पवित्रस्थान र त्यसका सबै सरसामानहरू बनाउने आज्ञा
25
अनि परमप्रभु मोशासँग यसो भन्दै बोल्नुभयो: 2 “इस्राएलीहरूलाई भन, र तिनीहरूले मकहाँ भेटी ल्याऊन्! आफ्नो हृदयले नै स्‍वेच्छापूर्वक दिने हरेक मानिसबाट तिमीहरूले मेरो भेटी लिनू! 3 अनि तिनीहरूबाट तिमीहरूले लिनुपर्ने भेटी यो हो: सुन, चाँदी र पित्तल; 4 अनि नीलो, बैजनी, रातो र मिहिन मलमलको लुगा, अनि बाख्राको ऊन; 5 साथै रातो रङ्गले रङ्गाइएका भेड़ाका छालाहरू, सिलका छालाहरू र बबुलको काठ; 6 अनि उज्यालोका निम्ति तेल; अनि अभिषेक गर्ने तेल र सुगन्धित धूपका निम्ति सुगन्धित द्रव्यहरू; 7 एपोदमा र छाती-पातामा जड़नका निम्ति गोमेदका पत्थरहरू र अरू मणिहरू। 8 अनि तिनीहरूले मेरा निम्ति एउटा पवित्रस्थान बनाऊन्, कि म तिनीहरूको बीचमा वास गरूँ! 9 निवासस्थानको नमुना र त्यसका सबै सरसामानहरूको नमुनाअनुसार अर्थात् मैले तिमीलाई जे देखाएँ, त्यहीअनुसार तिमीहरूले बनाउनू!
वाचाको सन्दुक र कृपा-आसन
10 अनि तिनीहरूले बबुलको काठको एउटा सन्दुक बनाऊन्; त्यसको लमाइ अढ़ाई हात, त्यसको चौड़ाइ डेढ़ हात र त्यसको उचाइ डेढ़ हातको होस्! 11 अनि तिमीले त्यसलाई निखुर सुनले मोहोर्नू, अनि त्यसलाई भित्र र बाहिर मोहोर्नू; अनि त्यसमाथि चारैतिर सुनको बिट बनाउनू! 12 अनि त्यसका निम्ति तिमीले चारवटा सुनका मुन्द्रा ढाल्नू, र तिनलाई त्यसका चार कुनामा लगाउनू; अनि दुईवटा मुन्द्रा त्यसको एकापट्टि र दुईवटा मुन्द्रा त्यसको अर्कापट्टि होऊन्!
13 अनि तिमीले बबुलको काठका डण्‍डाहरू बनाउनू, र तिनलाई सुनले मोहोर्नू! 14 अनि तिमीले ती डण्‍डाहरू सन्दुकका दुवैपट्टि भएका मुन्द्राहरूमा लगाउनू, कि तिनैद्वारा सन्दुक बोकियोस्! 15 डण्‍डाहरू सन्दुकका मुन्द्राहरूमा रहून्; ती त्यहाँबाट ननिकालिऊन्! 16 अनि तिमीले सन्दुकभित्र त्यो साक्षी राख्‍नू, जुन साक्षी म तिमीलाई दिनेछु।
17 अनि तिमीले निखुर सुनको कृपा-आसन बनाउनू; त्यसको लमाइ अढ़ाई हात र त्यसको चौड़ाइ डेढ़ हातको होस्! 18 अनि तिमीले दुईवटा सुनका करूबहरू बनाउनू; कृपा-आसनका दुई छेउमा तिमीले तिनीहरूलाई सुन पिटेर बनाउनू! 19 अनि तिमीले एउटा करूब एक छेउमा र अर्को करूब अर्को छेउमा बनाउनू; त्यस कृपा-आसनबाट नै तिमीहरूले त्यसका दुई छेउमा ती करूबहरू बनाउनू! 20 अनि आफ्ना पखेटाहरूले त्यस कृपा-आसनलाई ढाक्ने गरी करूबहरूले पखेटाहरू माथितिर फैलाएका होऊन्; अनि तिनीहरूका चेहराहरू आमुन्‍ने-सामुन्‍ने होऊन्, करूबहरूका चेहराहरू त्यस कृपा-आसनतिर फर्केका होऊन्! 21 अनि तिमीले त्यस सन्दुकमाथि मास्तिर त्यो कृपा-आसन राख्‍नू; अनि तिमीले त्यस सन्दुकभित्र त्‍यो साक्षी राख्‍नू, जुन साक्षी म तिमीलाई दिनेछु! 22 अनि त्यहीं म तिमीसित भेट गर्नेछु र इस्राएलीहरूका निम्ति मैले तिमीलाई जे आज्ञा दिनु छ, ती सबको विषयमा त्यस कृपा-आसनमाथिबाट साक्षीको सन्दुकमाथि रहेका ती दुई करूबहरूको बीचबाट म तिमीसँग कुरा गर्नेछु।
