहरूलाई अर्थात् हारून र उसका छोराहरूलाई कमरपेटीहरू बाँधिदिनू, र उनीहरूलाई टोपीहरू बाँधिदिनू, अनि सदा रहिरहने विधिको रूपमा पूजाहारी-पद उनीहरूको होस्; अनि तिमीले हारून र उसका छोराहरूलाई अर्पण गर्नू!10 अनि तिमीले त्यो बहर भेट हुने पालको सामु ल्याउनू; अनि हारून र उसका छोराहरूले त्यस बहरको टाउकोमाथि आफ्ना हातहरू राखून्! 11 अनि तिमीले त्यस बहरलाई परमप्रभुको सामु भेट हुने पालको ढोकामा मार्नू! 12 अनि तिमीले त्यस बहरको रगतबाट केही लिएर त्यसलाई आफ्नो औंलाले वेदीका सिङहरूमा लगाउनू, र सबै रगत वेदीको फेदमा खन्याइदिनू! 13 अनि तिमीले आन्द्रा ढाक्ने बोसो, कलेजोमाथिको जालो, दुईवटा मिर्गौला र तीमाथि भएको बोसो लिनू र तिनलाई वेदीमाथि जलाउनू!ग 14 तर त्यस बहरको मासु, त्यसको छाला र त्यसको गोबरचाहिँ छाउनीबाहिर आगोले जलाइदिनू; योचाहिँ पापबलि हो।
15 त्यसपछि तिमीले एउटा भेड़ाक लिनू; अनि हारून र उसका छोराहरूले त्यस भेड़ाको टाउकोमाथि आफ्ना हातहरू राखून्! 16 अनि तिमीले त्यस भेड़ालाई मार्नू; अनि तिमीले त्यसको रगत लिएर चारैतिर वेदीमाथि छर्किदिनू! 17 अनि तिमीले त्यस भेड़ालाई टुक्रा-टुक्रा पारी काट्नू, अनि त्यसका आन्द्राहरू र त्यसका खुट्टाहरू धुनू, र तिनलाई त्यसका टुक्राहरू र त्यसको टाउकोमाथिघ राखिदिनू! 18 अनि तिमीले सम्पूर्ण भेड़ा वेदीमाथि जलाउनूङ; योचाहिँ परमप्रभुका निम्ति एक होमबलि हो; यो परमप्रभुका निम्ति मीठोच बास्ना हुने, आगोद्वारा चढ़ाइएको एक बलिछ हो।
19 त्यसपछि तिमीले अर्को भेड़ाक लिनू; अनि हारून र उसका छोराहरूले त्यस भेड़ाको टाउकोमाथि आफ्ना हातहरू राखून्! 20 अनि तिमीले त्यस भेड़ालाई मार्नू, र त्यसको रगतबाट केही लिएर हारूनको दाहिने कानको टुप्पामा, र उसका छोराहरूका दाहिने कानको टुप्पामा, साथै उनीहरूका दाहिने हातको बूढ़ी औंलामा र उनीहरूका दाहिने खुट्टाको बूढ़ो औंलामा लगाउनू, र त्यो रगत त्यस वेदीमाथि चारैतिर छर्कनू! 21 अनि तिमीले त्यस वेदीमाथि भएको रगतबाट र अभिषेकको तेलबाट केही लिनू, अनि हारूनमाथि र उसका वस्त्रहरू, उसको साथमा उसका छोराहरू र उसका छोराहरूका वस्त्रहरूमाथि छर्कनू; तब ऊ र उसका वस्त्रहरू, उसका छोराहरू र उसका छोराहरूका वस्त्रहरू उसको साथमा पवित्र हुनेछन्। 22 अनि तिमीले त्यस भेड़ाको बोसो, बोसे-पुच्छर, आन्द्रा ढाक्ने बोसो, कलेजोमाथिको जालो, दुईवटा मिर्गौला र तीमाथिको बोसो र दाहिने फिला लिनू; किनकि योचाहिँ समर्पणको भेड़ाक हो। 23 अनि परमप्रभुको सामु राखिएको अखमिरे रोटीहरूको डालोबाट एउटा रोटी, एउटा तेल लगाएको रोटीको फुरौलो र एउटा बाबर लिनू! 24 अनि तिमीले ती सबै कुरा हारूनका हातहरूमा र उसका छोराहरूका हातहरूमा राखिदिनू, र परमप्रभुको सामु डोलाउने भेटीको रूपमा ती कुराहरू डोलाउनू! 25 अनि तिमीले ती कुराहरू उनीहरूका हातहरूबाट लिनू र तिनलाई होमबलिमाथि राखेर परमप्रभुको सामु मीठो बास्नाका निम्ति वेदीमाथि जलाउनू;ज परमप्रभुका निम्ति योचाहिँ आगोद्वारा चढ़ाइएको बलि हो।
26 अनि तिमीले हारूनका निम्ति हुने समर्पणको थुमाबाट छाती लिनू र त्यसलाई परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाउनू! अनि यो तिम्रो भाग हुनेछ। 27 अनि तिमीले डोलाउने भेटीको छाती र उचाल्ने भेटीको फिला, जो डोलाइन्छ र उचालिन्छ, पवित्र पार्नू! ती कुराहरू समर्पणको भेड़ाबाटका, हारूनको हिस्साबाटका र उसका छोराहरूका हिस्साबाटका हुन्। 28 अनि सदा रहिरहने विधिअनुसार योचाहिँ इस्राएलीहरूको तर्फबाट हारून र उसका छोराहरूको भाग ठहरियोस्; किनकि यो उचाल्ने भेटी हो। अनि योचाहिँ इस्राएलीहरूको तर्फबाट चढ़ाइएको तिनीहरूका मेलबलिहरूको उचाल्ने भेटी अर्थात् परमप्रभुका निम्ति तिनीहरूको उचाल्ने भेटी ठहरियोस्! 29 अनि हारूनका पवित्र वस्त्रहरू उसको पछि उसका छोराहरूका होऊन्; ती वस्त्रमा उनीहरूको अभिषेक होस्, र तिनैमा उनीहरू अर्पिएका होऊन्! 30 अनि उसको सट्टामा पूजाहारी हुने छोरा, जब पवित्रस्थानमा सेवा गर्नलाई भेट हुने पालभित्र पस्छ, तब उसले सात दिनसम्म ती वस्त्रहरू लगाओस्!
