पाँचौं विपत्ति: गाईबस्तुमाथि अति कष्‍टदायक महामारी
9
तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “फाराओकहाँ जाऊ, र त्यसलाई भन: परमप्रभु हिब्रूहरूका परमेश्‍वरले यसो भन्‍नुहुन्‍छ: मेरा जनहरूलाई जान दे, र तिनीहरूले मेरो सेवा गरून्!
2 किनभने यदि तैंले तिनीहरूलाई जान दिन इन्कार गरिस्, र तिनीहरूलाई अझै रोकेर राखिस् भने 3 हेर्, परमप्रभुको हात मैदानमा भएका तेरा गाईबस्तुहरू अर्थात् घोड़ाहरू, गधाहरू, ऊँटहरू, गाईगोरुहरू र भेड़ाबाख्राहरूमाथि पर्नेछ; अति कष्‍टदायक महामारी हुनेछ। 4 अनि परमप्रभुले इस्राएलका गाईबस्तुहरू र मिस्रका गाईबस्तुहरूमा भिन्‍नता राख्‍नुहुनेछ; अनि इस्राएलीहरूका जे छन्, तिनमा एउटै पनि मर्नेछैन।” 5 अनि परमप्रभुले यसो भनेर एउटा निश्‍चित समय ठहऱ्याउनुभयो: “भोलि परमप्रभुले यो कुरा यस देशमा गर्नुहुनेछ।” 6 अनि भोलिपल्ट परमप्रभुले यो कुरा गर्नुभयो, र मिस्रका सबै गाईबस्तुहरू मरे; तर इस्राएलीहरूका गाईबस्तुहरूमा एउटै पनि मरेन। 7 अनि फाराओले हेर्न पठाए; अनि हेर, इस्राएलीहरूका गाईबस्तुहरूमा एउटै पनि मरेको थिएन। तर फाराओको हृदय कठोर भयो, र तिनले मानिसहरूलाई जान दिएनन्।
छैटौं विपत्ति: पिलाहरू उब्जाउने भतभती पोल्ने खटिरा
8 तब परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो: “भट्टीबाट आ-आफ्नो मुठीभरि खरानी लेओ, र मोशाले त्यो फाराओकै आँखाको सामु आकाशतिर छरिदेओस्! 9 अनि त्यो मिस्र देशभरि ससानो धूलो बन्‍नेछ, र सारा मिस्र देशभरि मानिस र पशुमाथि पिलाहरू उब्जाउने भतभती पोल्ने खटिरा बन्‍नेछ।” 10 अनि उनीहरूले भट्टीको खरानी लिएर फाराओको सामु उभिए; अनि मोशाले त्यसलाई आकाशतिर छरिदिए; अनि त्यो मानिस र पशुमा पिलाहरू उब्जाउने भतभती पोल्ने खटिरा बन्यो। 11 अनि खटिराहरूको कारणले ती जादुगरहरू मोशाको सामु टिक्न सकेनन्; किनकि ती जादुगरहरू र सबै मिस्रीहरूमा खटिरा निस्केको थियो। 12 अनि परमप्रभुले फाराओको हृदय कठोर पार्नुभयो, र परमप्रभुले मोशालाई भन्‍नुभएझैं तिनले उनीहरूको कुरा सुनेनन्।
सातौं विपत्ति: असिना
13 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “एकाबिहानै उठ, र फाराओको सामु उभिएर त्यसलाई भन: परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरा जनहरूलाई जान दे, कि तिनीहरूले मेरो सेवा गरून्! 14 किनकि यसपल्ट म मेरा सबै विपत्तिहरू तेरो हृदयमाथि, तेरा कर्मचारीहरू र तेरा जनहरूमाथि पठाउनेछु; फलस्वरूप सारा पृथ्वीभरि मजस्तो अरू कोही छैन भनी तैंले जान्‍नेछस्। 15 किनकि अब महामारीद्वारा तँलाई र तेरा जनहरूलाई हिर्काउन म मेरो हात पसार्नेछु, र तँ यस पृथ्वीबाट मेटिइनेछस्। 16 किनकि मेरो सामर्थ्य तँमा प्रकट होस् र सारा पृथ्वीभरि मेरो नाम प्रचारियोस् भन्‍ने उद्देश्यले नै मैले तँलाई उठाएको छु। 17 मेरा जनहरूलाई जान नदिएर, के तिनीहरूको विरोधमा तँ अझै आफूलाई ठूलो तुल्याउँछस्? 