2
मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्‍छ ।
2 उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्‍छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।
3 यदि हामीले उहाँको आज्ञा पालन गर्छौं भने यसैद्वारा हामी जान्‍दछौँ कि हामी उहाँलाई चिन्‍छौँ ।
4 जसले “म परमेश्‍वरलाई चिन्‍छु “ भन्‍छ, तर उहाँको आज्ञा पालन गर्दैन भने त्‍यो झुटो हो, र त्‍यसमा सत्‍य हुँदैन ।
5 तर जसले उहाँको वचन पालन गर्छ, साँच्‍चै त्‍यो व्‍यक्‍ति परमेश्‍वरको प्रेमले सिद्ध भएको हुन्‍छ । हामी उहाँमा छौँ भन्‍ने हामी यसैद्वारा थाहा पाउनेछौँ ।
6 परमेश्‍वरमा रहन्‍छु भन्‍ने व्यक्‍ति आफैँ पनि येशू ख्रीष्‍ट जिउनु भएझैँ जिउनुपर्छ ।
7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो ।
8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।
9 जसले ज्‍योतिमा छु भन्‍छ र आफ्नो भाइलाई घृणा गर्छ, त्‍यो अझ पनि अन्‍धकारमा नै छ ।
10 जसले आफ्नो भाइलाई प्रेम गर्छ त्‍यो ज्‍योतिमा रहन्‍छ, र त्‍यसलाई ठेस लाग्‍ने कुनै अवसर हुँदैन ।
11 तर जसले आफ्नो भाइलाई घृणा गर्छ, त्‍यो अझै अन्‍धकारमा नै हुन्‍छ र अन्‍धकारमा हिँड्छ । त्‍यो कहाँ गइरहेको छ भनी त्‍यसलाई थाहा पाउँदैन, किनभने अन्‍धकारले त्‍यसको आँखा अन्‍धो तुल्‍याएको छ ।
12 मेरा प्रिय बालकहरू, म तिमीहरूलाई लेख्छु, किनभने तिमीहरूका पाप ख्रीष्‍टको नाउँको खातिर क्षमा गरिएका छन् ।
13 बुबाहरू हो, म तपाईंहरूलाई लेख्‍छु, किनभने सुरुदेखि नै हुनुहुनेलाई तपाईंहरू चिन्‍नुहुन्‍छ । जवानहरू हो, म तिमीहरूलाई लेख्‍छु, किनभने तिमीहरूले दुष्‍टलाई जितेका छौ । साना बालकहरू हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू पितालाई चिन्‍छौ ।
14 बुबाहरू, मैले तपाईंहरूलाई लेखेको छु, किनभने तपाईंहरूले सुरुदेखि हुनुहुनेलाई चिन्‍नुहुन्‍छ । जवानहरू, मैले तिमीहरूलाई लेखेको छु, किनकि तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरू दुष्‍टमाथि विजय भएका छौ ।
15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन ।
16 किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
17 संसार र यसका इच्‍छाहरू बितेर जाँदै छन् । तर जसले परमेश्‍वरको इच्‍छाअनुसार गर्छ, त्‍यो सदासर्वदा रहिरहन्‍छ ।
18 साना बालकहरू हो, यो आखिरी घडी हो । तिमीहरूले ख्रीष्‍ट विरोधी आइरहेको छ भनी सुन्‍दै छौ, अहिले पनि धेरै ख्रीष्‍ट विरोधीहरू आइसकेका छन् । यसद्वारा नै यो आखिरी घडी हो भन्‍ने हामी जान्‍दछौँ ।
19 तिनीहरू हामीबाट बाहिर गए, तर तिनीहरू हाम्रा थिएनन्‌ । यदि तिनीहरू हाम्रा भएका भए तिनीहरू हामीहरूसँगै रहिरहने थिए, तर तिनीहरू हाम्रा होइनन् भन्‍ने देखाउन तिनीहरू गए ।
20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्‍दछौ ।
21 तिमीहरूले सत्‍य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्‍य नहुने हुनाले हो ।
22 येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी इन्‍कार गर्नेबाहेक अर्को झुट को हुन्‍छ ? यो व्‍यक्‍ति नै ख्रीष्‍ट विरोधी हो, किनभने त्‍यसले पिता र पुत्रलाई इन्‍कार गर्छ ।
23 पुत्रलाई इन्‍कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्‍न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्‍छ ।
24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्‍छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्‍छौ ।
25 उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्‍त जीवन यही हो ।
26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु ।
27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्‍छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
28 अब मेरा प्रिय बालकहरू हो, उहाँमा रहो, ताकि उहाँ प्रकट हुनुहुँदा हामीमा साहस होस्‌ र उहाँको आगमनमा उहाँको सामु लज्‍जित हुनु नपरोस्‌ ।
29 यदि उहाँ धर्मी हुनुहुन्‍छ भनी तिमीहरूले जान्‍दछौ भने धार्मिक व्यवहार गर्ने हरेक उहाँबाट जन्‍मेको हो भन्‍ने तिमीहरूले जान्‍दछौ ।