31 अनि तिमीले समर्पणको भेड़ाक लिनू, र त्यसको मासु पवित्रस्थानमा उसिन्नू! 32 अनि हारून र उसका छोराहरूले त्यस थुमाको मासु र डालोमा भएका रोटीहरू भेट हुने पालको ढोकानिर खाऊन्! 33 अनि जुन कुराहरूद्वारा उनीहरूलाई अर्पण गर्न र उनीहरूलाई पवित्र पार्नका निम्ति प्रायश्चित गरियो, ती कुराहरू उनीहरूले खाऊन्! तर कुनै अन्य मानिसले तीबाट नखाओस्; किनकि ती थोकहरू पवित्र हुन्। 34 अनि समर्पणको बलिको त्यस मासु र ती रोटीहरूबाट बिहानसम्म केही रह्यो भने तिमीले त्यो उब्रेको वस्तु आगोले जलाइदिनू! त्यो नखाइयोस्; किनकि त्यो पवित्र हो। 35 अनि यसरी मैले तिमीलाई आज्ञा गरेका सबै कुराहरूअनुसार तिमीले हारून र उसका छोराहरूसित गर्नू; सात दिनसम्म तिमीले उनीहरूलाई अर्पण गर्नू!
36 अनि हरेक दिन तिमीले प्रायश्चितका निम्ति पापबलिको रूपमा एउटा बहर चढ़ाउनू; अनि वेदीका निम्ति प्रायश्चित गरेपछि तिमीले त्यसलाई शुद्ध पार्नू; त्यसपछि त्यसलाई पवित्र पार्नका निम्ति तिमीले त्यसलाई अभिषेक गर्नू! 37 सात दिनसम्म तिमीले वेदीका निम्ति प्रायश्चित गर्नू र त्यसलाई पवित्र पार्नू! अनि त्यो परमपवित्र वेदी ठहर्नेछ; हरेक जसले त्यस वेदीलाई छुन्छ, त्यो पवित्र हुनेछ।”
दैनिक बलिहरू
38 “अब तिमीले त्यस वेदीमाथि चढ़ाउनुपर्ने कुरा यही हो: एक वर्षका दुईवटा भेड़ाका पाठा, दिन प्रतिदिन, निरन्तर। 39 एउटा पाठो तिमीले बिहान चढ़ाउनू; र अर्को पाठो तिमीले बेलुकी चढ़ाउनू! 40 अनि एउटा पाठाको साथमा हिनझको एक चौथाइ कुटेर बनाएको तेल मिसाएको एपाको दसौं भाग मैदा; अनि अर्घबलिका निम्ति हिनको एक चौथाइ दाखमद्य। 41 अनि अर्को पाठा तिमीले बेलुकी चढ़ाउनू; अनि बिहानको अन्नबलि र त्यसको अर्घबलिअनुसार तिमीले त्यसका निम्ति गर्नू! परमप्रभुका निम्ति यो मीठो बास्नाका निम्ति आगोद्वारा चढ़ाइएको बलि हो। 42 तिमीहरूका पुस्तौंपुस्तासम्म निरन्तर परमप्रभुको सामु भेट हुने पालको ढोकामा होमबलि चढ़ाइयोस्; त्यही ठाउँमा तिमीसँग कुरा गर्नको निम्ति म तिमीहरूलाई भेट्नेछु। 43 अनि त्यहीं नै म इस्राएलीहरूसित भेट गर्नेछु, र त्यो निवासस्थान मेरो महिमाद्वारा पवित्र पारिनेछ। 44 अनि म भेट हुने पाल र वेदीलाई पवित्र पार्नेछु; साथै पूजाहारी-पदमा रहेर मेरो सेवा गर्नलाई म दुवै हारून र उसका छोराहरूलाई पवित्र पार्नेछु। 45 अनि म इस्राएलीहरूको बीचमा वास गर्नेछु र तिनीहरूको परमेश्वर हुनेछु। 46 अनि परमप्रभु तिनीहरूको परमेश्वर म नै हुँ भनी तिनीहरूले जान्नेछन्; किनभने तिनीहरूको बीचमा वास गरूँ भनेर मैले तिनीहरूलाई मिस्र देशबाट निकालेर ल्याएँ। परमप्रभु तिनीहरूको परमेश्वर म नै हुँ।”