निस्तारको स्थापना
12
तब मिस्र देशमा परमप्रभुले मोशा र हारूनलाई यसो भन्नुभयो: 2 “यो महिनाचाहिँ तिमीहरूका निम्ति महिनाहरूको शुरु ठहरिनेछ; योचाहिँ तिमीहरूका निम्ति वर्षको पहिलो महिना हुनेछ। 3 तिमीहरूले इस्राएलीहरूको सम्पूर्ण समुदायलाई यसो भन: यस महिनाको दसौं दिनमा तिनीहरूले आफ्ना निम्ति एउटा पाठो लिऊन्, अर्थात् हरेकले आफ्ना बुबाहरूको घरानाअनुसार हरेक परिवारका निम्ति एउटा पाठो लेओस्! 4 अनि यदि त्यो परिवार एउटा पाठाका निम्ति सानो भयो भने त्यसले आफ्नो घरको नजिकको आफ्नो छिमेकीसँग मानिसहरूको संख्याअनुसार एउटा पाठो लेओस्; तिमीहरू हरेकले आफ्नो खुवाइअनुसारक पाठाका निम्ति गन्ती निकाल्नू! 5 तिमीहरूको पाठो निष्खोट, पहिलो वर्षको नर होस्; तिमीहरूले त्यो भेड़ाहरूबाट कि त बाख्राहरूबाट लेओ! 6 अनि तिमीहरूले त्यसलाई त्यही महिनाको चौधौं दिनसम्म राखिछोड्नू; अनि बेलुकीपख इस्राएलको समुदायको सम्पूर्ण सभाले त्यसलाई मार्नू! 7 अनि तिनीहरूले त्यस रगतबाट लिऊन् र जुन घरहरूमा तिनीहरूले त्यो पाठो खान्छन्, तिनका ढोकाका दुईवटा खाँबाहरूमा र माथिल्लो तेर्सो काठमा त्यो लगाऊन्! 8 अनि त्यही रात तिनीहरूले त्यो मासु आगोमा पोलेको र अखमिरे रोटीसित खाऊन्; तिनीहरूले त्यसलाई तीतो सागपातसित खाऊन्! 9 त्यसबाट कुनै भाग काँचै नखाओ; पानीमा उसिनेर पनि कुनै रीतिले नखाओ; तर त्यसको टाउको त्यसका खुट्टाहरू र त्यसका आन्द्राभुँड़ीसित आगोमा पोलेर खाओ! 10 अनि त्यसको कुनै पनि भाग तिमीहरूले बिहानसम्म रहन नदिनू; अनि त्यसको जे कुरा बिहानसम्म रहन्छ, त्यो तिमीहरूले आगोमा जलाइदिनू! 11 अनि तिमीहरूले त्यसलाई यसरी खानू: आफ्ना कम्मरहरूमा पटुका कसेर, आफ्ना पाउहरूमा आफ्ना जुत्ता लाएर र आफ्नो हातमा आफ्नो लौरो लिएर तिमीहरूले त्यसलाई हतार-हतारसँग खानू! त्यो परमप्रभुको निस्तारख हो। 12 किनकि आज रात म मिस्र देशबाट भएर जानेछु र मिस्र देशका सबै जेठाहरूलाई हिर्काउनेछु – मानिस र पशु दुवैलाई; अनि मिस्रका सबै देवताहरूको विरोधमा म न्याय गर्नेछु; म परमप्रभु हुँ। 13 अनि त्यो रगतचाहिँ तिमीहरू बसेका घरहरूमा तिमीहरूका निम्ति चिन्ह ठहरिनेछ; अनि जब म त्यो रगत देख्छु, तब म तिमीहरूलाई छोड़ेर जानेछु, र जब म मिस्र देशलाई हिर्काउँछु, तब त्यो विपत्ति तिमीहरूलाई नष्ट गर्न तिमीहरूमाथि आइपर्नेछैन। 14 अनि यो दिनचाहिँ तिमीहरूका निम्ति एउटा सम्झना गराउने दिन ठहरियोस्, अनि तिमीहरूका पुस्तौंपुस्तासम्म तिमीहरूले यसलाई परमप्रभुका निम्ति एउटा चाड़को रूपमा मान्नू! तिमीहरूले यसलाई सदा रहिरहने विधिको रूपमा चाड़ मान्नू!”अखमिरे रोटीहरूको चाड़को स्थापना
15 सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानू! पहिलो दिन नै तिमीहरूले आफ्ना घरहरूबाट खमिर निकाल्नू; किनभने हरेक जसले पहिलो दिनदेखि सातौं दिनसम्म खमिर हालेको रोटी खान्छ, त्यो मानिस इस्राएलबाट नष्ट गरिओस्! 16 अनि पहिलो दिनमा तिमीहरूले आफ्ना निम्ति एउटा पवित्र सभा र सातौं दिनमा एउटा पवित्र सभा राख्नू! ती दिनहरूमा कुनै किसिमको काम गर्नुहुँदैन; हरेक मानिसले जे खानुपर्छ, त्यो मात्र तिमीहरूद्वारा गरियोस्!ग 17 अनि तिमीहरूले अखमिरे रोटीको चाड़ मान्नू; किनकि ठीक त्यही दिनमा मैले तिमीहरूका दलहरू मिस्र देशबाट निकालेर ल्याएको छु; यसैकारण तिमीहरूले यो दिन तिमीहरूका पुस्तौंपुस्तासम्म सदा रहिरहने विधिको रूपमा मान्नू! 18 पहिलो महिनामा, त्यस महिनाको चौधौं दिनको साँझदेखि त्यस महिनाको एक्काइसौं दिनको साँझसम्म तिमीहरूले अखमिरे रोटी खानू! 19 सात दिनसम्म तिमीहरूका घरहरूमा खमिर पाइनुहुँदैन; किनकि हरेक जसले खमिर भएको कुनै चीज खान्छ, त्यो मानिस – चाहे त्यो विदेशी होस्, चाहे देशमै जन्मेकोघ होस् – इस्राएलको समुदायबाट नामेट गरियोस्! 20 तिमीहरूले खमिर भएको कुनै चीज नखानू; तिमीहरूका सबै वासस्थानहरूमा तिमीहरूले अखमिरे रोटी खानू!”
