13
भ्रातृ-प्रेम बनिरहोस् ।
2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।
3 तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिए जस्‍तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भए जस्‍तै तिनीहरूको सम्झना गर ।
4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्‍यभिचारीहरूलाई परमेश्‍वरले न्‍याय गर्नुहुनेछ ।
5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्‍याग्‍नेछु ।”
6 हामी सन्‍तुष्‍ट होऔँ । त्‍यसकारण, हामी साहससाथ भन्‍न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्‍छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र ?”
7 तिमीहरूलाई परमेश्‍वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्‍वासको देखासिखी गर ।
8 येशू ख्रीष्‍ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्‍छ ।
9 विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्‍छ ।
10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्‍थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
11 किनकि पाप क्षमाका निम्ति प्रधान पूजाहारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्‍थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्‍थ्‍यो ।
12 त्‍यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्‍नुभयो ।
13 त्‍यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्‍दामा सहभागी होऔँ ।
14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ ।
15 त्‍यसैले, उहाँद्वारा परमेश्‍वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो ।
16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्‍छ ।
17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्‍तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन ।
18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्‍चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ ।
19 अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्‍छु । त्‍यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्‍त करारको रगतद्वारा मृत्‍युबाट जीवनमा ल्याउनुहुने शान्‍तिका परमेश्‍वरले,
21 उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्‍जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्‍यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।
22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्‍छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्‍वतन्‍त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्‍नेछु ।
24 तिम्रा सबै विश्‍वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।