18 हेर्, भोलि यही समयतिर म अति कष्‍टदायक असिना बर्साउनेछु; यस्तो त मिस्रको जग हालिएको दिनदेखि अहिलेसम्म कहिल्यै भएको छैन। 19 यसकारण अब मानिसहरू पठा, र तेरा गाईबस्तुहरू र बाहिर मैदानमा भएका तेरा सबै थोकहरू भित्र ल्या; किनकि हरेक मानिस र पशु जो मैदानमा पाइनेछन् र घरमा ल्याइनेछैनन्, तिनीहरूमाथि असिना बर्सनेछ, र ती मर्नेछन्।” 20 फाराओका कर्मचारीहरूमध्ये जो परमप्रभुको वचनसँग डराउँथ्यो, त्यसले आफ्ना नोकरहरूलाई र आफ्नो गाईबस्तु घरहरूभित्र भाग्‍न लगायो। 21 तर जसले परमप्रभुको वचनलाई वास्ता गरेन, त्यसले आफ्ना नोकरहरूलाई र आफ्नो गाईबस्तु मैदानमै रहन दियो।
22 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “आफ्नो हात आकाशतिर पसार, र सारा मिस्र देशभरि मानिस र पशुमाथि, साथै सारा मिस्र देशको मैदानको हरेक घाँसपातमाथि असिना परोस्!” 23 अनि मोशाले आफ्नो लौरो आकाशतिर पसारे; अनि परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र भुइँमाथि-माथि आगो दगुर्‍यो; अनि परमप्रभुले मिस्र देशमाथि असिना बर्साउनुभयो। 24 अनि असिना पर्‍यो, र असिनाको साथमा आगो मिसिएको हुन्थ्यो, अति कष्‍टदायक; यस्तो त सारा मिस्र देशभरि त्यो राष्‍ट्र बनेको दिनदेखि कहिल्यै भएको थिएन। 25 अनि सारा मिस्र देशभरि असिनाले मैदानमा भएका सबै थोकहरूलाई, मानिस र पशु दुवैलाई चुट्यो; अनि असिनाले मैदानमा भएको हरेक घाँसपात चुट्यो, र मैदानको हरेक रूखलाई भाँचिदियो। 26 इस्राएलीहरू बस्‍ने गोशेन प्रदेशमा मात्र असिना परेन।
27 तब फाराओले पठाए, अनि मोशा र हारूनलाई बोलाए र उनीहरूलाई भने: “यसपालि मैले पाप गरेको छु; परमप्रभु धर्मी हुनुहुन्छ; म र मेरा जनहरू दुष्‍ट रहेछौं। 28 अब अरू शक्तिशाली गर्जन र असिनाको वर्षा नहोऊन् भनी परमप्रभुलाई विन्‍ती गरिदेओ; यही पर्याप्‍त छ; र म तिमीहरूलाई जान दिनेछु, र तिमीहरू अब उसो बस्‍नुपर्नेछैन।” 29 तब मोशाले तिनलाई भने: “म शहरबाट निस्कनासाथ म मेरा हातहरू परमप्रभुतर्फ फैलाउनेछु, अनि गर्जन थामिनेछ, र अब उसो असिनाको वर्षा हुनेछैन; फलस्वरूप ‘पृथ्वी परमप्रभुको हो’ भनी तपाईंलाई थाहा होस्! 30 तर तपाईं र तपाईंका कर्मचारीहरूचाहिँ – म जान्दछु, तपाईंहरूले अझै पनि परमप्रभु परमेश्‍वरको डर मान्‍नुहुनेछैन।” 31 अनि सन र जौचाहिँ असिनाले चुटिए; किनकि जौमा बाला लागेको थियो, र सनचाहिँ फुल्दैथियो; 32 तर गहुँ र कठिया-गहुँचाहिँ चुटिएनन्; किनकि ती उम्रेका थिएनन्। 33 अनि मोशा फाराओकहाँबाट शहरबाहिर गए, र आफ्ना हातहरू परमप्रभुतर्फ फैलाए; अनि गर्जन र असिना थामिए, अनि पृथ्वीमाथि वर्षाको प्रवाह भएन। 34 अनि जब फाराओले वर्षा, असिना र गर्जन थामिएका देखे, तब तिनले अझै बढ़ी पाप गरे र आफ्नो हृदय कठोर पारे – तिनले र तिनका कर्मचारीहरूले। 35 अनि फाराओको हृदय कठोर भयो; र परमप्रभुले मोशाद्वारा भन्‍नुभएझैं तिनले इस्राएलीहरूलाई जान दिएनन्।