भेटीका रोटीहरूको टेबल
23 तिमीले बबुलको काठको एउटा टेबल पनि बनाउनू; त्यसको लमाइ दुई हात, त्यसको चौड़ाइ एक हात र त्यसको उचाइ डेढ़ हातको होस्! 24 अनि तिमीले त्यसलाई निखुर सुनले मोहोर्नू, र त्यसका निम्ति चारैतिर सुनको बिट बनाउनू! 25 अनि तिमीले त्यसका निम्ति चारैतिर चार अमल उचाइ भएको बार लगाउनू; त्यसको बारमा तिमीले चारैतिर सुनको बिट बनाउनू! 26 अनि त्यसका निम्ति तिमीले चारवटा सुनका मुन्द्रा बनाउनू; अनि ती मुन्द्राहरू त्यसका चार कुनामा लगाउनू, जो त्यसका चार पाउहरूमा छन्! 27 त्यो टेबल बोक्नलाई डण्‍डाहरू पस्‍ने घरहरूको रूपमा ती मुन्द्राहरू बारको छेउमा होऊन्! 28 अनि तिमीले बबुलको काठका डण्‍डाहरू बनाउनू र तिनलाई सुनले मोहोर्नू, र तिनैद्वारा त्यो टेबल बोकियोस्! 29 अनि तिमीले त्यसका थालहरू, त्यसका चम्चाहरू, त्यसका करुवाहरू र तिनमा अर्घ चढ़ाउने त्यसका कचौराहरू बनाउनू; तिनलाई तिमीले निखुर सुनको बनाउनू! 30 अनि तिमीले सधैंभरि मेरो सामु त्यस टेबलमाथि भेटीका रोटीहरू राख्‍नू!”
सामदान
31 “अनि तिमीले निखुर सुनको एउटा सामदान बनाउनू; त्यो सामदान पिटेर बनाइयोस्; त्यसको डाँठ, त्‍यसका हाँगाहरू, त्यसका कचौराहरू, त्यसका कोपिलाहरू र त्यसका फूलहरू एउटै टुक्राबाट बनाउनू! 32 अनि त्यसका दुवैपट्टिबाट छवटा हाँगाहरू निस्कून्; सामदानको एकापट्टिबाट त्यसका तीन हाँगा र सामदानको अर्कापट्टिबाट त्यसका तीन हाँगा निस्कून्! 33 एउटा हाँगामा कागजी बदामको आकारमा बनिएका तीनवटा कचौराहरू, साथै एक-एक कोपिला र एक-एक फूल होऊन्; अनि अर्को हाँगामा कागजी बदामको आकारमा बनिएका तीनवटा कचौराहरू, साथै एक-एक कोपिला र एक-एक फूल होऊन्; त्यस सामदानबाट निस्केका ती छवटा हाँगाहरूमा यस्तै होऊन्! 34 अनि त्यस सामदानको डाँठमा कागजी बदामको आकारका चारवटा पुष्पकोशहरू, साथै तिनीहरूका कोपिलाहरू र तिनीहरूका फूलहरू होऊन्! 35 अनि त्यसबाट निस्केका छवटा हाँगाहरूअनुसार त्यसका दुई हाँगामुनि एउटा कोपिला, त्यसका अरू दुई हाँगामुनि एउटा कोपिला र त्यसका अरू दुई हाँगामुनि एउटा कोपिला होस्! 36 तिनीहरूका कोपिलाहरू र तिनीहरूका हाँगाहरू एउटै टुक्राबाट बनिऊन्; त्यसका सबै थोकहरू निखुर सुनको, एउटै पिटेर बनाइएको काम होस्! 37 अनि तिमीले त्यसका सातवटा दियाहरू बनाउनू; अनि तिनीहरूले त्यसका दियाहरू बालून्, अनि तिनले त्यसको सामु उज्यालो दिऊन्! 38 अनि त्यसका सलेता मिलाउने चिम्टा र त्यसका अँगार हाल्ने भाँड़ाहरू निखुर सुनका होऊन्! 39 उसले यी सबै सामानहरूसहित त्यो सामदान एक­ किक्‍कर निखुर सुनको बनाओस्! 40 अनि हेर, त्यस पहाड़मा तिमीलाई तिनीहरूको जुन नमुना देखाइएको छ, सोही नमुनामुताबिक तिमीले तिनलाई बनाउनू!”