इस्राएलीहरू सिनाई पर्वतको सामु
19
इस्राएलीहरू मिस्र देशबाट निस्केर आएको तेस्रो महिनामा, त्यस दिनमा तिनीहरू सिनाईको उजाड़स्थानमा आइपुगे। 2 किनकि रपीदीमबाट यात्रा गरेर तिनीहरू सिनाईको उजाड़स्थानमा आइपुगे, र त्यस उजाड़स्थानमा पाल टाँगे; अनि इस्राएलले त्यहाँ त्यस पर्वतको सामु छाउनी लगायो। 3 अनि मोशा माथि परमेश्वरकहाँ गए; अनि त्यस पहाड़बाट परमप्रभुले उनलाई यसो भन्दै बोलाए: “तिमीले याकूबको घरानालाई यसो भन, र इस्राएलीहरूलाई बताऊ! 4 ‘मैले मिस्रीहरूलाई के गरें, र कसरी मैले तिमीहरूलाई गरुड़हरूकाक पखेटाहरूमा बोकेर तिमीहरूलाई आफैकहाँ ल्याएँ, सो तिमीहरूले देखेका छौ। 5 यसकारण अब तिमीहरूले साँच्ची नै मेरो कुराख सुन्यौ, र मेरो वाचा पालन गर्यौ भने सबै जातिहरूभन्दा बढ़ीग तिमीहरू नै मेरा निम्ति विशेष धन हुनेछौ; किनकि सारा पृथ्वी मेरै हो। 6 अनि तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ इस्राएलीहरूलाई तिमीले भन्नुपर्ने वचनहरू यिनै हुन्।”7 अनि मोशा आएर मानिसहरूका बूढ़ा प्रधानहरूलाई बोलाए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै वचनहरू तिनीहरूको सामु राखिदिए। 8 अनि ती सबै मानिसहरूले एकसाथ जवाफ दिएर भने: “परमप्रभुले भन्नुभएका सबै कुराहरू हामी गर्नेछौं।” अनि मोशाले मानिसहरूका वचनहरू परमप्रभुकहाँ पुर्याए। 9 तब परमप्रभुले मोशालाई भन्नुभयो: “हेर, मानिसहरूले मैले तिमीसँग कुरा गरेको सुनून्, र सधैंभरि तिमीमाथि विश्वास गरून् भनेर म घना बादलभित्र तिमीकहाँ आउनेछु।” अनि मोशाले परमप्रभुलाई मानिसहरूका वचनहरू बताए। 10 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “मानिसहरूकहाँ जाऊ, र तिनीहरूलाई आज र भोलि पवित्र पार! अनि तिनीहरूले आफ्ना लुगाहरू धोऊन्, 11 र तेस्रो दिनका निम्ति तयार होऊन्; किनकि तेस्रो दिनमा परमप्रभु सबै मानिसहरूका आँखाको सामु सिनाई पर्वतमाथि ओर्लिआउनुहुनेछ। 12 अनि तिमीले यसो भन्दै मानिसहरूका निम्ति वरिपरि बार लगाउनू: ‘आफ्नो विषयमा होशियार रहो! पहाड़माथि नजाओ र यसको सिमाना नछोओ; हरेक जसले यस पहाड़लाई छुन्छ, त्यो निश्चय नै मारियोस्; 13 कुनै हातले यसलाई नछोओस्; तर त्यो निश्चय नै ढुङ्गाले हानियोस् वा काँड़ले छेंड़ियोस्; चाहे त्यो पशु होस् वा मानिस, त्यसले जिउन पाउनेछैन।’ जब तुरही लामो समयसम्म बज्छ, तब तिनीहरू माथि पहाड़मा आऊन्!” 14 अनि मोशा पहाड़बाट ओर्लेर मानिसहरूकहाँ आए, र मानिसहरूलाई पवित्र पारे; अनि तिनीहरूले आफ्ना लुगाहरू धोए। 15 अनि उनले मानिसहरूलाई भने: “तेस्रो दिनका निम्ति तयार होओ! पत्नीहरूकहाँ नजाओ!”
16 अनि तेस्रो दिनमा, बिहान हुँदा यस्तो भयो: गर्जनहरू भए, बिजुलीहरू चम्के, र घना बादलले पहाड़लाई ढाक्यो, अनि अति चर्को गरी तुरहीको आवाज घन्क्यो; यसकारण छाउनीमा भएका सबै मानिसहरू थरथर कामे। 17 अनि मोशाले ती मानिसहरूलाई परमेश्वरसँग भेट गर्न छाउनीबाट बाहिर निकालेर ल्याए; अनि तिनीहरू त्यस पहाड़को फेदमा उभिए। 18 अनि परमप्रभु सिनाई पर्वतमाथि आगोमा भई ओर्लनुभएको हुनाले सारा पहाड़ धूवैंधूवाँले भरिएको थियो; अनि त्यसको धूवाँ भट्टीको धूवाँझैं उठिरहेको थियो, र सारा पहाड़ जोड़सित कामिरहेको थियो। 19 अनि जब तुरहीको आवाज बढ़्दै गयो र अत्यन्त चर्को भयो, तब मोशा बोले र परमेश्वरले उनलाई वाणीद्वारा जवाफ दिनुभयो। 20 अनि परमप्रभु सिनाई पर्वतमाथि, पहाड़को टाकुरामा ओर्लनुभयो; अनि परमप्रभुले मोशालाई पहाड़को टाकुरामा बोलाउनुभयो, अनि मोशा माथि गए। 21 अनि परमप्रभुले मोशालाई भन्नुभयो: “तल जाऊ, र मानिसहरूलाई चेताउनी देऊ, नत्र हेर्नलाई तिनीहरू बार भत्काएर परमप्रभुकहाँ आउनेछन्, र तिनीहरूमध्ये धेरैजना नाश हुनेछन्। 22 अनि परमप्रभुको नजिक आउने पूजाहारीहरूले पनि आफूलाई पवित्र पारून्; नत्र परमप्रभु नाघेर तिनीहरूमाथि जाइलाग्नुहुनेछ।” 23 अनि मोशाले परमप्रभुलाई भने: “मानिसहरू सिनाई पर्वतमाथि उक्लेर आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई यसो भनेर चेताउनी दिनुभएको थियो: ‘पहाड़को वरिपरि बार लगाऊ, र यसलाई पवित्र पार!’ ” 24 अनि परमप्रभुले उनलाई भन्नुभयो: “जाऊ, तल ओर्ल! अनि तिमी माथि आऊ, तिमी र तिमीसँग हारून पनि; तर पूजाहारीहरू र मानिसहरूले परमप्रभुकहाँ उक्लेर आउनका निम्ति बार नभत्काऊन्; नत्र ता उहाँ नाघेर तिनीहरूमाथि जाइलाग्नुहुनेछ।” 25 यसकारण मोशा मानिसहरूकहाँ ओर्लेर गए र तिनीहरूलाई यो कुरा बताइदिए।