तीतसलाई पावलको पत्र
1
परमेश्‍वरका सेवक र येशू ख्रीष्‍टका प्रेरित पावल परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको विश्‍वासलाई स्थापित गर्न र सत्‍यताको ज्ञानलाई स्थापित गर्न जुन भक्‍तिसित सहमत हुँदछ,
2 अनन्‍त जीवनको निश्‍चयतामा, झुटरहित परमेश्‍वरले समयका सबै युग भन्‍दा पहिले प्रतिज्ञा गर्नुभयो ।
3 ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्‍देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
4 हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति ।
5 अझै पुरा नभएका कुराहरूलाई तिमीले व्यवस्थित गर र मैले तिमीलाई निर्देशन गरेबमोजिम हरेक सहरमा एल्डरहरू नियुक्‍त गर भन्‍ने उद्देश्यले मैले तिमीलाई क्रेटमा छोडेँ ।
6 एल्डर दोषरहित, एकै पत्‍नीका पति, दुष्‍ट वा अनुशासनहीनहरूको सूचीमा नपर्ने विश्‍वासयोग्य छोराछोरीहरू भएको हुनुपर्छ ।
7 परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ ।
8 तर तिनी अतिथि सत्कार गर्ने, जे असल छ सोको मित्र, संवेदनशील, धर्मी, भक्‍त र आत्म-संयमी हुनुपर्छ ।
9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्‍तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्‍यस सिद्धान्‍तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।
10 किनकि त्‍यहाँ धेरै अनुसाशनहीन मानिसहरू छन्, विशेष गरी ती खतना गरेकाहरू । तिनीहरूका वचनहरू मूल्यहीन छन् । तिनीहरूले मानिसहरूलाई छल गर्दछन् र गलत मार्गमा डोर्‍याउँछन् ।
11 तिनीहरूलाई रोक्‍न आवश्यक छ । तिनीहरूले निर्लज्‍ज लाभका निम्ति सिकाउनु नहुने कुरा सिकाउँछन् र सम्पूर्ण परिवारलाई बर्वाद पारि दिन्‍छन् ।
12 तिनीहरूमध्‍येका बुद्धिमान मानिसले भनेका छन्, “क्रेटका मानिसहरू नरोकिकन झुटो बोल्नेहरू, खराब र खतरनाक जनावर अर्थात् अल्छी पेट भएकाहरू हुन् ।”
13 यो भनाई सत्‍य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून् ।
14 यहूदीहरूका दन्‍त्‍य कथामा र सत्‍यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
15 शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्‍छन्, तर प्रदूषित र विश्‍वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्‍छन् ।
16 तिनीहरूले परमेश्‍वरलाई चिनेको छु त भन्‍छन्, तर तिनीहरूका कामले उहाँलाई इन्कार गर्दछ । तिनीहरू घृणित र अनाज्ञाकारी हुन्‍छन् अनि कुनै पनि असल कामका लागि योग्यका ठहरिदैनन् ।