तिमोथीलाई पावलको पाहिलो पत्र
1
हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार येशू ख्रीष्‍टको प्रेरित पावल,
2 विश्‍वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति ।
3 मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्‍तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्‍त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।
4 नत तिनीहरूले कथाहरू र अनन्‍त वंशावलीहरूतिर ध्‍यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।
5 तर आज्ञाको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्‍कपट विश्‍वासबाट आउने प्रेम हो ।
6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
7 तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्‍न चाहन्‍छन्, तर तिनीहरूले जे भन्‍छन वा जे कुरामा जोड दिन्‍छन तिमीहरूले नै बुझ्दैनन् ।
8 तर यदि कसैले न्‍यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।
9 हामी यो पनि जान्‍दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्‍यावस्‍थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्‍वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्‍याराहरूका निम्ति,
10 अनैतिक यौनसम्‍बन्‍ध राख्‍ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्‍वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
11 यो मलाई सुम्पिएको धन्‍य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
12 र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्‍यवाद दिन्‍छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
13 म पहिला ईश्‍वरनिन्‍दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्‍जानमा र अविश्‍वासमा गरेको कारण मैले कृपा प्राप्‍त गरेँ ।
14 तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्‍ट येशूमा भएको विश्‍वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
15 यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबै भन्‍दा तुच्‍छ हुँ ।
16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्‍त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप म सबै भन्‍दा तुच्‍छ मानिसमा ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नु भएको होस् ।
17 अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन ।
18 मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्‍छु ताकि तिमी असल लडाइँ लड्‍न सक ।
19 यसैले तिमीले विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासमा नष्‍ट भएका छन् ।
20 हुमेनियस र अलेक्जेन्डर जस्‍ता मानिसहरुलाई मैले शैतानको हातमा सुम्पेकोछु ताकि तिनीहरूले निन्‍दा गर्नु हुँदैन भनेर सिकून् ।