3
यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्‍छ ।
2 किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् ।
3 यसको लागि केशको शृङ्‌गार, सुनका गरगहनाहरू, शृङ्‌गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।
4 तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्‍त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।
5 किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्‌गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।
6 यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्‍थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्‍यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्‍छौ ।
7 त्‍यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।
8 अन्‍त्‍यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
9 खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्‍यसको विपरीत निरन्‍तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
10 “जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्‍छ र असल दिनहरू देख्‍ने इच्‍छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
11 ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्‍यही गरोस् । उसले शान्‍तिको खोजी गरोस् र त्‍यसैमा लागिरहोस् ।
12 परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्‍छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्‍छ ।”
13 तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ ?
14 तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
15 बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्‍यसको जवाफ दिन सधैँ तयार बस ? यो काम नम्रता र आदरपूर्वक गर ।
16 असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्‍दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।
17 परमेश्‍वरले इच्‍छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नु भन्‍दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्‍छ ।
18 ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्‍यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
19 उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो ।
20 नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
21 यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्‌केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरे जस्‍तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो ।
22 उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्‍छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।