मोशा र हारून फाराओको सामु
5
त्यसपछि मोशा र हारून भित्र गएर फाराओलाई भने: “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो प्रजालाई जान दे, र तिनीहरूले मेरा निम्ति उजाड़स्थानमा चाड़ मनाऊन्!” 2 तब फाराओले भने: “परमप्रभु को हो, कि म उसको कुरा मानूँ, र इस्राएललाई जान दिऊँ? म न ता परमप्रभुलाई चिन्छु, न इस्राएललाई जान दिन्छु!” 3 अनि उनीहरूले भने: “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभएको छ; हामी तपाईंलाई विन्‍ती गर्छौं: हामीलाई तीन दिनको यात्रा गरेर उजाड़स्थानमा जान दिनुहोस्, र हामी परमप्रभु हाम्रा परमेश्‍वरलाई बलि चढ़ाउन पाऔं! नत्र उहाँ महामारी र तरवारद्वारा हामीमाथि आइलाग्‍नुहुनेछ।” 4 अनि मिस्रका राजाले उनीहरूलाई भने: “हे मोशा र हारून, तिमीहरू किन यी मानिसहरूलाई तिनीहरूका कामहरूबाट छुटाउन चाहन्छौ? तिमीहरू आफ्ना भारी बोक्ने कामहरूमा लाग!” 5 अनि फाराओले भने: “हेर, अहिले यस देशका मानिसहरू धेरै छन्, अनि तिमीहरूचाहिँ तिनीहरूलाई तिनीहरूका भारीहरूबाट विश्राम दिलाउन चाहन्छौ?”
6 अनि त्यही दिन फाराओले मानिसहरूलाई बेगारीमा जोत्‍ने नाइकेहरू र तिनीहरूका अधिकारीहरूलाई यसो भन्दै आज्ञा दिए: 7 “तिमीहरूले अब उसो मानिसहरूलाई इँटा बनाउनलाई पहिलेझैं पराल नदिनू! तिनीहरू जाऊन् र आफ्ना निम्ति आफैले पराल बटुलून्! 8 अनि जति इँटा तिनीहरूले पहिले बनाउँथे, त्यति नै तिनीहरूलाई बनाउन लाउनू! तिमीहरूले त्यसको संख्या नघटाउनू; किनकि तिनीहरू अल्छे छन्; यसैकारण तिनीहरू यसो भन्दै कराउँछन्: ‘जाऔं र हाम्रा परमेश्‍वरका निम्‍ति बलि चढ़ाऔं!’ 9 ती मानिसहरूमाथि कामको भार अझै थपियोस्, र तिनीहरू त्यही काममा व्यस्त भइरहून् अनि झूटा कुराहरूमा ध्यान नदिऊन्!”
10 अनि मानिसहरूलाई काममा जोत्‍ने नाइकेहरू र तिनीहरूका अधिकारीहरू बाहिर गए, र मानिसहरूलाई यसो भने: “फाराओ यसो भन्‍नुहुन्‍छ: ‘म तिमीहरूलाई पराल दिनेछैनँ’। 11 जाओ, र आफ्ना निम्ति जहाँबाट पराल पाइन्छ, त्यहाँबाट ल्याओ! किनकि तिमीहरूको कामबाट केही पनि घटाइनेछैन।” 12 यसकारण परालको सट्टामा नलका डाँठहरू बटुल्न मानिसहरू सारा मिस्र देशभरि छरिए। 13 अनि काममा जोत्‍ने नाइकेहरूले तिनीहरूलाई यसो भन्दै हतार गर्न लगाए: “पराल हुँदा तिमीहरूले जति काम गर्थ्यौ, दिनहुँ त्यति नै काम गरेर तिमीहरूका कामहरू पूरा गर!” 14 इस्राएलीहरूका अधिकारीहरूले कुटाइ खाए, जसलाई फाराओका काममा जोत्‍ने नाइकेहरूले इस्राएलीहरूमाथि नियुक्त गरेका थिए, र उनीहरूलाई यसो भनियो: “किन तिमीहरूले पहिलेझैं हिजो र आज इँटा बनाउँदा तोकिएको मात्रा पूरा गरेनौ?”
15 अनि इस्राएलीहरूका अधिकारीहरू फाराओकहाँ आए, र यसो भन्दै पुकार गरे: “तपाईं आफ्ना दासहरूसित किन यस्तो व्यवहार गर्नुहुन्छ? 16 तपाईंका दासहरूलाई पराल दिइएकै छैन, र पनि तिनीहरू हामीलाई भन्छन्: ‘इँटा बनाओ’; अनि हेर्नुहोस्, तपाईंका दासहरूले कुटाइ खाँदैछन्, तर दोष तपाईंकै मानिसहरूको छ।” 17 तर तिनले भने: “तिमीहरू अल्छी छौ! अल्छी छौ! यसैकारण तिमीहरू भन्छौ: जाऔं र परमप्रभुका निम्‍ति बलि चढ़ाऔं! 18 यसकारण अब जाओ, र काम गर! किनकि तिमीहरूलाई पराल दिइनेछैन; तैपनि तोकिए जति इँटा तिमीहरूले दिनू!” 19 ‘तिमीहरूले दिनहुँ दिनुपर्ने इँटाको संख्या नघटाउनू’ भनेपछि इस्राएलीहरूका अफिसरहरूले आफैलाई एउटा खराब दशामा परेको थाहा पाए;
20 अनि फाराओकहाँबाट निस्कँदै गर्दा तिनीहरूले मोशा र हारूनलाई, तिनीहरूलाई भेट्न उभिरहेका भेटे। 21 अनि तिनीहरूले उनीहरूलाई भने: “परमप्रभुले तपाईंहरूलाई हेरून्, र न्याय गरून्; किनकि तपाईंहरूले फाराओको दृष्‍टिमा र तिनका कर्मचारीहरूको दृष्‍टिमा हाम्रो गन्ध डुङडुङती गनाउने तुल्याइदिनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूको हातमा तरवार राखिदिनुभयो।” 22 अनि मोशा परमप्रभुकहाँ फर्के, र भने: “हे प्रभु, किन तपाईंले यी मानिसहरूलाई यस्तो खराबी गर्नुभयो? तब तपाईंले मलाई किन पठाउनुभयो? 23 किनकि तपाईंको नाममा बोल्न म फाराओकहाँ आएको समयदेखि तिनले यी मानिसहरूलाई खराबी गरेका छन्; अनि तपाईंले आफ्ना मानिसहरूलाई कुनै रीतिले छुटकारा दिनुभएकै छैन?”