क्रमश: नियमहरू
23
“तिमीले झूटा खबर नफैलाउनू! अधर्मी साक्षी हुनका निम्ति तिमीले दुष्‍टलाई साथ नदिनू! 2 खराबी गर्नलाई तिमी बढ़ी संख्याको पछि नलाग्‍नू; बढ़ी संख्याको पछि लागेर न्याय बिगार्नलाई मुद्दामा नबोल्नू! 3 अनि गरिबको मुद्दामा तिमीले उसको पक्ष नलिनू!
4 यदि तिमीले आफ्नो शत्रुको गोरु वा त्यसको गधालाई भड़्किरहेको भेट्यौ भने निश्‍चय नै तिमीले त्यसलाई त्यसकहाँ फर्काएर ल्याउनू!
5 तिमीलाई घृणा गर्ने मानिसको गधालाई तिमीले त्यसको भारीमुनि दबिएको देख्यौ भने त्यसलाई त्यतिकै नछोड़! निश्‍चय तिमीले ऊसित मिलेर त्यसलाई खोलिदिनू!
6 आफ्नो गरिबको मुद्दामा तिमीले उसको न्याय नबिगार्नू! 7 झूटा कुराबाट आफूलाई टाढ़ो राख्‍नू! निर्दोष र धर्मी जनलाई तिमीले हत्या नगर्नू; किनभने म दुष्‍टलाई निर्दोष ठहऱ्याउनेछैनँ। 8 अनि तिमीले घूस नलिनू; किनकि घूसले देख्‍नेहरूलाई पनि अन्धा तुल्याउँछ, र धर्मी जनहरूका वचनहरू उल्टापाल्टा पारिदिन्छ। 9 अनि परदेशीलाई पनि तिमीले थिचोमिचो नगर्नू; किनकि तिमीहरू आफै पनि मिस्र देशमा परदेशी भएका हुनाले परदेशीको हृदय तिमीहरू जान्दछौ।
10 अनि छ वर्षसम्म तिमीले आफ्नो जमिनमा बीउ लगाउनू, र त्यसको उब्जनी बटुल्नू; 11 तर सातौं वर्षमा चाहिँ तिमीले त्यसलाई विश्राम दिनू, अनि त्यसलाई बाँझैं छोड़िदिनू; र तिम्रा जनहरूका गरिबहरूले खाऊन्, र तिनीहरूले जे छोड़्छन्, त्यो मैदानका पशुहरूले खाऊन्! तिम्रो दाखबारी र जैतुनको बारीसित तिमीले त्यस्तै गर्नू!
12 छ दिन तिमीले आफ्नो काम गर्नू र सातौं दिनमा विश्राम लिनू, र तिम्रो गोरु र तिम्रो गधाले विश्राम पाऊन्, र तिम्री दासीको छोरो र परदेशी ताजा होऊन्! 13 अनि मैले तिमीहरूलाई जे भनें, ती सबै कुराहरूमा तिमीहरू होशियार रहो! अनि अरू देवताहरूको नाम नलेओ, र तिनीहरूको नाम तिम्रो मुखबाट नसुनियोस्!
तीनवटा मुख्य चाड़हरू
14 वर्षमा तीनपल्‍ट तिमीले मेरा निम्ति चाड़ मनाउनू! 15 तिमीले अखमिरे रोटीहरूको चाड़ मनाउनू! तिमीले अबीब महिनाको तोकिएको समयमा, मैले तिमीलाई आज्ञा गरेअनुसार सात दिनसम्म अखमिरे रोटी खानू; किनकि त्यही महिनामा तिमी मिस्रबाट निस्केर आयौ। अनि मेरो सामु कोही पनि रित्तो हात देखा नपरोस्! 16 अनि तिमीले खेतबारीमा छरेको तिम्रो परिश्रमको पहिलो फल अर्थात् कटनीको चाड़ मनाउनू; अनि वर्षको अन्तमा, जब तिमी खेतबारीबाट आफ्नो परिश्रम बटुलेका छौ, तब तिमीले अन्‍न भित्र्याउने चाड़ मनाउनू! 17 वर्षमा तीनपल्‍ट तिम्रा सबै पुरुषहरू प्रभु यहोवाको सामु देखा परून्!
