मोशा इस्राएलीहरूकहाँ पठाइए
4
अनि मोशाले जवाफ दिएर भने: “तर हेर्नुहोस्, उनीहरूले मलाई विश्‍वास गर्नेछैनन्, न ता मेरो कुरा नै सुन्‍नेछन्; किनकि तिनीहरूले भन्‍नेछन्: ‘परमप्रभु तिमीकहाँ देखा पर्नुभएको छैन’।” 2 तब परमप्रभुले उनलाई भन्‍नुभयो: “तिम्रो हातमा त्यो के हो?” अनि उनले भने: “लौरो।” 3 अनि उहाँले भन्‍नुभयो: “त्यसलाई भुइँमा फाल!” अनि उनले त्यसलाई भुइँमा फाले, अनि त्यो एउटा साँप भयो, र मोशा त्यसको सामुबाट भागे। 4 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “तिम्रो हात बढ़ाऊ र त्यसलाई पुच्छरमा पक्र!” अनि उनले आफ्नो हात बढ़ाएर त्यसलाई पक्रे; अनि त्यो उनको हातमा लौरो बन्यो; 5 “र उनीहरूले परमप्रभु उनीहरूका पितापुर्खाहरूका परमेश्‍वर – अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वर तिमीकहाँ देखा पर्नुभएको हो भनी विश्‍वास गरून्!” 6 अनि परमप्रभुले उनलाई फेरि भन्‍नुभयो: “अब तिम्रो हात तिम्रो खोकिलाभित्र हाल!” अनि उनले आफ्नो हात आफ्नो खोकिलाभित्र हाले; अनि जब उनले त्यसलाई बाहिर निकाले; तब हेर, उनको हात कोढ़ले हिउँझैं सेतो भयो। 7 अनि उहाँले भन्‍नुभयो: “आफ्नो हात फेरि आफ्नो खोकिलाभित्र हाल!” अनि उनले आफ्नो हात फेरि आफ्नो खोकिलाभित्र हाले, र त्यसलाई आफ्नो खोकिलाबाट फेरि निकाले; अनि हेर, त्यो फेरि उनको अरू मासुझैं भइहाल्यो। 8 “अनि यस्तो हुनेछ: उनीहरूले तिमीलाई विश्‍वास गरेनन्, र त्यो पहिलो चिन्हको कुरा सुनेनन् भने पनि उनीहरूले यो पछिल्‍लो चिन्हको कुरा विश्‍वास गर्नेछन्। 9 अनि यस्तो हुनेछ: उनीहरूले यी दुईवटा चिन्हहरू पनि विश्‍वास गरेनन्, र तिम्रो कुरा मानेनन् भने नील नदीको पानीबाट केही निकालेर सुक्खा जमिनमा खन्याइदेऊ! अनि त्यस नदीबाट तिमीले निकालेको त्यो पानी सुक्खा जमिनमा रगत बन्‍नेछ।”
10 अनि मोशाले परमप्रभुलाई भने: “हे मेरा प्रभु, म बोल्नमा सिपालु छैनँ, न ता पहिले नै थिएँ, न ता तपाईं आफ्नो दाससँग बोल्नुभएको समयदेखि नै छु; तर म त बोल्नमा ढिलो छु, र जिब्रो भद्दा छ।” 11 अनि परमप्रभुले उनलाई भन्‍नुभयो: “कसले मानिसको मुख बनायो? अथवा कसले गुँगा, बहिरा, देख्‍ने वा अन्धा बनाउँछ? के म, परमप्रभुले होइनँ र? 12 यसकारण अब जाऊ, र म तिम्रो मुखको साथमा हुनेछु, र तिमीले जे भन्‍नुपर्छ, सो तिमीलाई सिकाउनेछु।” 13 अनि उनले भने: “हे मेरा प्रभु, म तपाईंलाई विन्‍ती गर्छु, अरू कसैद्वारा पठाउनुहोस्, जसलाई तपाईं पठाउनुहुन्छ!” 14 अनि मोशामाथि परमप्रभुको रिस दन्कियो, र उहाँले भन्‍नुभयो: “के लेवी हारून तिम्रा दाजु होइन र? म जान्दछु, ऊ राम्ररी बोल्न सक्छ। अनि हेर, ऊ त तिमीलाई भेट्न आइरहेको छ; अनि तिमीलाई देखेर ऊ आफ्नो हृदयमा आनन्दित हुनेछ। 15 अनि तिमी उसैसँग बोल्नू, र वचनहरू उसको मुखमा हालिदेऊ! अनि म तिम्रो मुखको साथमा र उसको मुखको साथमा हुनेछु; र तिमीहरूले जे गर्नुपर्छ, सो म तिमीहरूलाई सिकाउनेछु। 16 अनि ऊचाहिँ तिम्रा निम्ति मानिसहरूसँग बोलिदिने वक्ता हुनेछ; अनि यस्तो हुनेछ; ऊ, अँ, ऊ नै तिम्रा निम्ति मुख हुनेछ; अनि तिमीचाहिँ उसका निम्ति ईश्‍वरको स्थानमा हुनेछौ। 17 अनि तिमीले यो लौरो आफ्नो हातमा लिनू, जसद्वारा तिमीले चिन्हहरू देखाउनेछौ।”
