पत्रुसको पाहिलो पत्र
1
पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि छरिएर रहेका परदेशीहरूलाई येशू ख्रीष्‍टका प्रेरित पत्रुसबाट ।
2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्‍तिको वृद्धि होस् ।
3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्‍यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्‍म दिनुभयो ।
4 किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
5 अन्‍तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।
6 अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।
7 तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुन भन्‍दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।
8 तिमीहरूले उहाँलाई देखेका छैनौ, तर तिमीहरू उहाँलाई प्रेम गर्छौ । तिमीहरू अहिले उहाँलाई देख्‍दैनौ, तर तिमीहरू उहाँमा विश्‍वास गर्छौ र व्यक्त गर्न नसकिने महिमाले भरिपूर्ण आनन्‍दमा तिमीहरू धेरै खुसी छौ ।
9 अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।
10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्‍यानसित खोजतलास गरेका थिए ।
11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्‍यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्‍यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्‍थ्यो ।
12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्‍छा गर्छन् ।
13 त्‍यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
14 आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्‍छाहरूमा नचल ।
15 तर तिमीहरूलाई बोलाउनुहुने जस्‍तो पवित्र हुनुहुन्‍छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
17 जसले प्रत्‍येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्‍याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्‍छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।
18 तिमीहरूलाई थाहा छ, कि तिमीहरूले तिमीहरूका सांसारिक पिताहरूबाट सिकेका मूर्ख बानीहरूबाट नष्‍ट भएर जाने चाँदी वा सुनबाट छुटकारा पाएका होइनौ ।
19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्‍छ ।
20 येशू संसारको जग बसालिनु भन्‍दा पहिले नै छानिनुभएको थियो, तर यी अन्‍तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
22 सत्‍यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्‍यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।
23 तिमीहरू नयाँ गरी जन्‍मेका छौ, त्‍यो नाशवान् वीर्यबाट होइन, तर जीवित र रहिरहने परमेश्‍वरको वचनको अविनाशी वीर्यबाट ।
24 किनकि “सबै देह घाँस जस्‍तै हुन् र तिनका सबै महिमा घाँसका फुल जस्‍तै हुन् । घाँस सुक्छ र फुल ओइलाउँछ ।”
25 तर परमेश्‍वरको वचन सदासर्वदा रहिरहन्‍छ । सुसमाचारको रूपमा यही सन्‍देशलाई तिमीहरूकहाँ घोषणा गरिएको थियो ।