हारूनको लौरो
7
तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “हेर, मैले तिमीलाई फाराओका निम्ति ईश्‍वर बनाएको छु; अनि तिम्रा दाजु हारूनचाहिँ तिम्रा भविष्यवक्ता हुनेछन्। 2 म तिमीलाई जे-जे आज्ञा गर्दछु, ती सबै कुराहरू तिमीले भन्‍नू! अनि तिम्रा दाजु हारूनले फाराओलाई भनून्, कि त्यसले इस्राएलीहरूलाई आफ्नो देशबाट पठाइदेओस्! 3 अनि म फाराओको हृदय कठोर पार्नेछु; अनि मिस्र देशमा म मेरा चिन्हहरू र मेरा अचम्मका कामहरूको संख्या बढ़ाउनेछु। 4 तर फाराओले तिम्रो कुरा सुन्‍नेछैन, र म मिस्र देशमाथि मेरो हात हाल्नेछु, अनि ठूला-ठूला दण्डहरू दिएर म मेरा दलहरूलाई अर्थात् मेरो प्रजा इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनेछु। 5 अनि जब म आफ्नो हात मिस्रमाथि बढ़ाउनेछु, र इस्राएलीहरूलाई तिनीहरूको बीचबाट निकालेर ल्याउनेछु, तब ‘परमप्रभु म नै हुँ’ भनी मिस्रीहरूले जान्‍नेछन्।” 6 अनि मोशा र हारूनले परमप्रभुले उनीहरूलाई आज्ञा गर्नुभएझैं गरे; उनीहरूले त्यस्तै गरे। 7 उनीहरूले फाराओसँग कुरा गर्दा मोशा असी वर्षका र हारून त्रियासी वर्षका थिए।
8 अनि परमप्रभुले मोशा र हारूनलाई यसो भन्‍नुभयो: 9 “जब फाराओले तिमीहरूलाई ‘आफ्ना निम्ति एउटा आश्‍चर्यकर्म देखाओ!’ भनी भन्ला, तब तिमीले हारूनलाई भन्‍नू: ‘आफ्नो लौरो लेऊ, र फाराओको सामु फालिदेऊ!’; तब त्यो एउटा साँप बन्‍नेछ।” 10 अनि मोशा र हारून फाराओकहाँ गए; र उनीहरूले परमप्रभुले आज्ञा गर्नुभएझैं गरे। अनि हारूनले फाराओको सामु र तिनका कर्मचारीहरूको सामु आफ्नो लौरो फाले, अनि त्यो एउटा साँप बन्यो। 11 तब फाराओले पनि ज्ञानीहरू र टुनामुना गर्नेहरूलाई बोलाए; अनि ती मिस्रका जादुगरहरूले पनि आफ्ना तन्‍त्रमन्‍त्रहरूद्वारा त्यस्तै गरे। 12 किनकि तिनीहरू हरेकले आ-आफ्नो लौरो फाले, र ती साँपहरू बने; तर हारूनको लौरोले तिनीहरूका लौराहरू निलिदियो। 13 अनि फाराओको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएझैं तिनले उनीहरूको कुरा सुनेनन्।
पहिलो विपत्ति: पानी रगतमा बदली भयो
14 तब परमप्रभुले मोशालाई भन्‍नुभयो: “फाराओको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। 15 बिहानै फाराओकहाँ जाऊ; हेर, त्यो पानीतिर जान लागेको छ; अनि तिमी त्यसलाई भेट्न नदीको किनारमा उभिनू, र जुन लौरो साँपमा बदली भएको थियो, त्यो पनि आफ्नो हातमा लिनू! 16 अनि तिमीले त्यसलाई भन्‍नू: ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: मेरो प्रजालाई जान दे, र तिनीहरूले उजाड़स्थानमा मेरो सेवा गरून्!’; तर हेर्नुहोस्, तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन। 17 परमप्रभुले यसो भन्‍नुहुन्‍छ: ‘यसद्वारा तैंले म परमप्रभु हुँ भनी जान्‍नेछस्; हेर्नुहोस्, मेरो हातमा भएको यस लौरोले म यस नदीको पानी हिर्काउनेछु, र त्यो रगतमा बदली हुनेछ। 18 अनि नदीमा भएका माछाहरू मर्नेछन्, र नदी डुङडुङती गनाउनेछ, अनि मिस्रीहरूले त्यस नदीको पानी पिउन घिन मान्‍नेछन्।’ ” 19 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “हारूनलाई भन: ‘आफ्नो लौरो लेऊ, र मिस्रका पानीहरू, तिनीहरूका खोलानालाहरू, तिनीहरूका नदीहरू, तिनीहरूका पोखरीहरू र तिनीहरूका सबै दहहरूमाथि आफ्नो हात बढ़ाऊ, र ती रगत भइजाऊन्, र सारा मिस्र देशभरि रगतै-रगत होस्, काठको भाँड़ामा र ढुङ्गाको भाँड़ामा पनि।’ ” 20 अनि मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएझैं गरे; अनि उनले आफ्नो लौरो उठाए, र फाराओका आँखाको सामु र तिनका कर्मचारीहरूका आँखाको सामु नदीको पानीलाई हिर्काए; अनि नदीमा भएको सबै पानी रगतमा बदली भयो। 21 अनि नदीमा भएका माछाहरू मरे, र नदी गनाउन थाल्यो, र मिस्रीहरूले नदीको पानी पिउन सकेनन्; अनि सारा मिस्र देशभरि रगतै-रगत भयो। 22 अनि मिस्रका जादुगरहरूले पनि आफ्ना तन्‍त्रमन्‍त्रहरूद्वारा त्यस्तै गरे; अनि फाराओको हृदय कठोर भयो, र परमप्रभुले भन्‍नुभएझैं तिनले उनीहरूको कुरा सुनेनन्। 23 अनि फाराओ फरक्‍क फर्केर आफ्नो घर गए; अनि तिनले यस कुरामाथि पनि आफ्नो हृदय लगाएनन्। 24 अनि सबै मिस्रीहरूले पानी पिउनलाई नदीको वरिपरि खने; किनकि तिनीहरूले नदीको पानी पिउन सकेनन्। 25 अनि परमप्रभुले नदीलाई हिर्काउनुभएपछि सात दिन बिते।