5
सङ्‌गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
2 त्‍यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्‍छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्‍छाले ।
3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिक जस्‍तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन ।
4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।
5 त्‍यसै गरी, तिमी युवकहरू वृद्धहरूको अधीनमा बस । तिमीहरू सबैले विनम्रताको वस्‍त्र धारण गर र एक-अर्काको सेवा गर किनकि परमेश्‍वरले अहंकारीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ ।
6 त्‍यसकारण, आफैँलाई उहाँको शक्‍तिशाली बाहुलीमुनि नम्र तुल्याओ, ताकि उहाँले उचित समयमा तिमीहरूलाई उच्‍च पार्नुभएको होस् ।
7 तिम्रा सबै चिन्‍ता-फिक्री उहाँमा सुम्पिदेओ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्‍छ ।
8 सचेत र जागा रहो । तिमीहरूको शत्रु दियाबलस कसैलाई भेटेर निल्नको निम्ति गर्जने सिंहझैँ खोजिरहेको छ ।
9 त्‍यसको विरुद्धमा खडा होओ । तिमीहरूको विश्‍वासमा दह्रिलो बन । यो जान कि संसारमा भएका तिमीहरूका भाइहरूले पनि यस्तै कष्‍टहरू भोगिरहेका छन् ।
10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।
11 सबै शक्‍ति सदा सर्वदा उहाँकै होस् । आमेन ।
12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्‍छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्‍छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्‍यसमा खडा होओ ।
13 तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
14 प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्‍ट येशूमा हुने तिमीहरू सबैलाई शान्‍ति होस् ।