यूहन्‍नाको पहिलो पत्र
1
सुरुदेखि नै हुनुभएको जीवनको वचनको बारेमा, जुन हामीले सुनेका छौँ, हाम्रा आफ्नै आँखाले देखेका छौँ, हामीले विचार गरेका छौँ र हाम्रा आफ्नै हातहरूले छोएका छन्
2 (अनि जीवन प्रकट गरियो र हामीले देखेका छौँ, गवाही दिन्‍छौँ, अनि तिमीहरूलाई अनन्‍त जीवन घोषणा गर्छौं जुन पितासँग थियो, र हामीलाई प्रकट गरिएको थियो);
3 जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्‌गति होस् । हाम्रो सङ्‌गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्‍छ ।
4 र तिमीहरूको आनन्‍द पुरा होस् भनेर हामी यी कुराहरू तिमीहरूलाई लेख्छौँ ।
5 हामीले उहाँबाट सुनेको वचन यही हो र हामी तिमीहरूलाई घोषणा गर्छौं, कि परमेश्‍वर ज्‍योति हुनुहुन्‍छ र उहाँमा कुनै अन्धकार छैन ।
6 हामीले उहाँसँग सगङ्‌ति गर्छौं भनी भन्‍छौँ र अन्धकारमा हिँड्छौँ भने, हामी झुट बोल्छौँ र सत्‍य व्यवहार गर्दैनौँ ।
7 तर उहाँ ज्‍योतिमा हुनुभएझैँ हामी ज्‍योतिमा हिँड्छौँ भने, हामी एक अर्कासँग सङ्‌गति गर्छौं, र उहाँका पुत्र येशू ख्रीष्‍टको रगतले हामीलाई हाम्रा सबै पापबाट शुद्ध पार्छ ।
8 यदि हामीले हामीसँग पाप छैन भन्‍छौँ भने, हामीले आफैँलाई धोका दिन्‍छौँ, र हामीसँग सत्‍य हुँदैन ।
9 तर यदि हामीले आफ्ना पापहरू स्वीकार‍ गर्छौं भने उहाँ हामीलाई हाम्रा पापहरू क्षमा गर्न र सबै अधर्मबाट हामीलाई शुद्ध पार्न विश्‍वासयोग्य र धर्मी हुनुहुन्‍छ ।
10 यदि हामीले पाप गरेका छैनौँ भन्‍छौँ भने हामीले उहाँलाई झुटा तुल्‍याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।