18 तिमीले मेरो बलिको रगत खमिर हालेको रोटीसँग नचढ़ाउनू, न ता मेरो बलिको बोसो बिहानसम्म रहोस्! 19 तिम्रो जमिनको पहिलो फलको पहिलो भाग तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको भवनमा ल्याउनू! तिमीले बाख्राको पाठालाई त्यसको माउको दूधमा नपकाउनू!
कनान देशको सम्बन्धमा परमप्रभुका आज्ञाहरू
20 हेर, बाटोमा तिम्रो रक्षा गर्न र तिमीलाई मैले तयार पारेको ठाउँमा पुर्‍याउन म तिम्रो अघि-अघि एउटा दूत पठाउँछु। 21 तिनीदेखि होशियार रह, तिनको वाणी पालन गर! तिनलाई रिस नउठाऊ; किनकि तिनले तिमीहरूका अपराधहरू क्षमा गर्नेछैनन्; किनभने मेरो नाम तिनमा छ। 22 तर तिमीले साँच्‍ची नै तिनको वाणी पालन गर्‍यौ भने, र मैले भनेका सबै कुराहरू गर्‍यौ भने म तिम्रा शत्रुहरूको शत्रु, र तिम्रा विरोधीहरूको विरोधी बन्‍नेछु। 23 किनकि मेरा दूत तिम्रा अघि-अघि जानेछन्, र तिमीलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबूसीहरूकहाँ पुर्‍याउनेछन्; अनि म तिनीहरूलाई मेटिदिनेछु। 24 तिमीले तिनीहरूका देवताहरूलाई दण्‍डवत्‌ नगर्नू, न ता तिनीहरूको पूजा गर्नू, न ता तिनीहरूका कामहरूअनुसार गर्नू! तर तिमीले त तिनीहरूलाई बिलकुलै नष्‍ट पारिदिनू, र तिनीहरूका मूर्तिहरू टुक्रा-टुक्रा पारिदिनू! 25 अनि तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको सेवा गर्नू, र उहाँले तिम्रो रोटी र तिम्रो पानीलाई आशिष्‌ दिनुहुनेछ; अनि तिम्रो बीचबाट म रोगहरू हटाइदिनेछु। 26 तिम्रो देशमा कुनै गर्भ तुहुनेछैन, न कोही बाँझी हुनेछ; म तिम्रो आयुका दिनहरू पूरा गर्नेछु। 27 म तिम्रा अघि-अघि मेरो डर पठाउनेछु, अनि जुन-जुन जातिहरूकहाँ तिमी जान्छौ, ती सबलाई म नाश गर्नेछु, र तिम्रा सबै शत्रुहरूलाई तिमीतर्फ पिठ्यूँ फर्खाएर भाग्‍ने तुल्याउनेछु। 28 अनि म तिम्रा अघि-अघि अरिङ्गाल पठाउनेछु, जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिम्रा सामुबाट धपाइदिनेछन्। 29 म तिनीहरूलाई तिम्रो सामुबाट एकै वर्षमा धपाउनेछैनँ, नत्र ता देश उजाड़ हुनेछ, र तिम्रो विरोधमा मैदानका पशुहरू बढ़्नेछन्। 30 जबसम्म तिमी बढ़ेर त्यस देशलाई अधिकारमा लिँदैनौ, तबसम्म म तिनीहरूलाई तिम्रो सामुबाट अलि-अलि गर्दै धपाउनेछु। 31 अनि म तिम्रा सिमानाहरू लाल समुद्रदेखि पलिस्तीहरूको समुद्रसम्म, र उजाड़स्थानदेखि महानदीसम्म ठहराइदिनेछु; किनकि म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूको हातमा सुम्पिदिनेछु, र तिमीले तिनीहरूलाई आफ्नो सामुबाट धपाउनेछौ। 32 तिमीले न तिनीहरूसित, न ता तिनीहरूका देवताहरूसित कुनै वाचा बाँध्‍नू! 33 तिनीहरू तिम्रा देशमा नबसून्, नत्र ता तिनीहरूले तिमीलाई मेरो विरोधमा पाप गर्न लाउनेछन्; किनभने तिमीले तिनीहरूका देवताहरूको पूजा गर्‍यौ भने निश्‍चय नै त्यो तिम्रा निम्ति पासो बन्‍नेछ।”