21 तब मोशाले इस्राएलका सबै बूढ़ा प्रधानहरूलाई बोलाएर तिनीहरूलाई भने: “जाओ, आफ्ना परिवारहरूअनुसार आ-आफ्नो पाठो लेओ, र त्यो निस्तारको पाठो मार! 22 अनि तिमीहरूले एक झुप्पा हिसप लिनू, त्यसलाई भाँड़ामा भएको रगतमा चोप्नू र चौकोसको माथिल्लो तेर्सो काठ र दुईपट्टिका खाँबाहरूमा भाँड़ामा भएको रगत छ्याप्नू; अनि बिहानसम्म तिमीहरूमा कोही पनि आफ्नो घरको ढोकाबाट बाहिर नजानू! 23 किनकि मिस्रीहरूलाई हिर्काउन परमप्रभु पार भएर जानुहुनेछ; अनि जब उहाँले चौकोसका माथिल्लो तेर्सो काठ र दुईपट्टिका खाँबाहरूमा त्यो रगत देख्नुहुन्छ, तब परमप्रभु त्यस ढोकालाई छोड़ेर जानुहुनेछ, र उहाँले नाश गर्नेलाई तिमीहरूका घरहरूभित्र तिमीहरूलाई हिर्काउन आउन दिनुहुनेछैन। 24 अनि तिमीहरूले यो कुरा आफ्ना निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति सदा-सर्वदा विधिको रूपमा मान्नू! 25 अनि यस्तो हुनेछ: जब तिमीहरू त्यस देशमा पुग्छौ, जुन देश परमप्रभुले आफूले गर्नुभएको प्रतिज्ञाअनुसार तिमीहरूलाई दिनुहुनेछ, तब तिमीहरूले यो सेवा मान्नू! 26 अनि यस्तो हुनेछ: जब तिमीहरूका छोराछोरीहरूले ‘तिमीहरूका निम्ति यस सेवाको अर्थ के हो?’ भनी तिमीहरूलाई सोध्लान्, 27 तब तिमीहरूले भन्नू: यो परमप्रभुको निस्तारको बलि हो; उहाँले मिस्रीहरूलाई हिर्काउनुहुँदा मिस्रमा इस्राएलीहरूका घरहरूलाई चाहिँ छोड़ेर जानुभयो,ङ र हाम्रा घरहरूलाई छुटाउनुभयो।’ ”
तब मानिसहरूले शिर झुकाएर दण्डवत् गरे। 28 अनि इस्राएलीहरू गए, अनि परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएअनुसार गरे; तिनीहरूले त्यस्तै गरे।
दसौं विपत्ति: मिस्रीहरूका सबै जेठाहरूको मृत्यु
29 तब यस्तो भयो: मध्यरातमा परमप्रभुले मिस्र देशका सबै जेठाहरूलाई – सिंहासनमाथि बस्ने फाराओको जेठो छोरादेखि लिएर तहखानामा भएको कैदीको जेठो छोरासम्मलाई हिर्काउनुभयो; साथै पशुहरूका सबै पहिले जन्मेकाहरूलाई पनि। 30 अनि फाराओ राति नै उठे; तिनी र तिनका सबै कर्मचारीहरू र सबै मिस्रीहरू उठे; अनि मिस्रमा भारी चिच्च्याहट मच्चियो; किनकि कोही नमरेको कुनै घर थिएन। 31 अनि राति नै तिनले मोशा र हारूनलाई बोलाए, र भने: “उठ, र मेरा जनहरूको बीचबाट निस्केर जाओ – दुवै तिमीहरू र इस्राएलीहरू; अनि तिमीहरूले भनेझैं परमप्रभुको सेवा गर! 32 तिमीहरूले भनेअनुसार आफ्ना भेड़ाबाख्राहरू र आफ्ना गाईबस्तुहरू पनि लैजाओ, र गइहाल; अनि मलाई पनि आशीर्वाद देओ!” 33 अनि मानिसहरूले उनीहरूलाई हतार-हतार गरेर आफ्नो देशबाट पठाइदिऊन् भनी मिस्रीहरूले तिनीहरूलाई कर गरे; किनकि तिनीहरू भन्थे: “हामी सबै मर्ने रहेछौं!”
