2
त्‍यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
2 र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।
3 येशू ख्रीष्‍टको असल सिपाहीझैँ मसँग कष्‍ट भोग ।
4 सेनामा भर्ना भएको कुनै पनि जवान आफ्नो जीवनको अन्‍य काममा लाग्दैन, ताकि उसले आफ्नो हाकिमलाई खुसी पार्न सकोस् ।
5 कोही खेलमा भाग लिन्‍छ भने, उसले नियमअनुसार नखेली मुकुट जित्‍न सक्दैन ।
6 परिश्रम गर्ने किसानले नै आफ्नो बालीको पहिले भाग प्राप्‍त गर्नुपर्छ ।
7 मैले भनेका कुरामा विचार गर, किनकि परमेश्‍वरले तिमीलाई सबै कुरामा समझशक्‍ति दिनुहुनेछ ।
8 मैले सुसमाचारको सन्‍देशमा भनेअनुसार दाऊदको वंशबाट आउनुभएका येशू ख्रीष्‍टको सम्झना गर ।
9 जुन कुराको लागि मैले अपराधीझैँ बन्धनमा पर्ने अवस्थासम्म कष्‍ट भोगेँ । तर परमेश्‍वरको वचन बन्धनमा परेको छैन ।
10 त्‍यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्‍छु, ताकि तिनीहरूले अनन्‍तको महिमाका साथ येशू ख्रीष्‍टमा भएको मुक्‍ति प्राप्‍त गरून् ।
11 यो भनाइ भरोसायोग्य छः “हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जीवित पनि हुनेछौँ ।
12 हामीले सह्यौँ भने, हामीले उहाँसँगै राज्‍य गर्नेछौँ । हामीले उहाँलाई इन्कार गर्‍यौँ भने, उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्‍छ ।
13 हामी उहाँमा विश्‍वासयोग्य भएनौँ भने, उहाँ विश्‍वासयोग्य हुनुहुन्‍छ, किनकि उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न ।
14 तिनीहरूलाई यी कुराहरूको निरन्‍तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।
15 सत्‍यको वचनलाई होशियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदार जस्‍तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।
16 भक्‍तिहीन कुरालाई त्‍याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
17 तिनीहरूको वचन निको नहुने सइनको घाउ जस्‍तै फैलिनेछ । तिनीहरूमध्‍ये हुमेनियस र फिलेतस हुन् ।
18 ती मानिसहरू सत्‍यताबाट टाढा हराइरहेका छन् र तिनीहरूले येशूको पुनरुत्थान पहिले नै भइसकेको छ भनेर भन्‍दछन्, र तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन् ।
19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्‍छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्‍छ” र “जसले उहाँको नाउँ लिन्‍छ, त्‍यो सबै अधर्मबाट टाढा रहोस्” ।
20 सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुदैनन्, तर त्‍यहाँ माटा र काठका भाँडा पनि हुन्‍छन्, र कति आदर र कति अनादरको निम्ति प्रयोग हुन्‍छन् ।
21 कसैले अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्‍छ ।
22 जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्‍तिको खोजी गर ।
23 तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस ।
24 परमेश्‍वरका सेवकहरूले झगडा गर्नु हुँदैन, तर तिनीहरू सबैका लागि दयालु, सिकाउन सक्‍ने र धैर्यवान् हुनुपर्दछ ।
25 उहाँका विरोधीहरूलाई विनम्रतामा सुधार्ने हुनुपर्छ । शायद परमेश्‍वरले तिनीहरूलाई सत्‍यताको ज्ञानको लागि पश्‍चात्ताप दिनुहुनेछ ।
26 अनि दुष्‍टले आफ्नो इच्‍छा पुरा गर्नको लागि पारेको पासोबाट उम्किएर तिनीहरूको चेतना फर्किनेछ ।