येत्रोको सल्‍लाह
18
जब मिद्यानका पूजाहारी अर्थात् मोशाका ससुरा येत्रोले मोशा र उहाँको प्रजा इस्राएलका निम्ति परमेश्‍वरले गर्नुभएको सबै कुरा, र परमप्रभुले इस्राएललाई मिस्रबाट निकालेर ल्याउनुभएको कुरा सुने, 2 तब मोशाले तिनलाई माइत पठाएपछि उनका ससुरा येत्रोले मोशाकी पत्‍नी सिप्पोरालाई 3 र तिनका दुईजना छोराहरूलाई लिए, जसमध्ये एउटाको नाम ‘गेर्शोम’ थियो; किनकि उनले भन्थे: ‘म पराई देशमा परदेशी भएको छु’; 4 अनि अर्कोचाहिँको नाम ‘एलीएजेर’ थियो; किनकि उनले भन्थे: ‘मेरा पिताका परमेश्‍वर मेरो सहायता हुनुहुन्छ; र उहाँले मलाई फाराओको तरवारबाट बचाउनुभयो’। 5 अनि मोशाका ससुरा येत्रो उनका दुईजना छोराहरू र उनकी पत्‍नीसित उजाड़स्थानमा मोशाकहाँ आए, जहाँ उनी परमेश्‍वरको पर्वतमा पाल टाँगेर बसेका थिए। 6 अनि उनले मोशालाई भने: “म, तिम्रो ससुरा येत्रो, साथै तिम्री पत्‍नी र तिनको साथमा तिनका दुईजना छोराहरू तिमीकहाँ आएका छौं।” 7 अनि मोशा आफ्ना ससुरालाई भेट्न बाहिर गए, र उनलाई दण्‍डवत्‌ गरी चुम्बन गरे; अनि तिनीहरूले एक-अर्काका कुशलक्षेम सोधे; अनि उनीहरू पालभित्र आए। 8 अनि इस्राएलका निम्ति परमप्रभुले फाराओ र मिस्रीहरूलाई जे-जे गर्नुभएको थियो, ती सबै कुराहरू, साथै बाटोमा तिनीहरूमाथि आइपरेको सबै कष्‍ट, र परमप्रभुले तिनीहरूलाई छुटाउनुभएको कुरा मोशाले आफ्ना ससुरालाई सुनाए। 9 अनि परमप्रभुले इस्राएलप्रति गर्नुभएको सबै भलाइका निम्ति, जसलाई उहाँले मिस्रीहरूको हातबाट छुटाउनुभएको थियो, येत्रो हर्षित भए। 10 अनि येत्रोले भने: “परमप्रभु धन्यका होऊन्, जसले तिमीहरूलाई मिस्रीहरूको हातबाट र फाराओको हातबाट छुटाउनुभयो, जसले यी मानिसहरूलाई मिस्रीहरूको हातमुनिबाट छुटाउनुभयो! 11 अब परमप्रभु सबै ईश्‍वरहरूभन्दा महान् हुनुहुन्छ भनी म जान्दछु; किनकि जुन कुरामा तिनीहरूले घमण्डसाथ व्यवहार गरेका थिए, त्यसमा उहाँ तिनीहरूभन्दा उच्‍च हुनुभयो।” 12 अनि मोशाका ससुरा येत्रोले परमेश्‍वरका निम्‍ति होमबलि र बलिदानहरू चढ़ाए; अनि हारून र इस्राएलका सबै बूढ़ा प्रधानहरू परमेश्‍वरको सामु मोशाका ससुरासँग रोटी खान आए।
