लाल समुद्र
14
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 2 “इस्राएलीहरूलाई भन, कि तिनीहरू फर्केर मिग्दोल र समुद्रको बीचमा पीहहीरोतको अगाड़ि, बाल-सपोनको सामुन्ने पाल टाँगून्! त्यसको अघिल्तिर समुद्रको किनारमा तिमीहरूले पाल टाँग्नू! 3 किनकि फाराओले इस्राएलीहरूको विषयमा भन्नेछ: ‘तिनीहरू त देशभित्रै अल्मलिएर बसेका छन्; उजाड़स्थानले तिनीहरूलाई थुनिराखेको छ।’ 4 अनि म फाराओको हृदय कठोर पार्नेछु, र त्यसले तिनीहरूलाई पिछा गर्नेछ; अनि फाराओ र त्यसको सारा सेनामा मेरो महिमा हुनेछक, र मिस्रीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्।” अनि तिनीहरूले त्यस्तै गरे।5 तब ‘मानिसहरू भागे’ भनेर मिस्रको राजालाई सुनाइयो; अनि ती मानिसहरूको सम्बन्धमा फाराओ र तिनका कर्मचारीहरूको मन बदली भयो; अनि तिनीहरूले भने: “हामीले किन यस्तो गर्यौं? हामीले त इस्राएललाई हाम्रो सेवा गर्नुदेखि छुटाएर जान दियौं!” 6 अनि तिनले आफ्नो रथ तयार पारे र आफ्ना मानिसहरूलाई साथमा लिए; 7 अनि तिनले छ सय चुनिएका रथहरू र मिस्रका सबै रथहरू, अनि ती सबैमाथि बसालिएका कप्तानहरूलाई लिए। 8 अनि परमप्रभुले मिस्रका राजा फाराओको हृदय कठोर पार्नुभयो, र तिनले इस्राएलीहरूको पिछा गरे; अनि इस्राएलीहरूचाहिँ निस्केर निर्धक्कसाथख गइरहेका थिए। 9 तर मिस्रीहरूले – फाराओका सबै घोड़ा र रथहरू, तिनका घोड़चढ़ीहरू र तिनका सेनाले – उनीहरूको पिछा गरे, र उनीहरूलाई समुद्रको किनारमा, पीहहीरोतको छेउमा, बाल-सपोनको सामुन्ने पाल टाँगेर बसेकैमा भेट्टाए। 10 अनि जब फाराओ नजिक आए, तब इस्राएलीहरूले आफ्ना आँखा उठाए; अनि हेर, मिस्रीहरू तिनीहरूको पछि-पछि आइरहेका रहेछन्! अनि तिनीहरू साह्रै डराए; अनि इस्राएलीहरूले परमप्रभुलाई पुकारे। 11 अनि तिनीहरूले मोशालाई भने: “के मिस्रमा चिहानहरू नभएर तपाईंले हामीलाई यस उजाड़स्थानमा मर्नका निम्ति ल्याउनुभयो? हामीलाई मिस्रबाट निकालेर तपाईंले हामीसित किन यस्तो व्यवहार गर्नुभएको? 12 के मिस्रमा हामीले तपाईंलाई यही कुरा भनेनौं र, ‘हामीलाई छोड़िदिनुहोस्, र हामी मिस्रीहरूकै सेवा गर्नेछौं?’ किनकि यस उजाड़स्थानमा मर्नुभन्दा त मिस्रीहरूकै सेवा गर्नु हाम्रा निम्ति असल हुनेथियो।” 13 अनि मोशाले मानिसहरूलाई भने: “नडराओ, स्थिर भई खड़ा होओ,ग अनि परमप्रभुको उद्धारलाई हेर, जो उहाँले आज तिमीहरूलाई देखाउनुहुनेछ; किनकि जुन मिस्रीहरूलाई तिमीहरूले आज देखेका छौ, तिनीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ। 14 परमप्रभु तिमीहरूका निम्ति लड़्नुहुनेछ, र तिमीहरू चुपचाप बस!”
