मोशाको बोलावट
3
अब मोशा आफ्ना ससुरा मिद्यानका पूजाहारी येत्रोका बगाल चराउँथे; अनि उनले त्यस बगाललाई मरुभूमिको पछिल्तिर लगे; अनि उनी परमेश्वरको पर्वत अर्थात् होरेबमा आइपुगे। 2 अनि परमप्रभुका दूत आगोको ज्वालामा भईकन एउटा काँड़े पोथ्राको बीचबाट उनीकहाँ देखा पर्नुभयो; अनि उनले हेरे; अनि हेर, काँड़े पोथ्रा आगोले जलिरहेको थियो, तर त्यो काँड़े पोथ्रा भस्म भएन।क 3 अनि मोशाले भने: “म उतातिर फर्केर त्यो महान् दृश्य हेर्नेछु; त्यो पोथ्रा किन डढ़्दैन?” 4 अनि जब परमप्रभुले उनलाई हेर्नका निम्ति फर्केका देख्नुभयो, तब परमेश्वरले त्यस काँड़े पोथ्राको बीचबाट उनलाई बोलाएर भन्नुभयो: “मोशा, ए मोशा!” अनि उनले भने: “म यहाँ छु।” 5 अनि उहाँले भन्नुभयो: “यहाँ नजिक नआऊ! आफ्ना पाउहरूबाट आफ्ना जुत्ता फुकाल; किनकि जुन ठाउँमा तिमी उभिरहेका छौ, त्यो पवित्र भूमि हो!” 6 अनि उहाँले भन्नुभयो: “म तिम्रा बुबाका परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर हुँ।” तब मोशाले आफ्नो मुख छोपे; किनकि उनी परमेश्वरलाई हेर्न डराए। 7 अनि परमप्रभुले भन्नुभयो: “मैले निश्चय नै मिस्रमा भएको मेरो प्रजाको कष्ट देखेको छु; अनि काममा जोत्ने उनीहरूका नाइकेहरूको कारणले उनीहरूको चिच्च्याहट मैले सुनेको छु; किनकि म तिनीहरूका दु:खहरू जान्दछु। 8 अनि उनीहरूलाई मिस्रीहरूको हातबाट छुटाउन, अनि त्यस देशबाट निकालेर उनीहरूलाई एउटा असल र ठूलोख देशमा अर्थात् दूध र मह बग्ने देशमा, अँ, कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको ठाउँमा पुर्याउन म ओर्ली आएको छु। 9 अनि अब हेर, इस्राएलीहरूको चिच्च्याहट मकहाँ आएको छ; अनि मिस्रीहरूले उनीहरूमाथि गरेको थिचोमिचो पनि मैले देखेको छु। 10 यसकारण अब आऊ! म तिमीलाई फाराओकहाँ पठाउनेछु; र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिस्रबाट निकालेर ल्याउनेछौ।”11 अनि मोशाले परमेश्वरलाई भने: “म को हुँ, र म फाराओकहाँ जाऊँ, र इस्राएलीहरूलाई मिस्रबाट निकालेर ल्याऊँ?” 12 अनि उहाँले भन्नुभयो: “निश्चय म तिम्रो साथमा हुनेछु; अनि तिमीलाई मैले पठाएको हुँ भन्ने कुराको चिन्ह यो हुनेछ: जब तिमीले ती मानिसहरूलाई मिस्रबाट निकालेर ल्याउँछौ, तब तिमीहरूले यही पर्वतमाथि परमेश्वरको सेवा गर्नेछौ।” 13 अनि मोशाले परमेश्वरलाई भने: “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ जाउँला, र उनीहरूलाई भनुँला: ‘तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ’, र उनीहरूले मलाई भन्लान्: ‘उहाँको नाम के हो?’ तब म उनीहरूलाई के भनूँ?” 14 अनि परमेश्वरले मोशालाई भन्नुभयो: “म हुँ, जो म हुँ”; अनि उहाँले भन्नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्नू: ‘म हुँ’ले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।”
15 अनि परमेश्वरले मोशालाई फेरि भन्नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्नू: ‘परमप्रभुग तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले – अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाम सदा-सर्वदा यही रहनेछ; अनि पुस्तौंपुस्तासम्म मेरो स्मरण पनि यही हुनेछ। 16 जाऊ, इस्राएलका बूढ़ा प्रधानहरूलाई भेला गर, र उनीहरूलाई भन: परमप्रभु तिमीहरूका पितापुर्खाहरूका परमेश्वर – अब्राहाम, इसहाक र याकूबका परमेश्वर यसो भन्दै मकहाँ देखा पर्नुभयो: ‘निश्चय म तिमीहरूलाई भेट्न आएको छु; र मिस्रमा तिमीहरूसित जे गरियो, सो मैले देखेको छु। 17 अनि मैले भनेको छु: म तिमीहरूलाई मिस्रको कष्टबाट निकालेर कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा अर्थात् एउटा दूध र मह बग्ने देशमा पुर्याउनेछु।’ 18 अनि तिनीहरूले तिम्रो कुरा सुन्नेछन्; अनि तिमी – तिमी र इस्राएलका बूढ़ा प्रधानहरू मिस्रको राजाकहाँ जानू, र तिमीहरूले त्यसलाई यसो भन्नू: ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले हामीसित भेट गर्नुभएको छ; अनि अब हामी तपाईंलाई विन्ती गर्दछौं: हामीलाई तीन दिनको यात्रा गरेर उजाड़स्थानमा जान दिनुहोस्, र हामी परमप्रभु हाम्रा परमेश्वरका निम्ति बलि चढ़ाउन पाऔं!’ 19 अनि म जान्दछु, मिस्रको राजाले तिमीहरूलाई जान दिनेछैन, अँ, शक्तिशाली हातले दबाउँदा पनि दिनेछैन। 20 अनि म मेरो हात बढ़ाउनेछु, र मेरा सबै अचम्मका कामहरूद्वारा मिस्रलाई हिर्काउनेछु, जो म मिस्रकैघ बीचमा गर्नेछु; त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ। 21 अनि म यस प्रजालाई मिस्रीहरूको दृष्टिमा कृपा पाउने तुल्याउनेछु; अनि यस्तो हुनेछ: जब तिमीहरू जान्छौ, तब तिमीहरू रित्तो हात जानेछैनौ। 22 तर हरेक स्त्रीले आफ्नो छिमेकीबाट र उसको घरमा बसेकी यात्रीबाट चाँदीका गहनाहरूङ, सुनका गहनाहरूङ र वस्त्रहरू मागोस्; अनि तिमीहरूले यी थोकहरू आफ्ना छोराहरू र आफ्ना छोरीहरूलाई लगाइदिनू! अनि तिमीहरूले मिस्रीहरूलाई लुट्नेछौ।”