दसौं विपत्तिको विषयमा चेतावनी
11
तब परमप्रभुले मोशालाई भन्नुभयो: “म अझै एउटा विपत्ति फाराओ र मिस्र देशमाथि ल्याउनेछु; त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ; जब त्यसले तिमीहरूलाई जान दिनेछ, तब निश्चय त्यसले तिमीहरूलाई यहाँबाट बिलकुलै धकेलेर निकाल्नेछ। 2 अब मानिसहरूका कानमा भन! अनि हरेक पुरुषले आफ्नो छिमेकीबाट र हरेक स्त्रीले आफ्नो छिमेकीबाट चाँदीका गहनाहरूक र सुनका गहनाहरूक मागोस्!” 3 अनि परमप्रभुले ती मानिसहरूलाई मिस्रीहरूको दृष्टिमा कृपा पाउने तुल्याउनुभयो; साथै ती मानिस मोशा मिस्र देशमा फाराओका कर्मचारीहरूको दृष्टिमा र मानिसहरूको दृष्टिमा अत्यन्त महान् व्यक्ति थिए। 4 अनि मोशाले भने: “परमप्रभु यसो भन्नुहुन्छ, मध्यराततिर म मिस्रको बीचबाट भएर जानेछु; 5 अनि मिस्र देशमा सबै जेठाहरू – सिंहासनमाथि बस्ने फाराओको जेठो छोरादेखि लिएर जाँतो पिँध्ने दासीको जेठो छोरासम्म र पशुहरूका पहिले जन्मेकाहरू सबै मर्नेछन्। 6 अनि सारा मिस्र देशभरि भारी चिच्च्याहट मच्चिनेछ, जस्तो कहिल्यै भएको थिएन, न ता यस्तो फेरि कहिल्यै हुनेछ। 7 तर इस्राएलीहरूको विरोधमा कुनै कुकुरले आफ्नो जिब्रोधरि चलाउनेछैन, न ता मानिस न पशुहरूको विरोधमा; यसैद्वारा परमप्रभुले मिस्र र इस्राएलको बीचमा भिन्नता राख्नुहुन्छ भन्ने कुरा तिमीहरूले जान्नेछौ। 8 अनि तपाईंका यी सबै कर्मचारीहरू मकहाँ आउनेछन् र यसो भन्दै मलाई दण्डवत् गर्नेछन्: ‘तपाईं र तपाईंको पछि लाग्ने सबै मानिसहरू निस्किदिनुहोस्!’, अनि त्यसपछि म निस्कनेछु।” अनि मोशाख फाराओकहाँबाट अति क्रोधित भएर निस्के। 9 तब परमप्रभुले मोशालाई भन्नुभयो: “मिस्र देशमा मेरा अचम्मका कामहरूको संख्या बढ़ाउनका निम्ति फाराओले तिमीहरूको कुरा सुन्नेछैन।” 10 अनि मोशा र हारूनले फाराओको सामु यी सबै अचम्मका कामहरू गरे; अनि परमप्रभुले फाराओको हृदय कठोर पार्नुभयो, र तिनले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिएनन्।