2
त्‍यसकारण सबै दुष्‍ट्‌याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।
2 नवजात शिशुहरूले जस्‍तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्‍यसबाट मुक्तिमा बढ्न सक,
3 यदि प्रभु भला हुनुहुन्‍छ भनी तिमीहरूले चाखेका छौ भने,
4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्‍छ, तर त्‍यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पूजाहारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरू जस्‍तै हौ ।
6 धर्मशास्‍त्रले भन्‍दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्‌गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो शर्ममा पर्नेछैन ।”
7 त्‍यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्‍यो ढुङ्‌गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्‍यो नै कुनाको शिर-ढुङ्‌गा भयो ।”
8 र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्‌गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्‌घन गरेको कारण तिनीहरू ठक्‍कर खान्‍छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्‍यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्‍योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।
10 तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ ।
11 हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्‍छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।
12 अरू जातिहरूका बीचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।
13 प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्,
14 या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।
15 किनकि परमेश्‍वरको इच्‍छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।
16 स्वतन्‍त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरू जस्‍तै बन ।
17 सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।
18 कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि ।
19 किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो ।
20 यदि तिमीले पाप गरेर सहन्‍छौ भने त्‍यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्‍छौ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।
21 यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।
22 उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
23 उहाँको अपमान हुँदा उहाँले त्‍यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्‍याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।
24 हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।
25 तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।