मोशा मिस्र देशमा फर्के
18 अनि मोशा गए, र आफ्ना ससुरा येत्रोकहाँ फर्केर गई तिनलाई भने: “मलाई जान दिनुहोस्, म तपाईंलाई विन्‍ती गर्छु, र मिस्रमा भएका मेरा दाजुभाइहरूकहाँ फर्कन र उनीहरू जीवित छन् कि छैनन्, सो हेर्न दिनुहोस्!” अनि येत्रोले मोशालाई भने: “शान्तिसित जाऊ!” 19 अनि मिद्यानमा परमप्रभुले मोशालाई भन्‍नुभयो: “जाऊ, मिस्रमा फर्क; किनकि तिम्रो प्राण लिन खोज्‍ने सबै मानिसहरू मरिसके।” 20 अनि मोशाले आफ्नी पत्‍नी र आफ्ना छोराहरूलाई लिएर तिनीहरूलाई गधामाथि चढ़ाए; अनि उनी मिस्र देशमा फर्के; अनि मोशाले परमेश्‍वरको लौरो आफ्नो हातमा लिए।
21 अनि परमप्रभुले मोशालाई भन्‍नुभयो: “जब तिमी मिस्रमा फर्कन जान्छौ, तब हेर, जुन-जुन अचम्मका कामहरू मैले तिम्रो हातमा राखेको छु, ती सबै अचम्मका कामहरू तिमीले फाराओको सामु देखाउनू! तर म त्यसको हृदय कठोर पार्नेछु, र त्यसले मानिसहरूलाई जान दिनेछैन। 22 अनि तिमीले फाराओलाई भन्‍नू: परमप्रभु यसो भन्‍नुहुन्‍छ: इस्राएल मेरो छोरा, मेरो जेठा छोरा हो। 23 अनि म तँलाई भन्छु: मेरो छोरालाई जान दे, कि उसले मेरो सेवा गरोस्! अनि तैंले उसलाई जान दिन इन्कार गरिस् भने हेर, म तेरो छोरालाई, तेरो जेठा छोरालाई मार्नेछु।”
24 अनि बाटोमा, एउटा पौवामा यस्तो भयो: परमप्रभुले उनलाई भेट्नुभयो, र उनलाई मार्न खोज्‍नुभयो। 25 तब सिप्पोराले एउटा लाग्‍ने ढुङ्गा लिइन्, र आफ्नो छोराको खलड़ी काटिन्, उनका पाउमा फ्याँकिदिइन् र भनिन्: “निश्‍चय तपाईं मेरा निम्ति खूनी पति हुनुहुन्छ।” 26 यसकारण उहाँले उनलाई छोड़िदिनुभयो। तब तिनले भनिन्: “खतनाको कारणले तपाईं रगतको पति हुनुहुन्छ।”
27 अनि परमप्रभुले हारूनलाई भन्‍नुभयो: “मोशालाई भेट्न उजाड़स्थानमा जाऊ!” अनि तिनी गए, र उनलाई परमेश्‍वरको पर्वतमा भेटे, र उनलाई चुम्बन गरे। 28 अनि जुन परमप्रभुले उनलाई पठाउनुभएको थियो, उहाँका सबै वचनहरू, साथै उहाँले उनलाई आज्ञा गर्नुभएका सबै अचम्मका कामहरूको विषयमा मोशाले हारूनलाई बताए। 29 अनि मोशा र हारून गएर इस्राएलीहरूका सबै बूढ़ा प्रधानहरूलाई भेला पारे। 30 अनि हारूनले परमप्रभुका सबै वचनहरू सुनाए, जुन वचनहरू उहाँले मोशालाई भन्‍नुभएको थियो, र मानिसहरूका आँखाको सामु ती चिन्हहरू देखाए। 31 तब मानिसहरूले विश्‍वास गरे; अनि परमप्रभु इस्राएलीहरूलाई भेट्न आउनुभएको र उहाँले तिनीहरूको कष्‍टमाथि नजर लगाउनुभएको कुरा जब उनीहरूले सुने, तब उनीहरूले आफ्ना शिर झुकाएर दण्‍डवत्‌ गरे।