3
हेर, पिताले हामीलाई कस्तो किसिमको प्रेम दिनुभएको छ, कि हामीलाई परमेश्‍वरको सन्‍तान भनियोस् र हामी यही हौँ । यसैकारण, संसारले हामीलाई चिन्‍दैन, किनकि संसारले उहाँलाई चिनेन ।
2 प्रिय हो, अब हामी परमेश्‍वरका सन्‍तानहरू हौँ, र हामी के हुनेछौँ भन्‍ने अझ पनि प्रकट गरिएको छैन । हामी जान्‍दछौँ, कि जब येशू देखा पर्नुहुनेछ, हामी उहाँ जस्‍तै हुनेछौँ, किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ त्‍यस्तै हामी उहाँलाई देख्‍नेछौँ ।
3 उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्‍तो शुद्ध हुनुहुन्‍छ त्‍यस्तै शुद्ध पार्छ ।
4 पाप गर्ने हरेकले व्यवस्था भङ्‌ग गर्छ, पाप व्यवस्था भङ्‌ग हो ।
5 पापहरू हटाई लानलाई नै ख्रीष्‍ट प्रकट हुनुभयो भन्‍ने तिमीहरू जान्‍दछौ, र उहाँमा कुनै पाप छैन ।
6 उहाँमा रहनेले पाप गर्दैन । पाप गर्नेले न उहाँलाई देखेको छ न चिनेको नै हुन्‍छ ।
7 प्रिय बालकहरू हो, तिमीहरूलाई कसैले नबहकाओस् । जस्‍तो ख्रीष्‍ट धर्मिक हुनुहुन्‍छ त्‍यस्तै धार्मिकता गर्ने नै धर्मी हो ।
8 जसले पाप गर्छ, त्‍यो शैतानको हो, किनभने शैतानले सुरुदेखि नै पाप गरेको छ । यसैकारण, परमेश्‍वरको पुत्र प्रकट हुनुभयो, ताकि उहाँले शैतानका कामहरू नष्‍ट गर्नुभएको होस् ।
9 जो परमेश्‍वरबाट जन्‍मेको छ त्‍यसले पाप गर्दैन, किनकि परमेश्‍वरको स्वभाव त्‍यसमा रहन्‍छ, र उसले पाप गर्न सक्दैन, किनकि त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो ।
10 यसैमा परमेश्‍वरका सन्‍तानहरू र शैतानका सन्‍तानहरू प्रकट गरिन्‍छन् । जसले धार्मिकता गर्दैन त्‍यो परमेश्‍वरको होइन, न आफ्नो भाइलाई प्रेम नगर्ने नै हो ।
11 तिमीले सुरुदेखि सुनेको सन्‍देश यही नै हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12 कयिन जस्‍तो होइन जो दुष्‍टको थियो र त्‍यसले आफ्नो भाइलाई मार्‍यो । अनि उसले आफ्नो भाइको हत्‍या किन गर्‍यो ? किनकि उसका कामहरू दुष्‍ट थिए र उसको भाइका काम धार्मिक थिए ।
13 मेरा भाइहरू, यदि संसारले तिमीहरूलाई घृणा गर्छ भने तिमीहरू अचम्म नमान ।
14 हामी जान्‍दछौँ, कि हामी मृत्‍यु पार गरेर जीवनमा सरेका छौँ, किनकि हामी दाजुभाइहरूलाई प्रेम गर्छौं । जसले प्रेम गर्दैन, त्‍यो मृत्‍युमा रहन्‍छ ।
15 जसले आफ्नो भाइलाई घृणा गर्छ त्‍यो हत्‍यारा हो । अनि तिमीहरू जान्‍दछौ, कि कुनै पनि हत्‍यारासँग अनन्‍त जीवन हुँदैन ।
16 यसैद्वारा हामी प्रेम थाहा पाउँछौँ, किनकि ख्रीष्‍टले हाम्रो निम्ति आफ्नो जीवन दिनुभयो । हामीले पनि हाम्रा दाजुभाइहरूका निम्ति हाम्रो जीवन दिनुपर्छ ।
17 तर जससँग संसारका थोकहरू छन्, जसले आफनो भाइ खाँचोमा परेको देखेर पनि दयाको हृदय त्‍यसबाट बन्‍द गर्छ भने कसरी परमेश्‍वरको प्रेम त्‍यसमा रहन्‍छ ?
18 मेरा प्रिय बालकहरूल हो, हामी वचन र मुखले मात्र प्रेम नगरौँ, तर सत्‍यता र कामले प्रेम गरौँ ।
19 यसैद्वारा हामी सत्‍यका हौँ भन्‍ने जान्‍दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं ।
20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्‍छ भने परमेश्‍वर हाम्रो हृदय भन्‍दा महान् हुनुहुन्‍छ, र उहाँले सबै थोक जान्‍नुहुन्‍छ ।
21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।
22 अनि हामीले जे माग्छौँ त्‍यो हामी उहाँबाट पाउँछौँ, किनकि हामीले उहाँका आज्ञाहरू पालन गर्छौं र उहाँको दृष्‍टिमा असल हुने थोकहरू गर्छौं ।
23 अनि यो उहाँको आज्ञा हो, जस्‍तो उहाँले हामीलाई यो आज्ञा दिनुभयो, हामीले उहाँका पुत्र येशू ख्रीष्‍टको नाउँमा विश्‍वास गर्नुपर्छ र एक अर्कोलाई प्रेम गर्नुपर्छ ।
24 जसले परमेश्‍वरका आज्ञाहरू पालन गर्छ, त्‍यो उहाँमा रहन्‍छ र परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ । अनि यसैद्वारा हामी जान्‍दछौ, कि हामीलाई दिनुभएको पवित्र आत्माद्वारा उहाँ हामीमा रहनुहुन्‍छ ।