मोशालाई छुटकाराको प्रतिज्ञा दिइयो
6
तब परमप्रभुले मोशालाई भन्नुभयो: “म फाराओलाई के गर्नेछु, सो अब तिमीले देख्नेछौ; किनभने शक्तिशाली हातले त्यसले उनीहरूलाई जान दिनेछ; अँ, त्यसले उनीहरूलाई शक्तिशाली हातले आफ्नो देशबाट धपाएर निकाल्नेछ।” 2 अनि परमेश्वर मोशासँग कुरा गर्नुभयो र उनलाई भन्नुभयो: “म परमप्रभु हुँ। 3 अनि म अब्राहाम, इसहाक, र याकूबकहाँ सर्वशक्तिमान् परमेश्वरको नाममा देखा परें; तर ‘यहोवा’क मेरो नामद्वारा म उनीहरूकहाँ प्रकट भएको थिइनँ। 4 अनि मैले उनीहरूलाई कनान देश अर्थात् उनीहरू प्रवासी भई बसेको देश, जहाँ उनीहरू परदेशी थिए, दिनेछु भनी उनीहरूसित मेरो वाचा बाँधेको पनि छु। 5 अनि मैले इस्राएलीहरूको ऐया-आत्था सुनेको पनि छु, जसलाई मिस्रीहरूले दासत्वमा राख्छन्; अनि मैले मेरो वाचाको सम्झना गरेको छु। 6 यसकारण इस्राएलीलाई भन: ‘म परमप्रभु हुँ; अनि म तिमीहरूलाई मिस्रीहरूका बोझाहरूमुनिबाट निकालिदिनेछु, र तिमीहरूलाई तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु; अनि बढ़ाएको हातलेख र ठूला-ठूला दण्डहरू दिँदैग म तिमीहरूलाई छुटाउनेछु। 7 अनि म तिमीहरूलाई मेरै प्रजा हुनलाई अपनाउनेछु, र म तिमीहरूका परमेश्वर हुनेछु; अनि तिमीहरूलाई मिस्रीहरूका बोझाहरूमुनिबाट निकालेर ल्याउने परमप्रभु तिमीहरूको परमेश्वर म नै हुँ भनी तिमीहरूले जान्नेछौ। 8 अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जसको विषयमा अब्राहाम, इसहाक र याकूबलाई त्यो दिनेछु भनी मैले शपथ खाएँ;घ अनि म पैतृक सम्पत्तिको रूपमा त्यो तिमीहरूलाई दिनेछु; म परमप्रभु हुँ।’ ” 9 तब मोशाले त्यो कुरा इस्राएलीहरूलाई बताए; तर आत्माको व्याकुलता र कठोर दासत्वको कारणले गर्दा तिनीहरूले मोशाको कुरा सुनेनन्। 10 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो: 11 “जाऊ, मिस्रको राजा फाराओलाई भन, कि त्यसले इस्राएलीहरूलाई आफ्नो देशबाट जान देओस्!” 12 अनि मोशा परमप्रभुको सामु यसो भन्दै बोले: “हेर्नुहोस्, इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन्, तब फाराओले कसरी मेरो कुरा, एउटा खतना नगरिएका ओठहरू भएको मानिसको कुरा सुन्लान् त?” 13 अनि परमप्रभु मोशा र हारूनसँग बोल्नुभयो, अनि इस्राएलीहरूलाई मिस्र देशबाट निकालेर ल्याउनलाई उहाँले उनीहरूलाई इस्राएलीहरूका निम्ति र मिस्रका राजाका निम्ति आज्ञा गर्नुभयो।लेवीको वंशावली
14 तिनीहरूका पितापुर्खाहरूका घरानाका मूल-पुरुषहरू यी हुन्: इस्राएलका जेठा छोरा रूबेनका छोराहरू: हनोक, पल्लू, हेस्रोन र कर्मी – रूबेनका परिवारहरू यी हुन्। 15 अनि शिमोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहर र कनानी स्त्रीको छोरा शावल – शिमोनका परिवारहरू यी हुन्। 16 अनि तिनीहरूका वंशावलीअनुसार लेवीका छोराहरूका नाम यी हुन्: गेर्शोन, कहात, र मरारी; लेवीको उमेर एक सय सैंतीस वर्षको भयो। 17 गेर्शोनका छोराहरू: तिनीहरूको परिवारअनुसार लिब्नी र शिमी। 18 अनि कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जिएल; अनि कहातको उमेर एक सय तेत्तीस वर्षको भयो। 19 अनि मरारीका छोराहरू: महली र मूशी। तिनीहरूका वंशावलीअनुसार लेवीका परिवारहरू यी हुन्। 20 अम्रामले आफ्ना बुबाकी बहिनी योकेबेदलाई विवाह गरे; अनि तिनले उनका निम्ति हारून र मोशालाई जन्माइन्; अनि अम्रामको उमेर एक सय सैंतीस वर्षको भयो। 21 अनि यिसहारका छोराहरू: कोरह, नेपेग र जिक्री। 22 अनि उज्जिएलका छोराहरू: मिशाएल, एल-सापान र सिथ्री। 23 अनि हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलिशीबालाई विवाह गरे; अनि तिनले उनका निम्ति नादाब, अबिहू, एलाजार र इतामारलाई जन्माइन्। 24 अनि कोरहका छोराहरू: अस्सीर, एल्काना र अबिआसाप। कोरहवंशीहरूका परिवारहरू यी हुन्। 25 अनि हारूनका छोरा एलाजारले पतीएलकी छोरीहरूमध्ये एउटीलाई विवाह गरे;ङ अनि तिनले उनका निम्ति पीनहासलाई जन्माइन्। तिनीहरूका परिवारहरूअनुसार लेवी-वंशीहरूका पुर्खाहरूका मूल-पुरुषहरू यी हुन्। 26 यिनीहरू ती नै हारून र मोशा हुन्, जसलाई परमप्रभुले भन्नुभयो: “इस्राएलीहरूलाई तिनीहरूका दलहरूअनुसार मिस्र देशबाट निकालेर ल्याओ!” 27 यिनीहरू ती नै हुन्, जसले इस्राएलीहरूलाई मिस्रबाट निकालेर ल्याउनलाई मिस्रका राजा फाराओसँग कुरा गरे। यिनीहरू मोशा र हारून नै हुन्।
28 अनि परमप्रभुले मोशासँग मिस्र देशमा बोल्नुभएको दिन यस्तो भयो: 29 परमप्रभुले मोशालाई यसो भन्नुभयो: “म परमप्रभु हुँ; म तिमीलाई जे-जे भन्दछु, ती सबै कुराहरू मिस्रको राजा फाराओलाई भन!” 30 अनि मोशाले परमप्रभुको सामु भने: “हेर्नुहोस्, म त खतना नगरिएका ओठहरू भएको मानिस हुँ; तब कसरी फाराओले मेरो कुरा सुन्लान् त?”