मोशाको स्तुतिगान
15
तब मोशा र इस्राएलीहरूले परमप्रभुका निम्ति यो गीत गाएर यसो भने:“परमप्रभुका निम्ति म गीत गाउनेछु; किनभने उहाँ अति उच्चक हुनुभएको छ; घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रभित्र फालिदिनुभएको छ।
2 याहख मेरा बल र गीत हुनुहुन्छ; अनि उहाँ मेरा उद्धार हुनुभएको छ; उहाँ मेरा परमेश्वर हुनुहुन्छ; अनि म उहाँका निम्ति एउटा वासस्थान बनाउनेछु;ग मेरा पिताका परमेश्वर; अनि म उहाँलाई उच्च तुल्याउनेछु।
3 परमप्रभु योद्धा हुनुहुन्छ; उहाँको नाम ‘यहोवा’घ हो।
4 फाराओका रथहरू र तिनका सेनालाई उहाँले समुद्रभित्र फालिदिनुभयो; तिनका चुनिएका कप्तानहरू पनि लाल समुद्रमा डुबाइए।
5 गहिरा-गहिरा पानीले तिनीहरूलाई छोपिदिए; तिनीहरू ढुङ्गाझैं गहिराइमा डुबे।
6 हे परमप्रभु, तपाईंको दाहिने हात सामर्थ्यमा महिमावान् भएको छ; हे परमप्रभु, तपाईंको दाहिने हातले शत्रुलाई चकनाचूर पारेको छ।
7 अनि तपाईंको सर्वश्रेष्ठताको महान्तामा तपाईंले आफ्नो विरोधमा उठ्नेहरूलाई पछार्नुभएको छ; तपाईंले आफ्नो बल्दो रिस पठाउनुभयो, जसले तिनीहरूलाई नलका डाँठहरूलाई झैं भस्म पार्यो।
8 अनि तपाईंको नाकको फुत्कारले पानीहरू थाक लागे, बाढ़हरू थुप्रो लागेर सीधा खड़ा भए; समुद्रको मुटुमा गहिरो पानी जम्यो।
9 शत्रुले भन्थ्यो: ‘म पिछा गर्नेछु, म भेट्टाउनेछु, म लुटको माल बाँड़्नेछु, तिनीहरूमा मेरो लालसा पूरा हुनेछ; म मेरो तरवार थुत्नेछु, मेरो हातले तिनीहरूलाई नाश पार्नेछ।’
10 तपाईंले आफ्नो बतास फुक्नुभयो; समुद्रले तिनीहरूलाई छोपिदियो; सिसाझैं तिनीहरू शक्तिशाली पानीमा डुबे।
11 हे परमप्रभु, ईश्वरहरूको बीचमा तपाईंजस्तो को छ र? तपाईंजस्तो पवित्रतामा महिमान्वित, प्रशंसाहरूमा भययोग्य, अचम्मका काम गर्ने को छ र?