इस्राएलीहरूले मिस्र देशलाई छोड़े
34 अनि इस्राएली मानिसहरूले आफ्नो मुछेको पीठो, त्यो खमिरे हुनुभन्दा अघि नै बोके; तिनीहरूका आफ्ना पीठो मुछ्ने आरीहरूचाहिँ लुगामा बाँधेर काँधमा हालिएका थिए। 35 अनि इस्राएलीहरूले मोशाको वचनअनुसार गरे; अनि तिनीहरूले मिस्रीहरूबाट चाँदीका गहनाहरूच र सुनका गहानाहरूच अनि लुगाफाटा मागे; 36 अनि परमप्रभुले ती मानिसहरूलाई मिस्रीहरूको दृष्टिमा कृपा पाउने तुल्याउनुभयो; यसकारण तिनीहरूले उनीहरूले मागेका थोकहरू उनीहरूलाई दिइहाले;छ यसरी उनीहरूले मिस्रीहरूलाई लुटे।
37 तब इस्राएलीहरू रामसेसबाट यात्रा शुरु गरेर सुक्कोत गए – बालबच्चाहरूलाई छोड़ेर प्राय: छ लाख पैदल-पुरुषहरू।ज 38 अनि तिनीहरूको साथमा एउटा ठूलो मिश्रित भीड़ पनि गयो, साथै भेड़ाबाख्राहरू र गाईबस्तुहरू – अति धेरै पशुहरू निस्के। 39 अनि मिस्रबाट ल्याएको मुछेको पीठोबाट तिनीहरूले अखमिरे रोटीहरू पकाए; किनकि त्यो खमिरे भएको थिएन; किनभने तिनीहरू मिस्रबाट धकेलेर निकालिएका थिए, र तिनीहरूले न बियाँलो गर्ने समय पाए, न ता आफ्ना निम्ति केही खानेकुरा नै तयार पारे।
40 अब मिस्रमा बसेका इस्राएलीहरूको बसाइ चार सय तीस वर्ष भएको थियो। 41 अनि चार सय तीस वर्ष पूरा भएको दिन यस्तो भयो, ठीक त्यही दिन यस्तो भयो: परमप्रभुका सबै दलहरू मिस्र देशबाट निस्केर आए। 42 उहाँले तिनीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनुभएको कारणले यो रातचाहिँ परमप्रभुका निम्ति मनाउन अति योग्य छ; यो परमप्रभुको त्यही रात हो, जुन रात सबै इस्राएलीहरूले तिनीहरूका पुस्तौंपुस्तामा मनाउनुपर्छ।
निस्तार चाड़को विधि
43 अनि परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो: “निस्तार चाड़को विधि यो हो: यसबाट कुनै परदेशीले नखाओस्;झ 44 तर पैसाले किनिएको हरेक मानिसको दासले – जब तिमीले त्यसको खतना गर्दछौ, तब त्यसले यसबाट खाओस्!ञ 45 परदेशी र ज्यालामा काम गर्ने नोकरले यसबाट नखाओस्! 46 एउटा घरभित्र यो खाइयोस्; तिमीले त्यस मासुबाट केही पनि घरदेखि बाहिर नलैजानू; अनि तिमीहरूले यसको कुनै हड्डी नभाँच्नू! 47 इस्राएलको सारा समुदायले यसलाई मानोस्! 48 अनि कुनै परदेशी तिमीसित बस्छ, र त्यसले परमप्रभुका निम्ति निस्तार चाड़ मनाउन चाहन्छ भने त्यसका सबै पुरुषहरूको खतना गरियोस्; अनि तब त्यो नजिक आओस्, र यो मनाओस्; अनि त्यो त्यही देशमा जन्मेकोजस्तैट हुनेछ; तर खतना नभएको कुनै मानिसले यसबाट नखाओस्! 49 स्वदेशीका निम्ति र तिमीहरूको बीचमा बसोबास गर्ने परदेशीका निम्ति एउटै व्यवस्था हुनेछ।” 50 अनि सबै इस्राएलीहरूले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैं गरे; तिनीहरूले त्यस्तै गरे।
51 अनि यस्तो भयो: ठीक त्यही दिन परमप्रभुले इस्राएलीहरूलाई, तिनीहरूलाई दल-दल गरेर मिस्र देशबाट निकालेर ल्याउनुभयो।