13 अनि भोलिपल्ट यस्तो भयो: मोशा मानिसहरूको न्याय गर्न बसे; अनि बिहानदेखि साँझसम्म मानिसहरू मोशाको छेउमा उभिरहे। 14 अनि जब मोशाका ससुराले, उनले मानिसहरूका निम्ति गरेका सबै कुरा देखे, तब तिनले भने: “यो के कुरा हो, जो तिमीले मानिसहरूका निम्ति गरिरहेका छौ? तिमी किन एकलै बसिरहन्छौ, र सबै मानिसहरू बिहानदेखि बेलुकीसम्म तिम्रो छेउमा उभिरहन्छन्?” 15 तब मोशाले आफ्ना ससुरालाई भने: “किनकि मानिसहरू परमेश्‍वरलाई सोध्‍न मकहाँ आउँछन्। 16 जब तिनीहरूको केही मामिला हुन्छ, तब तिनीहरू मकहाँ आउँछन्, र म एउटा र अर्काको बीचमा न्याय गरिदिन्छु, र म तिनीहरूलाई परमेश्‍वरका नियमहरू र उहाँका व्यवस्थाहरू सुनाइदिन्छु।” 17 अनि मोशाका ससुराले तिनलाई भने: “तिमीले गरेको यो कुरा ठीक छैन। 18 निश्‍चय नै तिमी एकदमै थाक्नेछौ – दुवै तिमी र तिमीसँग भएका ती मानिसहरू; किनभने यो कुरा तिम्रा निम्ति अति गाह्रो छ; तिमी एकलैले यो काम गर्न सक्दैनौ। 19 अब मेरो कुरा सुन! म तिमीलाई सल्‍लाह दिनेछु, र परमेश्‍वर तिम्रो साथमा रहनुहुनेछ; यी मानिसहरूका निम्ति तिमी परमेश्‍वरको सामु होऊ, कि ती मामिलाहरू तिमीले परमेश्‍वरकहाँ पुर्‍याऊ! 20 अनि तिनीहरूलाई नियमहरू र व्यवस्थाहरू सिकाऊ, र तिनीहरूलाई तिनीहरूले हिँड़्नुपर्ने बाटो र तिनीहरूले गर्नुपर्ने काम देखाइदेऊ! 21 साथै सबै मानिसहरूको बीचबाट योग्य मानिसहरू चुन, जो परमेश्‍वरको डर मान्‍ने, सच्‍चा, नीच कमाइलाई घृणा गर्नेहरू होऊन्; अनि उनीहरूलाई तिनीहरूमाथि हजार-हजार, सय-सय, पचास-पचास र दस-दस मानिसमाथिका शासकहरूको रूपमा नियुक्त गर! 22 र हर समय तिनीहरूले मानिसहरूको न्याय गरून्; अनि यस्तो होस्: हरेक ठूलो मामिलाचाहिँ तिनीहरूले तिमीकहाँ ल्याऊन्; तर हरेक सानो ममिलाको न्याय तिनीहरूले नै गरून्; यसरी तिम्रै निम्ति सजिलो हुनेछ, र तिनीहरूले तिमीसित भार उठाउनेछन्। 23 यदि तिमीले यो काम गर्‍यौ भने, र परमेश्‍वरले तिमीलाई त्यस्तै आज्ञा गर्नुभयो भने तिमीले सहन सक्नेछौ, अनि यी सबै मानिसहरू पनि शान्तिसित आफ्नो ठाउँमा जानेछन्।” 24 यसकारण मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका सबै कुरा गरे। 25 अनि मोशाले सारा इस्राएलबाट योग्य मानिसहरूलाई चुने, र उनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दस-दस मानिसमाथिका शासकहरूको रूपमा ती मानिसहरूका अगुवाहरू बनाए। 26 अनि हर समय तिनीहरूले मानिसहरूको न्याय गरे; कठिन मामिलाहरू तिनीहरूले मोशाकहाँ ल्याए, तर हरेक ससानो मामिलाको न्याय तिनीहरू आफैले गरे। 27 अनि मोशाले आफ्ना ससुरालाई बिदा दिए; अनि तिनी आफ्नै देशको बाटो लागे।