दस आज्ञा
20
अनि परमेश्‍वरले यसो भन्दै यी सबै वचनहरू भन्‍नुभयो:
2 “परमप्रभु तिम्रा परमेश्‍वर म नै हुँ; मैले तिमीलाई मिस्र देशबाट, दासत्वको घरबाट निकालेर ल्याएँ। 3 मेरो सामु तिम्रा अरू कुनै ईश्‍वरहरू हुनुहुँदैन!
4 तिमीले आफ्ना निम्ति कुनै खोपेको मूर्ति नबनाउनू, अथवा माथि आकाशमा भएको, तल पृथ्वीमा भएको वा पृथ्वीमुनि पानीभित्र भएको कुनै थोकको प्रतिमूर्ति नबनाउनू!
5 तिमीले तिनीहरूलाई दण्‍डवत्‌ नगर्नू, र तिनीहरूको पूजा नगर्नू; किनकि म, परमप्रभु तिम्रा परमेश्‍वर जलन राख्‍ने ईश्‍वर हुँ; मलाई घृणा गर्नेहरूका सन्तानहरूलाई तिनीहरूका पुर्खाहरूको अधर्मका निम्ति म तेस्रो र चौथो पुस्तासम्म दण्ड दिन्छु; 6 तर मलाई प्रेम गर्नेहरू र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तासम्मलाई म करुणा देखाउँछु।
7 तिमीले परमप्रभु आफ्ना परमेश्‍वरको नाम व्यर्थैमा नलिनू; किनकि जसले उहाँको नाम व्यर्थमा लिन्छ, त्यसलाई परमप्रभुले निर्दोष ठहऱ्याउनुहुनेछैन।
8 विश्रामदिन पवित्र मान्‍नलाई यसको सम्झना राख्‍नू!
9 छ दिन तिमीले परिश्रम गर्नू र आफ्ना सबै काम गर्नू; 10 तर सातौं दिनचाहिँ परमप्रभु तिम्रा परमेश्‍वरको विश्रामदिन हो; यसमा तिमीले कुनै काम नगर्नू – न तिमीले, न तिम्रा छोराले, न तिम्री छोरीले, न तिम्रो कमाराले, न तिम्री कमारीले, न तिम्रा गाईबस्तुले, न तिम्रा मूलढोकाहरूभित्र बस्‍ने तिम्रो परदेशीले; 11 किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू बनाउनुभयो, र सातौं दिनमा उहाँले विश्राम लिनुभयो; यसैकारण परमप्रभुले विश्रामदिनलाई आशिष्‌ दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो।
12 आफ्ना बुबा र आफ्नी आमालाई आदर गर, र जुन देश परमप्रभु तिम्रा परमेश्‍वरले तिमीलाई दिनुहुन्छ, त्यस देशमा तिम्रो आयु लामो होस्!
13 तिमीले हत्या नगर्नू!
14 तिमीले व्यभिचार नगर्नू।
15 तिमीले चोरी नगर्नू!
16 तिमीले आफ्नो छिमेकीको विरोधमा झूटा गवाही नदिनू!
17 तिमीले आफ्नो छिमेकीको घरको लालच नगर्नू, तिमीले आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; न ता उसको कमारा, न उसकी कमारी, न उसको गोरु, न उसको गधा, न ता आफ्नो छिमेकीको कुनै थोकको लालच गर्नू!”
18 अनि सबै मानिसहरूले गर्जनहरू, बिजुलीहरू, तुरहीको आवाज र धूवाँ उठिरहेको पहाड़लाई देखे; अनि जब ती मानिसहरूले देखे, तब तिनीहरू हटे, र टाढ़ामा उभिए। 19 अनि तिनीहरूले मोशालाई भने: “हामीसँग तपाईं बोल्नुहोस्, र हामी सुन्‍नेछौं; तर परमेश्‍वर हामीसँग नबोलून्, नत्र हामी मर्छौं।” 20 अनि मोशाले मानिसहरूलाई भने: “नडराओ; किनकि तिमीहरूलाई जाँच्‍नका निम्ति, साथै परमेश्‍वरको डर तिमीहरूको सम्मुखमा भइरहोस्, कि तिमीहरूले पाप नगर भनेर उहाँ आउनुभएको हो।” 21 अनि मानिसहरू टाढ़ै उभिरहे, अनि मोशाचाहिँ घोर अन्धकारको नजिक गए, जहाँ परमेश्‍वर हुनुहुन्थ्यो।
वेदीको नियम
22 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू: ‘मैले तिमीहरूसित स्वर्गबाट कुरा गरें, सो तिमीहरूले देखेका छौ। 23 तिमीहरूले मेरो साथमा चाँदीका देवताहरू नबनाउनू, न आफ्ना निम्ति सुनका देवताहरू नै बनाउनू! 24 तिमीले मेरा निम्ति एउटा माटोको वेदी बनाउनू, र त्यसमाथि तिम्रा होमबलिहरू र तिम्रा मेलबलिहरू, तिम्रा भेड़ाबाख्रा र तिम्रा बहरहरू बलि चढ़ाउनू! सबै ठाउँहरूमा, जहाँ म आफ्‍नो नामको सम्झना राख्‍नेछु, त्यहाँ म तिमीकहाँ आउनेछु र तिमीलाई आशिष्‌ दिनेछु। 25 अनि तिमी मेरा निम्ति ढुङ्गाको वेदी बनाउँछौ भने तिमीले त्यसलाई काटेको ढुङ्गाले नबनाउनू; किनकि जब तिमीले त्यसमाथि आफ्नो हतियार चलाउँछौ, तब तिमीले त्यसलाई अशुद्ध पार्छौ। 26 अनि तिमी मेरो वेदीमाथि खुड़्किलाहरूमा उक्लेर नजानू, नत्र त्यसमाथि तिम्रो नग्‍नता उघारिनेछ!’ ”