15 तब परमप्रभुले मोशालाई भन्नुभयो: “तिमी मलाई किन पुकार्छौ? इस्राएलीहरूलाई अघि बढ़्ने आज्ञा देऊ! 16 तर तिमीले चाहिँ आफ्नो लौरो उठाऊ, आफ्नो हात समुद्रमाथि पसार र त्यसलाई दुई भाग पारिदेऊ; र इस्राएलीहरू समुद्रको बीचबाट भएर सुक्खा जमिनै-जमिन जाऊन्! 17 अनि म, हेर, म नै मिस्रीहरूका हृदय कठोर पार्नेछु, र तिनीहरू तिमीहरूको पछि-पछि आउनेछन्; अनि फाराओ र त्यसको सेना, त्यसका रथहरू र त्यसका घोड़चढ़ीहरूद्वारा मेरो महिमा हुनेछ।घ 18 अनि जब फाराओ, त्यसका रथहरू र त्यसका घोड़चढ़ीहरूमा मेरो महिमा हुनेछघ, तब मिस्रीहरूले ‘परमप्रभु म नै हुँ’ भनी जान्नेछन्।”
19 तब इस्राएलको दलकोङ अघि-अघि हिँड़्नुहुने परमेश्वरको दूत त्यहाँबाट हटेर तिनीहरूको पछिल्तिर जानुभयो; अनि बादलको खाँबो तिनीहरूको अघिल्तिरबाट हटेर तिनीहरूको पछिल्तिर उभियो; 20 अनि त्यो मिस्रीहरूको दल र इस्राएलीहरूको दलकोङ बीचमा आयो; अनि मिस्रीहरूका निम्ति त्यो बादल र अन्धकार बन्यो, तर यिनीहरूलाई चाहिँ त्यसले राति उज्यालो दियो; यसकारण रातभरि एउटा दल अर्को दलको नजिक आएन। 21 अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे; अनि परमप्रभुले रातभरि शक्तिशाली पूर्वीय हावाद्वारा समुद्रलाई पछिल्तिर हटाइदिनुभयो र समुद्रलाई सुक्खा जमिन बनाउनुभयो; अनि पानी दुई भाग पारियो। 22 अनि इस्राएलीहरू सुक्खा जमिनै-जमिन समुद्रको बीचमा पसे; अनि पानीचाहिँ उनीहरूका निम्ति उनीहरूको दाहिने हातपट्टि र उनीहरूको देब्रे हातपट्टि पर्खालझैं खड़ा थियो। 23 तब मिस्रीहरूले पिछा गरे, र फाराओका सबै घोड़ाहरू, तिनका रथहरू र तिनका घोड़चढ़ीहरू उनीहरूको पछि-पछि समुद्रको बीचमा पसे। 24 अनि यस्तो भयो: रातको अन्तिमच पहरमा परमप्रभुले आगो र बादलको खाँबाबाट मिस्रीहरूको सेनालाई हेर्नुभयो, र मिस्रीहरूको सेनालाई अस्तव्यस्त पार्नुभयो। 25 अनि उहाँले तिनीहरूका रथहरूका चक्काहरू फुस्काइदिनुभयो र तिनलाई कठिनसँग चल्ने पारिदिनुभयो; यसकारण मिस्रीहरूले भने: “आओ, हामी इस्राएलको सामुबाट भागौं; किनभने उनीहरूको पक्षमा भई परमप्रभु मिस्रीहरूको विरोधमा लड़्दै हुनुहुन्छ।”
26 तब परमप्रभुले मोशालाई भन्नुभयो: “आफ्नो हात समुद्रमाथि पसार, र पानी फेरि मिस्रीहरूमाथि, तिनीहरूका रथहरू र तिनीहरूका घोड़चढ़ीहरूमाथि फर्केर आओस्!” 27 अनि मोशाले आफ्नो हात समुद्रमाथि पसारे, र बिहानीपखतिर समुद्र फेरि आफ्नो पहिलेको बहाउमा फर्केर आयो; अनि मिस्रीहरू त्यसको सामुबाट भागे; तर परमप्रभुले मिस्रीहरूलाई झट्कारेर समुद्रको बीचमै फालिदिनुभयो। 28 अनि पानी फर्केर आयो, अनि रथहरू, घोड़चढ़ीहरू र उनीहरूको पछि-पछि समुद्रभित्र आएका फाराओको सारा सेनालाई छोपिदियो; र तिनीहरूमध्ये एउटै पनि उम्केन। 29 तर इस्राएलीहरू समुद्रको बीचमा सुक्खा जमिनै-जमिन हिँड़े; अनि पानीचाहिँ उनीहरूको दाहिने हातपट्टि र उनीहरूको देब्रे हातपट्टि पर्खाल भयो। 30 यसरी परमप्रभुले त्यस दिन इस्राएललाई मिस्रीहरूको हातबाट बचाउनुभयो: अनि इस्राएलले मिस्रीहरूलाई समुद्रको किनारमाथि मरिराखेका देखे। 31 अनि जब इस्राएलले जुन महान् काम परमप्रभुले मिस्रीहरूमाथिछ गर्नुभयो, त्यो देख्यो, तब मानिसहरूले परमप्रभुको डर माने, अनि परमप्रभु र उहाँको दास मोशामाथि विश्वास गरे।