सिनाई पर्वतमा परमेश्वर र इस्राएलीहरूको बीचको वाचा
24
तब उहाँले मोशालाई भन्नुभयो: “तिमी, साथै हारून, नादाब र अबिहू अनि इस्राएलका बूढ़ा प्रधानहरूमध्ये सत्तरीजना माथि परमप्रभुकहाँ उक्लेर आओ; अनि तिमीहरूले टाढ़ैबाट दण्डवत् गर! 2 अनि मोशा मात्र परमप्रभुको नजिकमा आओस्; तर तिनीहरू नजिक नआऊन्; अनि अरू मानिसहरू ऊसित माथि उक्लेर नआऊन्!”3 तब मोशा आएर परमप्रभुका सबै वचनहरू र सबै नियमहरूक मानिसहरूलाई बताए; अनि सबै मानिसहरूले एउटै सोरमा जवाफ दिएर भने: “परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी गर्नेछौं।” 4 अनि मोशाले परमप्रभुका सबै वचनहरू लेखे; अनि एकाबिहानै उठेर उनले पहाड़को फेदमा एउटा वेदी बनाए, र इस्राएलका बाह्र कुलअनुसार बाह्रवटा खाँबाहरू खड़ा गरे। 5 अनि उनले इस्राएलीहरूका जवानहरूलाई पठाए, जसले परमप्रभुका निम्ति होमबलिहरू चढ़ाए, साथै मेलबलिहरूको रूपमा बहरहरू बलि गरे। 6 अनि मोशाले आधा रगत लिएर बाटाहरूमा हाले र आधा रगतचाहिँ वेदीमाथि छर्किदिए। 7 अनि उनले वाचाको पुस्तक लिएर मानिसहरूलाई पढ़ी सुनाए;ख अनि तिनीहरूले भने: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौं, र आज्ञाकारी हुनेछौं।” 8 अनि मोशाले रगत लिए, त्यसलाई मानिसहरूमाथि छर्किदिए र भने: “हेर, वाचाको यो रगत, जुन वाचा परमप्रभुले यी सबै वचनहरूको सम्बन्धमा तिमीहरूसित बाँध्नुभएको छ।”
9 त्यसपछि मोशा, साथै हारून, नादाब र अबिहू अनि इस्राएलका बूढ़ा प्रधानहरूमध्ये सत्तरीजना माथि उक्लेर गए। 10 अनि तिनीहरूले इस्राएलका परमेश्वरलाई देखे; अनि उहाँका पाउमुनि नीरमणि छापिएको चौताराजस्तो केही थियो, जो स्वच्छतामा आकाशझैं थियो। 11 अनि इस्राएलीहरूका बूढ़ा प्रधानहरूमाथि उहाँले आफ्नो हात राख्नुभएन;ग अनि तिनीहरूले परमेश्वरलाई देखे,घ अनि खाए र पिए।
मोशा सिनाई पर्वतमाथि
12 तब परमप्रभुले मोशालाई भन्नुभयो: “माथि पहाड़मा मकहाँ आऊ र त्यहीं बस; अनि म तिमीलाई ढुङ्गाका पाटीहरू, र तिनीहरूलाई सिकाउनका निम्ति मैले लेखेका व्यवस्था र आज्ञाहरू दिनेछु।” 13 अनि मोशा र तिनका सेवक यहोशू उठे; अनि मोशा माथि परमेश्वरको पर्वतमा उक्लेर गए। 14 अनि उनले बूढ़ा प्रधानहरूलाई भने: “हामी तिमीहरूकहाँ फर्केर नआउन्जेल तिमीहरूले हामीलाई यहीं पखिर्बस; अनि हेर, हारून र हूर तिमीहरूको साथमा छन्; यदि कसैको केही कुरा छ भने त्यो तिनीहरूकहाँ जाओस्!” 15 अनि मोशा माथि पहाड़मा चढ़े; अनि एउटा बादलले पहाड़लाई ढाक्यो। 16 अनि सिनाई पर्वतमाथि परमप्रभुको महिमाले वास गर्यो, अनि छ दिनसम्म बादलले त्यसलाई ढाकिराख्यो; अनि सातौं दिनमा उहाँले बादलको बीचबाट मोशालाई बोलाउनुभयो। 17 अनि इस्राएलीहरूको दृष्टिमा त्यस पहाड़को टाकुरामाथि परमप्रभुको महिमाको दृश्यचाहिँ भस्म पार्ने आगोजस्तो थियो। 18 अनि मोशा बादलको बीचमा पसेर माथि पहाड़मा उक्लेर गए; अनि मोशा त्यस पहाड़मा चालीस दिन र चालीस रात रहिरहे।