3
प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
2 ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
3 पहिले यो कुरा जान कि अन्‍तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्‍छामा हिँड्दै आउनेछन् ।
4 अनि यसो भन्‍दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो ? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।” s5
5 धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्‍छाले बिर्सन्‍छन् ।
6 अनि त्‍यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो
7 अनि स्वर्ग र पृथ्वी आगोको न्‍यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्‍यही वचनद्वारा सुरक्षित राखिएको छ ।
8 प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्‍छ ।
9 अरूले सोचे जस्‍तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्‍छ । उहाँ तिमीहरूमध्‍ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्‍छ ।
10 तर परमेश्‍वरको समय चोर जस्‍तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो ? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्‍यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
14 त्‍यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्‍तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्‍न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्‌ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्‌ग्याउँदै आफ्नो विनाश निम्त्‍याउँछन् ।
17 त्‍यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस् ! आमेन ।