अखमिरे रोटीहरूको चाड़को विधि
13
तब परमप्रभुले मोशालाई यसो भन्‍नुभयो: 2 “हरेक पहिले जन्मेकोलाई मेरा निम्ति पवित्र पार; इस्राएलीहरूको बीचमा गर्भको हरेक पहिलो फल, चाहे त्यो मानिसबाटको होस् अथवा पशुबाटको, त्यो मेरो हो।”
3 अनि मोशाले मानिसहरूलाई भने: “यस दिनको सम्झना गर, जुन दिन तिमीहरू मिस्रबाट अर्थात् दासत्वको घरबाट निस्केर आयौ; किनकि आफ्नो हातको शक्तिले परमप्रभुले तिमीहरूलाई त्यस ठाउँबाट निकालेर ल्याउनुभयो; यसैले खमिर हालेको रोटी नखाइयोस्! 4 अबीब महिनाको आजकै दिनमा तिमीहरू निस्केर आयौ। 5 अनि यस्तो हुनेछ: जब परमप्रभुले तिमीलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको देशमा ल्याउनुहुन्छ, जसको विषयमा उहाँले ‘एउटा दूध र मह बग्‍ने देश तिमीलाई दिनेछु’ भनी तिम्रा पितापुर्खाहरूसँग शपथ खानुभएको थियो, तब यही महिनामा तिमीले यो सेवा मान्‍नू! 6 सात दिनसम्म तिमीले अखमिरे रोटीहरू खानू, र सातौं दिनमा परमप्रभुका निम्ति एउटा चाड़ मनाउनू! 7 सात दिनसम्म अखमिरे रोटी खाइयोस्; अनि तिमीसँग कुनै खमिर हालेको रोटी देखिनुहुँदैन, न ता तिम्रा सारा साँधसिमानाभित्र तिमीसित कुनै खमिर देखा परोस्! 8 अनि त्यस दिन तिमीले आफ्नो छोरालाई यसो भन्‍नू: ‘म मिस्रबाट निस्केर आउँदा परमप्रभुले मेरा निम्ति जे गर्नुभयो, त्यसैका निम्ति यो गरिएको हो।’ 9 अनि परमप्रभुको व्यवस्था तिम्रो मुखमा रहोस् भनेर योचाहिँ तिम्रा निम्ति तिम्रो हातमा एउटा चिन्ह र तिम्रो निधारमा सम्झनाको रूपमा रहोस्; किनकि शक्तिशाली हातले परमप्रभुले तिमीलाई मिस्रबाट निकालेर ल्याउनुभएको हो। 10 यसैकारण तिमीले यो विधि यसको तोकिएको समयमा हरेक वर्ष मान्‍नू!”
गर्भ खोल्ने पहिलो फलको नियम
11 “अनि यस्तो हुनेछ: जब परमप्रभुले तिमीसँग र तिम्रा पितापुर्खाहरूसँग खानुभएको त्यस शपथअनुसार तिमीलाई कनानीहरूको देशमा पुर्‍याउनुहुन्छ र त्यो तिमीलाई दिनुहुन्छ, 12 तब तिमीले गर्भको हरेक पहिलो फल र तिम्रा पशुहरूको हरेक पहिले जन्मेकोलाई परमप्रभुका निम्ति छुट्याउनू! नरहरू परमप्रभुका हुन्। 13 अनि गधाको हरेक पहिले जन्मेकोलाई तिमीले पाठो दिएर छुटाउनू; अनि यदि तिमीले त्यसलाई छुटाउन चाहँदैनौ भने तिमीले त्यसको गर्दन भाँचिदिनू; तर तिम्रा सन्तानको बीचमा मानिसको हरेक जेठा छोरालाई चाहिँ तिमीले छुटाउनू! 14 अनि यस्तो हुनेछ: जब आउने समयमा तिम्रो छोराले ‘यो के हो?’ भन्दै तिमीलाई सोध्ला, तब तिमीले उसलाई भन्‍नू: ‘परमप्रभुले हामीलाई आफ्नो हातको सामर्थ्‍यले मिस्रबाट अर्थात् दासत्वको घरबाट निकालेर ल्याउनुभयो; 15 अनि यस्तो भयो: जब फाराओले कठोर भएर हामीलाई जान दिएनन्, तब परमप्रभुले मिस्र देशमा सबै जेठाहरूलाई मार्नुभयो: मानिसको जेठो र पशुको जेठो दुवैलाई; यसैकारण गर्भको हरेक पहिलोफल, नर भएमा म परमप्रभुलाई बलि चढ़ाउँछु; तर मेरा सन्तानहरूको हरेक जेठो छोरालाई चाहिँ म छुटाउँछु।’ 16 अनि यो तिम्रो हातमा चिन्ह, र तिम्रो निधारमा पेटिकाहरूको रूपमा रहोस्; किनभने परमप्रभुले हामीलाई आफ्नो हातको शक्तिले मिस्रबाट निकालेर ल्याउनुभयो।”
यात्राभरि बादलको खाँबा र आगोको खाँबा
17 अनि यस्तो भयो: जब फाराओले इस्राएली मानिसहरूलाई जान दिए, तब पलिस्तीहरूको देशको बाटो भएर जाँदा नजिक हुनेथियो; तापनि परमेश्‍वरले तिनीहरूलाई त्यस बाटोबाट भएर डोर्‍याउनुभएन; किनकि परमेश्‍वरले भन्‍नुभयो: “लड़ाइँ देखेर कहीं यी मानिसहरूले पछुताउलान् र मिस्रतिर फर्कलान् कि!” 18 तर परमेश्‍वरले ती मानिसहरूलाई घुमाएर लाल समुद्रको उजाड़स्थानको बाटोबाट भएर लैजानुभयो; अनि इस्राएलीहरू मिस्र देशबाट पङ्क्ति बाँधेर निस्केर आए। 19 अनि मोशाले यूसुफका हड्डीहरू आफ्नो साथमा लगे; किनकि तिनले इस्राएलीहरूलाई यसो भनेर दृढ़तापूर्वक शपथ खान लाएका थिए: ‘परमेश्‍वरले निश्‍चय नै तिमीहरूको वास्ता गर्नुहुनेछ; यसकारण तिमीहरूले मेरा हड्डीहरू यहाँबाट आफ्नो साथमा लैजानू!’ 20 अनि सुक्‍कोतबाट आफ्नो यात्रा शुरु गरेर तिनीहरूले उजाड़स्थानको किनारमा अवस्थित भएको एताममा पाल टाँगेर बसे। 21 अनि तिनीहरू दिनरात हिँड़्न सकून् भनेर परमप्रभु दिनमा तिनीहरूलाई बाटो देखाउनलाई बादलको खाँबामा भई र राति तिनीहरूलाई उज्यालो दिनलाई आगोको खाँबामा भई तिनीहरूको अघि-अघि जानुभयो। 22 मानिसहरूको सामुबाट न ता दिनमा बादलको खाँबो हट्यो, न राति आगोको खाँबो नै हट्यो।