बट्टाई चराहरू र मन्‍ना
16
अनि तिनीहरू एलीमबाट हिँड़े, र मिस्र देशबाट निस्केर आएको दोस्रो महिनाको पन्ध्रौं दिनमा इस्राएलीहरूको सारा समुदाय एलीम र सिनाईको बीचमा भएको सीनको उजाड़स्थानमा आइपुग्यो। 2 अनि त्यस उजाड़स्थानमा इस्राएलीहरूको सम्पूर्ण समुदायले मोशा र हारूनको विरोधमा गनगन गर्‍यो। 3 अनि इस्राएलीहरूले उनीहरूलाई भने: “मिस्र देशमा हामी परमप्रभुको हातद्वारा मरेका भए असल हुनेथियो, जब हामी मासुका कराहीहरूको छेउमा बस्थ्यौं, र अघाउन्जेल रोटी खान्थ्यौं; किनभने तपाईंहरूले यस सारा समुदायलाई भोकैले मार्नका निम्ति हामीलाई यस उजाड़स्थानमा ल्याउनुभएको छ।” 4 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट रोटी बर्साउनेछु; अनि यी मानिसहरू बाहिर जाऊन् र हरेक दिन त्यस दिनको भाग बटुलून्, र तिनीहरू मेरो व्यवस्थाअनुसार हिँड़्छन् कि हिँड़्दैनन् भनी म तिनीहरूलाई जाँच गर्न सकूँ। 5 अनि छैटौं दिनमा यस्तो होस्: जे तिनीहरूले भित्र ल्याउँछन्, त्यो तिनीहरूले तयार पारून्; अनि त्यो तिनीहरूले दिनदिनै बटुलेको भन्दा दोबर होस्!” 6 अनि मोशा र हारूनले सबै इस्राएलीहरूलाई भने: “परमप्रभुले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुभएको हो भनी तिमीहरूले बेलुकीपख जान्‍नेछौ। 7 अनि बिहानीपख तिमीहरूले परमप्रभुको महिमा देख्‍नेछौ; किनकि परमप्रभुको विरोधमा गरेका तिमीहरूका गनगनहरू उहाँले सुन्‍नुहुन्छ। अनि हामी को हौं, र तिमीहरू हाम्रो विरोधमा गनगनाउँछौ?” 8 अनि मोशाले भने: “जब परमप्रभुले तिमीहरूलाई यस साँझ खानका निम्ति मासु र बिहानीपख अघाउन्जेल रोटी दिनुहुनेछ, तब यो हुनेछ; किनकि परमप्रभुले उहाँको विरोधमा गरेका तिमीहरूका गनगनहरू सुन्‍नुहुन्छ। अनि हामी को हौं र? तिमीहरूका गनगनहरू त हाम्रो विरोधमा होइन, तर परमप्रभुको विरोधमा भएका छन्।” 9 अनि मोशाले हारूनलाई भने: “इस्राएलीहरूको सारा समुदायलाई भन: परमप्रभुको सामु नजिक आओ; किनकि उहाँले तिमीहरूका गनगनहरू सुन्‍नुभएको छ।” 10 अनि यस्तो भयो: हारूनले इस्राएलीहरूको सारा समुदायसित कुरा गर्दै-गर्दा तिनीहरूले उजाड़स्थानतिर हेरे; अनि हेर, परमप्रभुको महिमा बादलमा देखा पर्‍यो। 11 तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 12 “मैले इस्राएलीहरूका गनगनहरू सुनेको छु; तिनीहरूलाई यसो भन: यस बेलुकी तिमीहरूले मासु खानेछौ र बिहानीपख तिमीहरू रोटीले अघाउनेछौ; अनि ‘तिमीहरूका परमेश्‍वर परमप्रभु म नै हुँ’ भनी तिमीहरूले जान्‍नेछौ।”
13 अनि यस्तो भयो: बेलुकीपख बट्टाई चराहरू आएर छाउनीलाई ढाकिदिए; अनि बिहानचाहिँ छाउनीका चारैतिर शीत पर्‍यो। 14 अनि त्यो परेको शीत सुक्‍यो, तब हेर, उजाड़स्थानको सतहभरि मसिना गोला-गोला थोकहरू, तुसारोजत्रा साना चीजहरू भुइँभरि रहेछन्! 15 अनि जब इस्राएलीहरूले यो देखे, तब तिनीहरूले एक-अर्कालाई भने: “यो के हो?”; किनकि त्यो के थियो, तिनीहरूले जानेका थिएनन्। अनि मोशाले तिनीहरूलाई भने: “यो त्यो रोटी हो, जुन रोटी परमप्रभुले तिमीहरूलाई खानका निम्ति दिनुभएको हो। 