चट्टानबाटको पानी
17
अनि परमप्रभुको आज्ञाअनुसार इस्राएलीहरूको सारा समुदायले तिनीहरूका यात्राहरूमुताबिक सीनको उजाड़स्थानबाट यात्रा गरेर रपीदीममा पाल टाँगेर बसे; अनि त्यहाँ मानिसहरूका निम्ति पिउनलाई पानी थिएन। 2 यसैकारण मानिसहरूले मोशासँग झगड़ा गरेर भने: “तपाईंहरू हामीलाई पानी दिनुहोस्, र हामी पिउन पाऔं!” अनि मोशाले तिनीहरूलाई भने: “तिमीहरू किन मसँग झगड़ा गर्छौ? तिमीहरू किन परमप्रभुलाई परीक्षा गर्छौ?” 3 अनि त्यहाँ मानिसहरू पानीका निम्ति तिर्खाए; अनि मोशाको विरोधमा गनगन गर्दै मानिसहरूले भने: “हामीलाई, हाम्रा छोराछोरीहरूलाई र हाम्रा गाईबस्तुहरूलाई तिर्खाले मार्नका निम्ति किन तपाईंले हामीलाई मिस्रबाट निकालेर ल्याउनुभयो?” 4 अनि मोशाले यसो भन्दै परमेश्‍वरलाई पुकारे: “यी मानिसहरूलाई म के गरूँ? एकैछिनमा तिनीहरूले मलाई ढुङ्गाले हान्‍नेछन्।” 5 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “इस्राएलका बूढ़ा प्रधानहरूमध्ये कतिलाई साथमा लिएर मानिसहरूको अघि जाऊ; अनि जुन लौरोले तिमीले नील नदीलाई हिर्काएका थियौ, तिम्रो त्यो लौरो पनि आफ्नो हातमा लिएर जाऊ! 6 हेर, म त्यहाँ तिम्रो अघिल्तिर होरेबको चट्टानमाथि उभिनेछु; अनि तिमीले त्यस चट्टानलाई हिर्काउनू, र त्यसबाट पानी निस्कनेछ, कि मानिसहरूले पिऊन्।” अनि मोशाले इस्राएलका बूढ़ा प्रधानहरूका आँखाको सामु त्यस्तै गरे। 7 अनि उनले त्यस ठाउँको नाम ‘मस्सा’ र ‘मरीबा’ राखे; किनकि इस्राएलीहरूले झगड़ा गरे, र ‘परमप्रभु हाम्रा बीचमा हुनुहुन्छ कि हुनुहुन्‍न?’ भन्दै परमप्रभुलाई परीक्षा गरे।
अमालेकीहरूमाथिको विजय
8 तब अमालेक आयो, र रपीदीममा इस्राएलसँग लड़ाइँ गर्‍यो। 9 अनि मोशाले यहोशूलाई भने: “हाम्रा निम्ति मानिसहरू चुन, र गएर अमालेकसँग लड़ाइँ गर! भोलि म परमेश्‍वरको लौरो आफ्नो हातमा लिएर पहाड़को टाकुरामा उभिनेछु।” 10 अनि यहोशूले मोशाले तिनलाई भनेझैं गरे, र अमालेकसँग लड़ाइँ गरे; अनि मोशा, हारून र हूर उक्लेर पहाड़को टाकुरामाथि गए। 11 अनि यस्तो भयो: मोशाले आफ्नो हात माथि उठाइराख्दा इस्राएलले जित्थ्यो, तर उनले आफ्नो हात तल झार्दा अमालेकले जित्थ्यो। 12 तर मोशाका हातहरू गले; अनि तिनीहरूले एउटा ढुङ्गा ल्याएर उनको मुनि राखिदिए, अनि उनी त्यसमाथि बसे; अनि हारून र हूरले उनका हातहरू उठाइराखे, एकजनाले एकपट्टि र अर्काले अर्कापट्टि; अनि उनका हातहरू घाम नअस्ताउन्जेल स्थिर रहे। 13 अनि यहोशूले अमालेक र त्यसका मानिसहरूलाई तरवारको धारले पराजित गरे। 14 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “सम्झनाका निम्ति यो कुरा एउटा पुस्तकमा लेख, र यो कुरा यहोशूका कानमा सुनाइदेऊ; किनकि म अमालेकको सम्झना आकाशमुनिदेखि बिलकुलै मेटिदिनेछु।” 15 अनि मोशाले एउटा वेदी बनाए र त्यसको नाम ‘यहोवा-निस्सी’ राखे; 16 अनि उनले भने: “यसैले परमप्रभुको सिंहासनमाथि हात राखेर म भन्छु: अमालेकसँग परमप्रभुको लड़ाइँ पुस्तौंपुस्तासम्म चलिरहनेछ।”