पत्रुसको दोस्रो पत्र
1
येशू ख्रीष्‍टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्‍वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्‍टमा हाम्रो जस्‍तै मूल्यवान् विश्‍वास प्राप्‍त गरेकाहरूलाई ।
2 तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्‍ति प्रशस्त हुँदै जाओस् ।
3 आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
4 यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्‍छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।
5 यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।
6 तिमीहरूको ज्ञानद्वारा आत्मसंयम र आत्मसंयमद्वारा सहनशीलता अनि सहनशीलताद्वारा ईश्‍वरभक्ति ।
7 तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।
8 यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्‍छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।
9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्‍छ ।
10 त्‍यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्‍यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।
11 त्‍यसकारण, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्‍त राज्‍यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।
12 यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्‍यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
13 जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्‍नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्‍छ भन्‍ने मलाई लाग्छ ।
14 किनकि मैले यो पाललाई चाँडै त्‍याग्दै छु भन्‍ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्‍टले यो मलाई देखाउनुभएको छ ।
15 मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
16 किनकि हामीले येशू ख्रीष्‍टको शक्‍ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्‍त्‍यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्‍यक्ष साक्षी थियौँ ।
17 उहाँले परमेश्‍वर पिताबाट आदर र महिमा प्राप्‍त गर्नुभयो, जब वैभवपूर्ण महिमाबाट यो स्वर आएको थियोः “यिनी मेरा प्रिय पुत्र हुन्, जोसित म धेरै खुसी छु ।”
18 हामी उहाँसित पवित्र डाँडामा हुँदा हामीले स्वर्गबाट आएको त्‍यो आवाज सुन्‍यौँ ।
19 हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्‍यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्ती जस्‍तै छ ।
20 तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
21 किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्‍छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।