दोस्रो विपत्ति: भ्यागुताहरू
8
तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “फाराओकहाँ जाऊ, र त्यसलाई भन: परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरा जनहरूलाई जान दे, कि तिनीहरूले मेरो सेवा गरून्! 2 अनि यदि तैंले तिनीहरूलाई जान दिन इन्कार गरिस् भने हेर्, तेरा सारा इलाकाहरू म भ्यागुताहरूद्वारा हिर्काउनेछु; 3 अनि नदी भ्यागुताहरूले भरिभराऊ हुनेछ; ती माथि निस्केर आउनेछन्, र तेरो घरभित्र, तेरो सुत्‍ने कोठाभित्र, तेरो पलङमाथि, तेरा कर्मचारीहरूको घर-घरभित्र, तेरा मानिसहरूमाथि, तेरा चुल्हाहरूभित्र, र तेरा पीठो मुछ्‌ने आरीहरूभित्र पस्‍नेछन्। 4 अनि भ्यागुताहरू तँमाथि, तेरा मानिसहरूमाथि र तेरा सबै कर्मचारीहरूमाथि आउनेछन्।” 5 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “हारूनलाई भन: तिम्रो लौरो लिएर तिम्रो हात खोलानालाहरू, नदीहरू र पोखरीहरूमाथि पसार, र मिस्र देशमाथि भ्यागुताहरू ल्याऊ!” 6 अनि हारूनले मिस्रका पानीहरूमाथि आफ्नो हात पसारे; र भ्यागुताहरू माथि निस्केर आए, र मिस्र देशलाई ढाकिदिए। 7 अनि जादुगरहरूले पनि आफ्ना तन्‍त्रमन्‍त्रहरूद्वारा त्यस्तै गरे, अनि मिस्र देशमाथि भ्यागुताहरू ल्याए।
8 तब फाराओले मोशा र हारूनलाई बोलाएर भने: “परमप्रभुलाई विन्‍ती चढ़ाइदेओ, र उहाँले मबाट र मेरा मानिसहरूबाट भ्यागुताहरू हटाइदिऊन्; तब म मानिसहरूलाई जान दिनेछु, र तिनीहरूले परमप्रभुलाई बलि चढ़ाऊन्।” 9 अनि मोशाले फाराओलाई भने: “ममा गर्व गर्नुहोस्! तपाईंका निम्ति, तपाईंका कर्मचारीहरू र तपाईंका मानिसहरूका निम्ति भ्यागुताहरू तपाईंबाट र तपाईंका घरहरूबाट नाश गरिऊन् भनी म कहिले विन्‍ती चढ़ाऊँ, र ती नदीभित्र मात्र रहून्?” 10 अनि तिनले भने: “भोलि।” अनि उनले भने: “तपाईंकै वचनअनुसार होस्; र परमप्रभु हाम्रा परमेश्‍वरजस्तो अरू कोही छैन भनी तपाईंलाई थाहा होस्! 11 अनि भ्यागुताहरू तपाईंबाट, तपाईंका घरहरूबाट, तपाईंका कर्मचारीहरूबाट र तपाईंका जनहरूबाट हट्नेछन्; ती नदीमा मात्र रहनेछन्।” 12 अनि मोशा र हारून फाराओकहाँबाट निस्केर गए; अनि फाराओमाथि परमप्रभुले ल्याउनुभएका भ्यागुताहरूको विषयमा मोशाले उहाँलाई पुकारे। 13 अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो; अनि घरहरूका, आँगनहरूका र बारीहरूका भ्यागुताहरू मरे। 14 अनि तिनीहरूले तिनलाई बटुलेर थाकैथाक लगाए; अनि देश ह्‍वासह्‍वासती गनायो। 15 तर जब फाराओले आराम भएको देखे, तब तिनले आफ्नो हृदय कठोर पारे, र परमप्रभुले भन्‍नुभएझैं उनीहरूको कुरा सुनेनन्।
तेस्रो विपत्ति: जुम्राहरू
16 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “हारूनलाई भन: आफ्नो लौरो पसार, र जमिनको धूलोलाई हिर्काऊ, र त्यो सारा मिस्र देशभरि जुम्राहरू बनोस्!” 17 अनि उनीहरूले त्यस्तै गरे; हारूनले आफ्नो लौरो लिएर आफ्नो हात पसारे, र जमिनको धूलोलाई हिर्काए, र त्यो मानिसमा र पशुमा जुम्राहरू बन्यो; जमिनको सबै धूलो सारा मिस्र देशभरि जुम्राहरू बन्यो। 18 अनि जादुगरहरूले जुम्राहरू उत्‍पन्‍न गर्नलाई आफ्ना तन्‍त्रमन्‍त्रहरू गरे, तर तिनीहरूले सकेनन्; यसरी मानिस र पशुमाथि जुम्राहरू भइरहे। 19 तब जादुगरहरूले फाराओलाई भने: “यो त परमेश्‍वरको औंला हो।” तर फाराओको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएझैं तिनले उनीहरूको कुरा सुनेनन्।
