3
तर यो जान कि अन्‍तिम दिनहरूमा खतरापूर्ण समय आउनेछ ।
2 किनकि मानिसहरू आफैलाई प्रेम गर्नेहरू, धनका प्रेमी, घमण्डी, हठी, अरूको निन्‍दा गर्ने, आमा बुबाले भनेको नमान्‍ने, कृतघ्‍न, अपवित्र,
3 स्वाभाविक प्रेमरहित, कठोर, निन्‍दा गर्नेहरू, आत्म-नियन्‍त्रण गर्न नसक्‍ने, विद्रोही, असल नरुचाउने,
4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।
5 तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।
6 यी मानिसहरूमध्‍ये केही मानिसहरू घर-घरमा पसेर मूर्खताले भरिएका विभिन्‍न पाप-स्वभावले थिचिएका र धेरै अभिलाषाले प्रभावित स्‍त्रीहरूलाई अधीनमा पार्छन ।
7 यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्‍छन्, तर कहिल्यै सत्‍यको ज्ञानमा आउन सक्दैनन् ।
8 जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्‍यसरी नै यी झुटा शिक्षकहरू सत्‍यको विरुद्धमा खडा हुन्‍छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् ।
9 यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्, किनकि तिनीहरूको मूर्खता यी दुई मानिसको जस्‍तै सबै मानिसहरूलाई थाहा हुनेछ ।
10 तर तिमीहरूले मेरो शिक्षा, आचरण, उद्देश्य, विश्‍वास, धैर्य धारण, प्रेम, सहनशक्‍ति,
11 सतावट, दुःखभोग अनि एन्टिओखिया, आइकोनियन र लुस्‍त्रामा ममाथि आइपरेका कुराको अनुकरण गर्‍यौ । मैले त्‍यस्ता सतावटहरू सहेँ र प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयो ।
12 ख्रीष्‍ट येशूको भक्‍तिमा जिउन चाहने मान्‍छे सधैँ सतावटमा पर्छ ।
13 दुष्‍ट मानिस र ठगाहाहरू अझ खराब हुनेछन्, तिनीहरूले अरूलाई पथभ्रष्‍ट बनाउँछन्, र आफू पनि अरूद्वारा पथभ्रष्‍ट पारिन्‍छन् ।
14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।
15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।
16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्‍तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्‍जित हुन सकून् ।