याकूबको पत्र
1
परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन ।
2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्‍यसलाई पूर्ण रूपमा आनन्‍द सम्झ,
3 तिमीहरू जान्‍दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ ।
4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
5 तर यदि तिमीहरूमध्‍ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्‍यो दिनुहुनेछ ।
6 तर उसले शङ्‌का नगरी विश्‍वाससाथ मागोस् । किनभने शङ्‌का गर्नेचाहिँ बतासले हुत्त्‍याउने र यताउता पल्टाउने समुद्रको छाल जस्‍तो हुन्‍छ ।
7 त्‍यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
8 त्‍यस्तो व्यक्‍ति दोहोरो मनको हुन्‍छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्‍छ ।
9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,
10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्‌गली फुलझैँ ओइलाएर बितिजानेछ ।
11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्‍छ । त्‍यसै गरी, धनी मानिस आफ्नो यात्राको बीचमा नै बिलाएर जानेछ ।
12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न ।
14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।
15 अभिलाषाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्‍यसले मृत्‍यु ल्याउँछ ।
16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्‍योतिका पिताबाट त्‍यो तल आउँछ । उहाँ बद्‌लिरहने छाया जस्‍तो बद्‌लिनुहुन्‍न ।
18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्‍यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।
21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।
22 आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिस जस्‍तै हो ।
24 उसले आफैँलाई जाँच्‍छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्‍तै बिर्सिहाल्‍छ ।
25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होशियारीपूर्वक ध्‍यान दिने र निरन्‍तर त्‍यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
26 यदि कसैले आफैँलाई धार्मिक ठान्‍दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्‍छ र उसको धर्म व्यर्थको हुन्‍छ ।
27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्‌क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।