12 तपाईंले आफ्नो दाहिने हात पसार्नुभयो; पृथ्वीले तिनीहरूलाई निलिदियो।
13 तपाईंले दाम तिरेर छुटाउनुभएका मानिसहरूलाई तपाईंले आफ्नो करुणाले डोर्याउनुभयो; तपाईंले उनीहरूलाई आफ्नो सामर्थ्यले आफ्नो पवित्र वासस्थानमा डोर्याउनुभयो।
14 जातिहरूले सुन्नेछन्, र भयभीत हुनेछन्; पलिस्ती देशका बासिन्दाहरूलाई व्यथाले पक्रनेछ।
15 तब एदोमका अधिपतिहरू विचलित हुनेछन्; मोआबका शक्तिशाली मानिसहरूलाई थरहरीले पक्रनेछ; कनान देशका सारा बासिन्दाहरू पग्लनेछन्।
16 हे परमप्रभु, जबसम्म तपाईंका जनहरू पार हुँदैनन्, जबसम्म तपाईंले किन्नुभएका यी जनहरू पार हुँदैनन्, तबसम्म डर र त्रास तिनीहरूमाथि परिरहनेछ; तपाईंको पाखुराको महान्ताले गर्दा तिनीहरू ढुङ्गाझैं अचल हुनेछन्।
17 तपाईंले उनीहरूलाई भित्र ल्याउनुहुनेछ र उनीहरूलाई तपाईंको निज सम्पत्तिरूपीङ पर्वतमा रोप्नुहुनेछ; त्यस ठाउँमा, जसलाई तपाईंले, हे परमप्रभु, आफ्नो वासस्थान बनाउनुभएको छ; त्यस पवित्रस्थानमा, जसलाई, हे प्रभु, तपाईंका हातहरूले स्थापित गरेका छन्।
18 परमप्रभुले सदा-सर्वदा राज्य गर्नुहुनेछ।”
19 किनकि फाराओको घोड़ा तिनका रथहरू र तिनका घोड़चढ़ीहरूको साथमा समुद्रभित्र गयो; अनि परमप्रभुले समुद्रको पानी तिनीहरूमाथि फेरि फर्काएर ल्याउनुभयो; तर इस्राएलीहरू समुद्रको बीचमा सुक्खा जमिनै-जमिन हिँड़ेर गए। 20 अनि हारूनकी दिदी मरियम भविष्यवक्तिनीले आफ्नो हातमा एउटा खैंजड़ी लिइन्; अनि सबै स्त्रीहरू खैंजड़ीहरू लिएर र नाच्दैच तिनको पछि-पछि लागे।छ 21 अनि मरियमले तिनीहरूलाई जवाफ दिइन्:
“परमप्रभुका निम्ति गाओ; किनकि उहाँ अति उच्चज हुनुभएको छ; घोड़ा र त्यसको सवारलाई उहाँले समुद्रभित्र फालिदिनुभएको छ।”
मारा र एलीम हुँदै गएको यात्रा
22 तब मोशाले इस्राएललाई हिँड़ाएर लाल समुद्रबाट निकालेर ल्याए, र तिनीहरू शूरको उजाड़स्थानतिर लागे; अनि तिनीहरू उजाड़स्थानमा तीन दिन हिँड़े, तर कुनै पानी भेट्टाएनन्। 23 अनि तिनीहरू मारामा आइपुगे; तर तिनीहरूले माराको पानी पिउन सकेनन्; किनकि त्यो तीतो थियो; यसैकारण त्यसको नाम ‘मारा’झ भयो। 24 अनि ती मानिसहरूले मोशाको विरोधमा यसो भन्दै गनगन गर्न थाले: “हामी के पिऔं?” 25 अनि उनले परमप्रभुलाई पुकारे; अनि परमप्रभुले उनलाई एउटा रूखञ देखाउनुभयो; अनि जब उनले त्यसलाई त्यस पानीमा फाले, तब त्यो पानी मीठो भयो। त्यहाँ उहाँले तिनीहरूका निम्ति एउटा विधि र एउटा नियम बनाउनुभयो; अनि त्यहाँ उहाँले तिनीहरूलाई जाँच्नुभयो, 26 र भन्नुभयो: “यदि तिमीले परमप्रभु आफ्ना परमेश्वरको सोर ध्यानसित सुन्यौ, र उहाँको दृष्टिमा जे ठीक छ, सो गर्यौ, अनि उहाँका आज्ञाहरूपट्टि कान लगायौ र उहाँका सबै नियमहरू मान्यौ भने जुन रोगहरू मैले मिस्रीहरूमाथि ल्याएको थिएँ, ती रोगहरूमध्ये एउटै पनि म तिमीमाथि ल्याउनेछैनँ; किनकि तिमीलाई निको पार्ने परमप्रभु म नै हुँ।” 27 अनि तिनीहरू एलीममा आइपुगे, जहाँ बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रूखहरू थिए; अनि तिनीहरूले त्यहीं पानीनिर पाल टाँगे।