चौथो विपत्ति: हूलैहूल डाँसहरू
20 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “एकाबिहानै उठ र फाराओको सामु खड़ा होऊ; हेर, त्यो पानीतिर जान लागेको छ; र त्यसलाई भन: परमप्रभु यसो भन्‍नुहुन्‍छ: मेरा जनहरूलाई जान दे, कि तिनीहरूले मेरो सेवा गरून्! 21 किनभने यदि तैंले मेरा जनहरूलाई जान दिइनस् भने हेर्, म तँमाथि, तेरा कर्मचारीहरूमाथि, तेरा जनहरूमाथि र तेरा घरहरूमाथि हूलका हूल डाँसहरू पठाउनेछु; अनि मिस्रीहरूका घरहरू र तिनीहरू बसेका जमिन पनि हूलका हूल डाँसले भरिनेछन्। 22 तर त्यस दिन मेरा जनहरू बसेको गोशेन प्रदेश म अलग गर्नेछु; त्यहाँ कुनै डाँसको हूल हुनेछैन, फलस्वरूप यस पृथ्वीको बीचमा परमप्रभु म नै हुँ भनी तैंले जान्‍नेछस्। 23 अनि म आफ्ना जनहरू र तेरा जनहरूको बीचमा भिन्‍नता राख्‍नेछु; यो चिन्ह भोलि हुनेछ।” 24 अनि परमप्रभुले त्यस्तै गर्नुभयो; अनि फाराओको घरभित्र, तिनका कर्मचारीहरूका घरहरूभित्र र सारा मिस्र देशभरि कष्‍ट दिने डाँसको हूल आयो; र डाँसको हूलको कारणले देश नाश भयो।
25 अनि फाराओले मोशा र हारूनलाई बोलाएर भने: “तिमीहरू जाओ, यही देशमा आफ्ना परमेश्‍वरका निम्‍ति बलि चढ़ाओ!” 26 तर मोशाले भने: “त्यसो गर्नु ठीक हुँदैन; किनकि हामी परमप्रभु आफ्ना परमेश्‍वरका निम्‍ति यस्तो बलि चढ़ाउँछौं, जुन बलि मिस्रीहरूका निम्ति घिनलाग्दो कुरा हो; हेर्नुहोस्, के हामी मिस्रीहरूका निम्ति घिनलाग्दो चीज तिनीहरूको सामु बलि चढ़ाऔं? तब के तिनीहरूले हामीलाई ढुङ्गाले हान्‍नेछैनन् र? 27 हामी तीन दिनको यात्रा गरी उजाड़स्थानमा जानेछौं, र उहाँले हामीलाई आज्ञा गर्नुभएअनुसार परमप्रभु हाम्रा परमेश्‍वरका निम्‍ति बलि चढ़ाउनेछौं।” 28 तब फाराओले भने: “म तिमीहरूलाई जान दिनेछु, कि उजाड़स्थानमा तिमीहरू परमप्रभु आफ्ना परमेश्‍वरका निम्‍ति बलि चढ़ाओ; खालि धेरै टाढ़ाचाहिँ नजाओ! मेरा निम्ति विन्‍ती गर!” 29 अनि मोशाले भने: “हेर्नुहोस्, म तपाईंकहाँबाट निस्केर जानेछु, र यी डाँसका हूलहरू फाराओबाट, उहाँका कर्मचारीहरूबाट र उहाँका जनहरूबाट भोलि हटेर जाऊन् भनी म परमप्रभुलाई विन्‍ती गर्नेछु; तर परमप्रभुलाई बलि चढ़ाउनका निम्ति मानिसहरूलाई जान नदिएर फाराओले अब अरू धोकापूर्ण व्यवहार नगर्नुहोला!” 30 अनि मोशा फाराओकहाँबाट निस्केर गए, र परमप्रभुलाई विन्‍ती चढ़ाए। 31 अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो; अनि उहाँले फाराओबाट, तिनका कर्मचारीहरूबाट र तिनका जनहरूबाट डाँसका हूलहरू हटाइदिनुभयो; एउटै पनि बाँकी रहेन। 32 तर यसपालि पनि फाराओले आफ्नो हृदय कठोर पारे, र मानिसहरूलाई जान दिएनन्।