4
प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।
2 यसैद्वारा तिमीहरूले परमेश्‍वरको आत्मालाई चिन्‍नेछौः येशू ख्रीष्‍ट शरीरमा आउनुभयो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरको हो ।
3 अनि येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरको होइन । यो ख्रीष्‍ट विरोधी आत्मा हो, जुन तिमीहरूले संसारमा आउँदै छ भनी सुनेका छौ, र त्‍यो संसारमा अगिदेखि नै छ ।
4 मेरा प्रिय बालकहरू हो, तिमीहरू परमेश्‍वरका हौ, र तिमीहरूले ती आत्माहरूलाई जितेका छौ, किनभने तिमीहरूमा जो हुनुहुन्‍छ उहाँ संसारमा हुने भन्‍दा महान् हुनुहुन्‍छ ।
5 ती आत्माहरू संसारका हुन्, यसकारण, तिनीहरूले भनेका कुराहरू संसारकै हुन्, र संसारले तिनीहरूको कुरा सुन्‍छ ।
6 हामी परमेश्‍वरका हौँ । जसले परमेश्‍वरलाई चिन्‍छ, त्‍यसले हाम्रो कुरा सुन्‍छ । जो परमेश्‍वरका होइनन्, त्‍यसले हाम्रो कुरा सुन्‍दैन । यसैद्वारा हामी सत्‍यको आत्मा र झुटको आत्मालाई चिन्‍छौँ ।
7 प्रिय हो, एक अर्कालाई प्रेम गरौँ, किनकि प्रेम परमेश्‍वरको हो, र हरेक जसले प्रेम गर्छ, त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो र त्‍यसले परमेश्‍वरलाई चिन्‍छ ।
8 जसले प्रेम गर्दैन, त्‍यसले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ ।
9 यसैमा परमेश्‍वरको प्रेम हामीहरूमाझ प्रकट भएको छ, कि जसद्वारा हामी जिउन सकौँ भनेर परमेश्‍वरले संसारमा उहाँका एक मात्र पुत्र पठाउनुभएको छ ।
10 यसैमा उहाँको प्रेम छ, हामीले परमेश्‍वरलाई प्रेम गरेकाले होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभएको छ, अनि हाम्रा पापहरूका लागि प्रायश्‍चित्त हुन उहाँका पुत्र पठाउनुभयो ।
11 प्रिय हो, परमेश्‍वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो भने हामीले पनि एक अर्कालाई प्रेम गर्नुपर्छ ।
12 परमेश्‍वरलाई कसैले कहिल्यै देखेको छैन । यदि हामी एक अर्कालाई प्रेम गर्छौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ ।
13 यसैद्वारा हामी जान्‍दछौँ, कि हामी उहाँमा रहन्‍छौँ र उहाँ हामीमा रहनुहुन्‍छ, किनभने उहाँले हामीलाई उहाँका आत्मा दिनुभएको छ ।
14 अनि हामीले देखेका छौँ र गवाही दिएका छौँ, कि पिताले संसारको मुक्‍तिदाता हुन पुत्रलाई पठाउनुभएको छ ।
15 जसले येशू परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनी स्वीकार गर्छ, परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ र त्‍यो परमेश्‍वरमा रहन्‍छ ।
16 अनि हामीप्रति परमेश्‍वरले गर्नुभएको प्रेमलाई हामीले जानेका छौँ र विश्‍वास गरेका छौँ । परमेश्‍वर प्रेम हुनुहुन्‍छ र जो प्रेममा रहन्‍छ, त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ ।
17 न्‍यायको दिनमा हामीमा दृढता होस् भनेर यसैमा प्रेम हामीमाझ सिद्ध बनाइएको छ, किनभने उहाँ जस्‍तो हुनुहुन्‍छ, हामी यस संसारमा त्‍यस्तै छौँ ।
18 प्रेममा कुनै डर हुँदैन । तर सिद्ध प्रेमले डरलाई हटाउँछ, किनभने डरले दण्डसँग सरोकार राख्छ । तर जो डराउँछ, त्‍यो प्रेममा सिद्ध बनाइएको हुँदैन ।
19 हामी प्रेम गर्दछौँ, किनभने परमेश्‍वरले हामीलाई पहिले प्रेम गर्नुभयो ।
20 कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ तर आफ्नो भाइलाई घृणा गर्छ भने, त्‍यो झुटो हो, किनकि त्‍यसले देखेको आफ्नो भाइलाई प्रेम गर्दैन भने त्‍यसले नदेखेको परमेश्‍वरलाई प्रेम गर्न सक्दैन ।
21 अनि उहाँबाटको यो आज्ञा हामीसँग छ, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ, त्‍यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ ।