4
यसैकारण, जसरी ख्रीष्‍टले शरीरमा कष्‍ट भोग्‍नुभयो, तिमीहरूले पनि त्‍यस्तै उद्देश्य धारण गर । जसले शरीरमा कष्‍ट भोगेको छ उसले पाप गर्न छोडेको हुन्‍छ ।
2 यो व्यक्‍तिले अब उसो मानवीय अभिलाषामा होइन, तर आफ्नो बाँकी जीवन परमेश्‍वरको इच्‍छाको निम्ति जिउँछ ।
3 किनकि अन्‍यजातिले इच्‍छा गरे जस्‍तो कामुकता, कुवासना, मद्यपान, मोजमज्‍जा, पियक्‍कडपन, असभ्य भोजहरू अनि घृणित मूर्तिपूजाहरूमा धेरै समय खर्च भइसकेको छ ।
4 तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्‍छन् । त्‍यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
5 तिनीहरूले जीवित र मरेकाहरूको न्‍याय गर्न तयार हुनुहुनेलाई लेखा दिनेछन् ।
6 त्‍यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्‍याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् ।
7 सबै कुराको अन्‍त्‍य आउँदै छ । त्‍यसैले, आफ्नो मन ठिक ठाउँमा लगाओ र तिमीहरूका प्रार्थनाको खातिर आफ्नो विचारमा सचेत रहो ।
8 सबै कुरा भन्‍दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।
9 गनगन नगरी एक-अर्काको अतिथि सत्कार गर,
10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारे जस्‍तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।
12 प्रिय हो, तिमीहरूलाई जाँच गर्नको निम्ति कुनै अग्‍निमय परीक्षा आइपरेमा त्‍यसलाई अनौठो नसम्झ ।
13 तर जति तिमीहरू ख्रीष्‍टको दुःख भोग्‍छौ, त्‍यति रमाओ ताकि उहाँको महिमा प्रकट हुँदा तिमीहरू पनि आनन्‍द मनाउन सक्‍नेछौँ ।
14 तिमीहरू ख्रीष्‍टको नाउँको कारण अपमानित भयौ भने तिमीहरू धन्‍यका हौ, किनकि महिमाका आत्मा र परमेश्‍वरका आत्मा तिमीहरूमाथि रहनुहुन्‍छ ।
15 तर तिमीहरू कसैले पनि हत्‍यारा, चोर, खराबी गर्ने अथवा अर्काको कुरामा हात हाल्ने व्यक्‍तिको रूपमा दुःख भोग्‍नु नपरोस् ।
16 तरै पनि ख्रीष्‍टियान भएको कारणले कसैले पीडा भोग्छ भने उसले लाज नमानोस्, तर त्‍यही नाममा परमेश्‍वरको महिमा गरोस् ।
17 किनकि यो परमेश्‍वरको परिवारबाट न्‍याय सुरु हुने समय हो । अनि यदि न्‍याय हामीबाट सुरु हुन्‍छ भने, परमेश्‍वरको वचन नमान्‍नेको अवस्था कस्तो होला ?
18 अनि “धर्मी जनको उद्धारचाहिँ उसको कठिनाइले हुन्‍छ भने, अधर्मी र पापीको अवस्था के होला ?”
19 त्‍यसैले परमेश्‍वरको इच्‍छामा दुःख भोग्‍नेहरूले असल काम गर्दै आफ्नो आत्मा सृष्‍टिकर्तालाई सुम्पून् ।