आठौं विपत्ति: सलहहरू
10
तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “फाराओकहाँ जाऊ; किनकि यी मेरा चिन्हहरू त्यसको सामु देखाउने हेतुले मैले त्‍यसको हृदय र त्‍यसका कर्मचारीहरूको हृदय कठोर पारिदिएको छु, 2 साथै मैले मिस्रमा जे-जे काम गरें र तिनीहरूको बीचमा मेरा चिन्हहरू जे-जे देखाएँ, सो कुराहरू तिमीले आफ्नो छोरा र आफ्नो छोराको छोराका कानहरूमा सुनाउन सक, र ‘परमप्रभु म नै हुँ’ भनी तिमीहरूले जान्‍न सक भन्‍ने हेतुले पनि हो।” 3 अनि मोशा र हारून फाराओकहाँ आए, र तिनलाई भने: “परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: कहिलेसम्म तैंले मेरो सामु आफूलाई नम्र तुल्याउन इन्कार गर्छस्? मेरा जनहरूलाई जान दे, कि तिनीहरूले मेरो सेवा गरून्! 4 किनभने तँ मेरा जनहरूलाई जान दिन इन्कार गर्छस् भने हेर्, भोलि म तेरो सिमानाभित्र सलहहरू ल्याउनेछु; 5 र तिनीहरूले पृथ्वीको सतहलाई ढाकिदिनेछन्, यहाँसम्म कि कसैले पृथ्वी देख्‍न सक्दैन। अनि तिनीहरूले त्यो उम्केर बाँकी रहेको कुरा, जो तिमीहरूका निम्ति असिनाबाट बाँचेको छ, खाइदिनेछन्, र तिमीहरूका निम्ति खेतबारीमा उम्रेको हरेक रूख खाइदिनेछन्। 6 अनि तिनीहरूले तेरा घरहरू, तेरा सबै कर्मचारीहरूका घरहरू र सबै मिस्रीहरूका घरहरू भरिदिनेछन्; यस्ता सलहहरू न ता तेरा बुबाबाजेहरूले देखेका छन्, न ता तेरा बुबाबाजेका बुबाबाजेहरूले तिनीहरू पृथ्वीमाथि आएका दिनदेखि आजको दिनसम्म देखेका छन्।” अनि उनी फरक्‍क फर्केर फाराओकहाँबाट निस्केर बाहिर गए।
7 तब फाराओका कर्मचारीहरूले तिनलाई भने: “कहिलेसम्म यो मानिस हाम्रा निम्ति एउटा पासो बन्ला? ती मानिसहरूलाई जान दिनुहोस्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्‍वरको सेवा गरून्! मिस्र नाश भइसक्यो भनेर के तपाईंलाई अझै थाहा छैन?” 8 अनि मोशा र हारून फेरि फाराओकहाँ ल्याइए; अनि तिनले उनीहरूलाई भने: “जाओ, परमप्रभु आफ्ना परमेश्‍वरको सेवा गर! तर जानेहरूचाहिँ को-को हुन्?” 9 तब मोशाले भने: “हामी हाम्रा केटाकेटीहरू, हाम्रा बूढ़ाबूढ़ीहरू, हाम्रा छोराहरू र हाम्रा छोरीहरूसित जानेछौं; हामी हाम्रा भेड़ाबाख्राहरू र हाम्रा गाईबस्तुहरूसित जानेछौं; किनकि हामीले परमप्रभुका निम्ति एउटा चाड़ मान्‍नुपर्छ।” 10 अनि तिनले उनीहरूलाई भने: “जसरी म तिमीहरूलाई र तिमीहरूका बालबच्‍चाहरूलाई जान दिनेछु, त्यसरी नै परमप्रभु तिमीहरूको साथमा रहून्! होशियार बस; किनभने खराबी तिमीहरूको अघिल्तिर छ! 11 त्यस्तो हुँदैन; खालि तिमी पुरुषहरू मात्र जाओ, र परमप्रभुको सेवा गर! किनकि तिमीहरूले यही चाहेका छौ।” अनि उनीहरू फाराओको सामुबाट निकालिए।