16 परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: आ-आफ्नो खुराकअनुसार यसबाट हरेक मानिसले बटूल! अर्थात् तिमीहरूका जनहरूको संख्यामुताबिक हरेकका निम्ति एक ओमेर बटुल! तिमीहरू हरेकले आफ्नो पालमा भएकाहरूका निम्ति लैजाओ!” 17 तब इस्राएलीहरूले त्यस्तै गरे; अनि कतिले धेरै, कतिले थोरै बटुले। 18 अनि जब तिनीहरूले ओमेरले नापे, तब जसले धेरै बटुलेको थियो, त्यसको ज्यादा भएन, अनि जसले थोरै बटुलेको थियो, त्यसको कम भएन; तिनीहरू हरेकले आफ्नो खुराकअनुसार बटुले। 19 अनि मोशाले भने: “यसबाट कसैले पनि केही बिहानसम्म राखिनछोड़ोस्!” 20 तरै पनि तिनीहरूले मोशाको कुरा सुनेनन्; तर तिनीहरूमध्ये कसै-कसैले त्यसबाट केही बिहानसम्म राखे; अनि त्यसमा कीरा पर्‍यो, र गनायो; अनि मोशा तिनीहरूसित क्रोधित भए। 21 अनि हरेक बिहान तिनीहरू हरेकले आफ्नो खुराकअनुसार त्यो बटुल्थे; अनि घाम ततो भएपछि त्यो पग्लन्थ्यो।
22 अनि यस्तो भयो: छैटौं दिनमा तिनीहरूले दोबर अर्थात् हरेकका निम्ति दुई ओमेर रोटी बटुले; अनि समुदायका सबै अगुवाहरू आएर मोशालाई त्‍यो बताए। 23 अनि उनले तिनीहरूलाई भने: “परमप्रभुले भन्‍नुभएको कुरा यही हो: भोलिचाहिँ विश्रामदिन हो, परमप्रभुका निम्ति पवित्र विश्राम; तिमीहरूले जे पकाउन चाहन्छौ, पकाओ; अनि जे उमाल्न चाहन्छौ, उमाल; र जे उब्रिन्छ, त्यो सबै बिहानसम्म जोगाइराख्‍नलाई आफ्ना निम्ति राखिछोड़!” 24 अनि मोशाले आज्ञा गरेअनुसार तिनीहरूले त्यसलाई बिहानसम्म राखे; अनि त्यो गनाएन, न ता त्यसमा कीरा नै पर्‍यो। 25 अनि मोशाले भने: “आज यो खाओ; किनकि आज परमप्रभुका निम्ति विश्राम हो; आज तिमीहरूले यसलाई मैदानमा पाउनेछैनौ। 26 छ दिनसम्म तिमीहरूले यसलाई बटुल्नू! तर सातौं दिनमा चाहिँ, जो विश्रामदिन हो, केही पाइनेछैन।” 27 अनि यस्तो भयो: सातौं दिनमा कति मानिसहरू बटुल्नलाई बाहिर गए, तर तिनीहरूले केही पाएनन्। 28 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “तिमीहरू कहिलेसम्म मेरा आज्ञाहरू र मेरा व्यवस्थाहरू पालन गर्न इन्कार गर्छौ? 29 हेर, परमप्रभुले तिमीहरूलाई विश्रामदिन दिनुभएको छ; यसैकारण उहाँले छैटौं दिनमा तिमीहरूलाई दुई दिनको रोटी दिनुहुन्छ; तिमीहरू हरेक आफ्नै ठाउँमा बस! सातौं दिनमा कोही पनि आफ्नो ठाउँबाट बाहिर नजाओस्!” 30 तब मानिसहरूले सातौं दिनमा विश्राम लिए। 31 अनि इस्राएलको घरानाले त्यसको नाम ‘मन्‍ना’ राखे; अनि त्यो धनियाँको बीउजस्तो थियो, सेतो; अनि त्यसको स्वादचाहिँ मह लगाएको बाबरको जस्तो थियो।
32 अनि मोशाले भने: “परमप्रभुले आज्ञा गर्नुभएको कुरा यही हो: आफ्ना भावी पुस्ताहरूका निम्ति जोगाइराख्‍नलाई एक ओमेर मन्‍ना भरिराख; र तिनीहरूले त्यो रोटी देखून्, जुन रोटी मैले तिमीहरूलाई मिस्र देशबाट निकालेर ल्याउँदा उजाड़स्थानमा तिमीहरूलाई खुवाएको थिएँ।’ ” 33 अनि मोशाले हारूनलाई भने: “एउटा भाँड़ा लेऊ, र त्यसमा एक ओमेर मन्‍ना हाल, अनि आफ्ना भावी पुस्ताहरूका निम्ति जोगाइराख्‍नलाई परमप्रभुको सामु राखिदेऊ!” 34 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार हारूनले त्‍यो, त्यसलाई जोगाइराख्‍न साक्षीको अघिल्तिर राखिदिए। 35 अनि बसोबास गरेको देशमा नआइपुगुन्जेल इस्राएलीहरूले चालीस वर्षसम्म मन्‍ना खाए; कनान देशको सिमानामा नआइपुगुन्जेल तिनीहरूले मन्‍ना खाए। 36 अनि ओमेरचाहिँ एपाको दसौं भाग हो।