12 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “सलहहरू मिस्र देशमाथि आऊन्, र देशको हरेक घाँसपात अर्थात् असिनाबाट बचेका सबै थोकहरू खाइदिऊन् भनी तिमीले आफ्नो हात मिस्र देशमाथि पसार!” 13 अनि मोशाले मिस्र देशमाथि आफ्नो लौरो पसारे; अनि परमप्रभुले त्यस दिनभरि र रातभरि त्यस देशमाथि पूर्वीय हावा बहाउनुभयो; अनि जब बिहान भयो, तब पूर्वीय हावाले सलहहरू ल्यायो। 14 अनि सलहहरू सारा मिस्र देशमाथि चढ़े र मिस्रका सबै इलाकाहरूभित्र आएर बसे; ती अति धेरै थिए; तीभन्दा अघि यस्ता सलहहरू कहिल्यै आएका थिएनन्, न ता तीभन्दा पछि नै यस्ता आउनेछन्। 15 किनकि तिनीहरूले सारा पृथ्वीको सतहलाई ढाकिदिए, यहाँसम्म कि देश अँध्यारो भयो; अनि तिनीहरूले जमिनको हरेक घाँसपात र असिनाले छोड़ेका रूखका सबै फलहरू खाइदिए; अनि सारा मिस्र देशभरि न रूखहरूमा, न ता मैदानका घाँसपातहरूमा कुनै हरियो थोक नै रह्‍यो।
16 तब फाराओले हतार-हतार मोशा र हारूनलाई बोलाए, अनि उनीहरूलाई भने: “मैले परमप्रभु तिमीहरूका परमेश्‍वरको विरोधमा र तिमीहरूको विरोधमा पाप गरेको छु। 17 यसकारण अब म तिमीलाई विन्‍ती गर्दछु, यसपल्ट मात्र मेरो पाप क्षमा गर! र परमप्रभु आफ्ना परमेश्‍वरलाई विन्‍ती गरिदेओ, र उहाँले यो मृत्यु मात्र मबाट हटाइदिऊन्!” 18 अनि उनी फाराओकहाँबाट निस्केर गए, र परमप्रभुलाई विन्‍ती चढ़ाए। 19 अनि परमप्रभुले अति शक्तिशाली पश्‍चिमी हावा फर्काउनुभयो; र त्यसले ती सलहहरू उठाएर लग्यो, र तिनीहरूलाई लाल समुद्रभित्र फालिदियो; सारा मिस्रको सिमानाभित्र एउटै सलह पनि रहेन। 20 तर परमप्रभुले फाराओको हृदय कठोर पार्नुभयो; र तिनले इस्राएलीहरूलाई जान दिएनन्।
नवौं विपत्ति: देशभरि नै घनघोर अन्धकार
21 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “आफ्नो हात आकाशतिर पसार, र मिस्र देशमा अँध्यारो, अँ, छाम्‍न सकिने अँध्यारो भइजाओस्!” 22 अनि मोशाले आकाशतिर आफ्नो हात पसारे, र सारा मिस्र देशभरि तीन दिनसम्म घनघोर अँध्यारो भयो; 23 तिनीहरूले एक-अर्कालाई देखेनन्, न ता तीन दिनसम्म कोही आफ्नो ठाउँबाट उठ्यो; तर सबै इस्राएलीहरूसित तिनीहरूका वासस्थानहरूमा उज्यालो भइरह्‍यो। 24 तब फाराओले मोशालाई बोलाएर भने: “जाओ, परमप्रभुको सेवा गर! तिमीहरूका भेड़ाबाख्रा र तिमीहरूका गाईबस्तुहरू मात्र यहाँ रहून्! तिमीहरूका बालबच्‍चाहरू पनि तिमीहरूको साथमा जाऊन्!” 25 अनि मोशाले भने: “तपाईंले हामीलाई बलि र होमबलिहरू पनि दिनुपर्छ, हामीले परमप्रभु हाम्रा परमेश्‍वरलाई बलि चढ़ाउन सकौं भनेर! 26 हाम्रा गाईबस्तुहरू पनि हाम्रा साथमा जानेछन्, एउटै खुर पनि छोड़िनेछैन; किनभने परमप्रभु हाम्रा परमेश्‍वरको सेवा गर्नका निम्ति तीबाट नै हामीले लिनुपर्छ; अनि जबसम्म हामी त्यहाँ पुग्दैनौं, तबसम्म हामीले परमप्रभुको सेवा केले गर्नुपर्ने हो, सो हामी जान्दैनौं।” 27 तर परमप्रभुले फाराओको हृदय कठोर पार्नुभयो; र तिनले तिनीहरूलाई जान दिएनन्। 28 अनि फाराओले उनलाई भने: “मकहाँबाट गइहाल्! आफ्नो विषयमा होशियारी बस्! मेरो मुख कहिल्यै नहेर्; किनकि जुन दिन तैंले मेरो मुख हेर्लास्, त्यही दिन तँ मर्नेछस्।” 29 तब मोशाले भने: “तपाईंले ठीक भन्‍नुभयो; तपाईंको मुख म फेरि कहिल्यै देख्‍नेछैनँ।”